उन्नत जातको मकैको बिउ

खोटाङ, ९ जेठ / खोटाङको दुईवटा गाविसमा उन्नत जातका मकैको बिउ उत्पादन हुने भएको छ । जिल्लाको हलेसी र दुछिर्म गाविसका  दुई सय रोपनी जमिनमा देउती र मनो–३ जातको मकैको बीउ उत्पादन गर्न लागिएको हो ।
किसानका लागि आवश्यक पर्ने उन्नत जातको मकैको बीउ जिल्लामै उत्पादन गर्ने उद्देश्यले हलेसी र दुछिर्मका ५० जना किसानलाई उन्नत जातको मकैको बीउ उत्पादन गर्न लगाएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।
दुछिर्म–१ तथा हलेसी–२ र ३ का किसानलाई देउती र मनो–३ जातको ३ सय किलोग्राम मकैको बीउ छर्न दिईएको कृषि सेवा केन्द्र हलेसीका प्राबिधिक सहायक शिवानन्द मिश्रले जानकारी दिए । उत्पादन भएको मकैको बीउको मूल्य निर्धारण गरिने र जिल्लाभरी बिस्तार गरिने मिश्रले बताए ।
दुई गाविसबाट ६ मेट्रिक टनभन्दा बढी उन्नत बिउ उत्पादन हुने र यसले जिल्लाका किसानको माग धान्न सक्ने मिश्रको दाबी छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित हलेसीमा जिल्लामै पहिलोपल्ट मकैको बीउ उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको कृषि बिकास कार्यालय खोटाङले जनाएको छ ।
कृषि विकास कार्यालयले मकै बिज बृद्धि कार्यक्रम (सिमिट) अन्तर्गत हलेसीमा देउती र मनो–३ जातको मकैको बीउ उत्पादन केन्द्र स्थापनाको पहल गरेको छ । सुख्खाग्रस्त मानिएका हलेसी क्षेत्रका १० वटा गाबिसलाई मकैको बीउ उत्पादन केन्द्रका रुपमा विकास गरी किसानलाई बीउ बिक्री गरेर नै आत्मनिर्भर बनाइने प्राबिधिक सहायक मिश्रको भनाई छ ।
उत्पादन भएको मकैको बीउ भण्डारण घर निर्माणका लागि चार लाख बजेट आएको र मकै बिज बृद्धि कृषक समूह हलेसी–२ र ३ ले भण्डारण घर निर्माणका लागि निःशुल्क जग्गाको व्यवस्था गरिसकेको छ ।

0 प्रतिकृया:

Post a Comment