जेठ १४ मा संविधान आउनेमा शंका – मुख्य समाचार

सहमति उल्टाउँदै दलहरु
काठमाडौं, ९ जेठ/सहमतिको मसी सुक्न नपाउँदै प्रमुख दलहरुले फेरि विवाद उल्ट्याएका छन् । एकाएक सहमतिबाट पछि हटेका दलहरुको अविश्वासले जेठ १४ भित्रै संविधान जारी हुनेमा आशंका उत्पन्न भएको छ ।
संविधानका दुई महत्वपूर्ण विवादित विषय शासकीय स्वरुप र राज्य पुनर्संरचनामा सहमति भएको एक साता नपुग्दै प्रमुख दलहरु पुनः प्रकृयातर्फ सोझिएका छन् । बहु पहिचानसहितका ११ प्रदेश बनाउने सहमतिमा माओवादी र मधेसी मोर्चा अडिन सकेनन् भने कांग्रेस–एमाले मंगलबारको सहमतिबाट दायाँ– बायाँ नगर्ने अडानमा रहेपछि सोमबारको शीर्ष बैठक विवादमै सकियो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकबाट बाहिरिएका नेताहरुले सहमतिभन्दा विमतिका स्वर चर्को पारे । माओवादी–मोर्चाले कांग्रेस–एमाले संघीयताबिनाको संविधानको पक्षमा उभिएको आरोप लगाए भने कांग्रेस–एमालेले माओवादी सहमतिभन्दा पछाडि हटेको आरोप लगाए ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस–एमाले संघीयताबिनाको  संविधानको पक्षमा रहेको बताए । उनले भने, ‘कांग्रेस–एमालेले संघीयता चाहेनन् ।’ मोर्चाका नेता एवं सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले समय कम रहेकाले प्रकृयाबाटै विवाद टुंगो लगाइने बताए ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नाम र सीमा पछि तय गर्ने गरीको ११ प्रदेशको प्रस्ताव पार्टीभित्र र जनजातिलाई मनाउन नसकिएको बताएका थिए । दाहालले माओवादी र मोर्चा एकल जातीय पहिचानका आधारमा १० प्रदेशको पक्षमा उभिएको बताएपछि कांग्रेस–एमालेले विरोध गरे । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, ‘माओवादी यसअघि भएको सहमतिबाट पछि हट्यो, स्थिति जटिल भयो ।’
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले माओवादी संविधान नबनाउने खेलमा लागेको आरोप लगाए । ‘सडक कब्जा आन्दोलन गर्न उक्साएर जनविद्रोह नीति लिएको हो कि भन्ने गम्भीर आशंका छ,’ उनले भने, ‘अरु पार्टीका मान्छे चोरेर (अन्य दलका सभासद्लाई उक्साएर) के गर्न खोजेको हो ? दुई तिहाई पु¥याएर संविधान जारी गर्न खोजेको त होइन भन्ने हाम्रो ठहर छ ।’
माओवादी सहमति पालनामा गम्भीर नभएको भन्दै आइतबारको बैठक एमालेले बहिष्कार गरेको थियो । यसैबीच बैठकमा बोलाइए पनि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव गएनन् । बृहत् मधेसी मोर्चा गठन गरी स्वायत्त मधेस प्रदेशको माग चर्काएका यादवलाई प्रमुख विपक्षी दलका नेताको हैसियतमा छलफलमा बोलाइएको थियो ।

राष्ट्रपति सक्रिय
संविधान जारी गर्ने दिन ७ दिन मात्र बाँकी रहँदा राष्ट्रपति रामवरण यादवले सक्रियता बढाएका छन् । उनले सोमबार प्रमुख दलका शीर्ष नेताहरुसँग गम्भीर छलफल गरेका छन् । राष्ट्रपति यादवले कुनै पनि हालतमा निर्धारित मितिमा संविधान जारी गर्न नेताहरुलाई आग्रह गरेका छन् । यादवले संविधान निर्माणका विषयमा भएको सहमति बारे चासो राख्दै दिन कम भएका तर्फ नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला,एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाबाट विजय गच्छदार शितल निवास पुगेका थिए । राष्ट्रपतिले विवादित विषयमा तत्काल सहमति गरेर संविधान घोषणाको वातावरण बनाउन आग्रह गरेको भेटमा सहभागी नेताहरुले बताए । चाँडै सहमति गरेर संविधान घोषणा गर्न राष्ट्रपतिको आग्रह रहेको एमाले अध्यक्ष खनालले बताए । ‘समय छैन मिलेर आजै राम्रो रिजल्ट सुनाउनुहोस’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै कांग्रेस सभापति कोइरालाले बताए ।
भेटमा मधेशी, आदिवासी जनजाति, मुस्लिम लगायतले उठाइरहेका मागहरुका विषयमा पनि छलफल भएको थियो । नेताहरुले सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताएका थिए । तीन दलका नेतहरुको भेट लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराई शितल निवास पुगेका थिए । राष्ट्रपतिसँग भेटेपछि प्रमुख चार शक्तिको बैठक बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बसेको थियो ।

0 प्रतिकृया:

Post a Comment