फेरि पुरानै आत्मवञ्चना - दोस्रो लेख

स्वामी आनन्द अरुण 
प्रश्नः ओशोले यौन (सेक्स) लाई किन यति महत्व दिनु हुन्छ ? के उनी सेक्स गुरु हुन् ?
ओशोले महत्व दिनुपर्ने जरूरी छैन, जीवन स्वयंले सेक्सलाई महत्व दिएको छ । किनकी जीवनको प्रारम्भ नै सेक्सबाट हुन्छ । एक स्वस्थ व्यक्तिलाई भोजनपछि दोस्रो प्रवल आवश्यकता सेक्स नै हुन्छ । यो जीवनको एक ठूलो उत्प्रेरणा (मोटिभेशन) हो । सेक्सलाई बुझन र सम्हाल्न नसक्ने हो भने यो जीवनको सबैभन्दा ठूलो बन्धन, पीडा र विक्षिप्तताको कारण पनि बन्दछ । सम्यक रूपले यसलाई बुझ्न र स्वीकार्न सकियो भने यो जीवनको एक ठूलो आनन्द र उन्मुक्ति पनि हो । समस्त जीवनको प्रादुर्भाव र नियन्त्रण नै सेक्सको अधीनमा छ । यो जीवनको ठोस यथार्थ हो ।

हामी सबै यसबाट आन्दोलित र प्रभावित छौं । तर यसलाई स्वीकार्न र खुल्ला चर्चा गर्न डराउँछौ । यसबाट हामी मुक्त छौं भन्ने स्वाङ् रच्न तयार छौं, हाम्रै ढोंगी प्रवृत्तिका कारण बरु हामी यसको विक्षिप्तता झेल्न पनि तयार छौं, तर इमान्दारीपूर्वक यसको स्वतन्त्र चिन्तन र चर्चा गर्ने व्यक्तिमाथि खोइरो खनेर उत्रिन हामीलाई कुनै लाज छैन । यस्तै निर्लज्ज, पाखण्डको कुण्ठाले ग्रस्त मनुष्यतालाई त्यसबाट मुक्त गर्न आध्यात्मिक जगतमा पहिलो दुस्साहस ओशोले गरेका हुन् ।

ओशोले मनुष्य जीवनका सबै महत्वपूर्ण आयामहरू आफ्ना प्रवचनमा छोएका छन् । ती प्रवचनका ७०० पुस्तकहरु जो दुनियाँका महत्वपूर्ण ३७ भाषामा अनूदित छन्, त्यसमध्ये एक पुस्तक हो - 'सम्भोग से समाधि की ओर (फ्रम सेक्स टु सुपरकन्शसनेस) ।' प्रायः ओशोको आलोचना गर्नेहरूले यही एक पुस्तकको मात्रै चर्चा गर्छन्, बाँकी ६९९ मानव विकासका समस्याको समाधान खोजिएका बहुमूल्य पुस्तकहरू जस्तैः गीता, उपनिषद्, धम्मपद्, ताओ, झेन, सुफी तथा मनुष्यको स्वर्णीम भविष्य जस्ता पुस्तकको कुनै चर्चा सुनिदैन ।

यस्तो लाग्छ कि मनुष्य आफ्नो विकासमा त्यति उत्सुक छैन, उसको उत्सुकता मात्र उ भित्र दमित कामप्रति छ । यसमा दोष कसको ? ओशोको या कामप्रति हाम्रो अबुझ र अतृप्त कुण्ठाको । त्यस पुस्तकको पुरा नाम हो - सम्भोगदेखि समाधिसम्म । तर त्यसको गन्तव्य समाधि कसैले सुन्दै-सुन्दैन । सबैको एउटै रुचि छ एउटै रटन छ ? सम्भोग । यसरी आलोचना गर्नेहरूले पनि त्यो पुस्तक राम्रोसँग नपढीकनै वा पढ्दै नपढीकनै मात्रै सम्भोग भन्ने एक शब्दले सुरु मै चिढिएर आफ्नो पूर्वाग्रही धारणा ओकलेको पाइन्छ । वास्तवमा यो पुस्तक काम उर्जालाई प्रेम, करुणा, प्रार्थना र अन्त्यमा समाधिमा रूपान्तरण गर्ने तन्त्रको गुह्य विज्ञान समेटिएको महत्वपूर्ण पुस्तक हो ।

ओशोले जति ध्यान, समाधि र निर्वाणको चर्चा र व्याख्या गरेका छन् त्यति अरु कुनै विषयको चर्चा गरेका छैनन् । ध्यानका तीन सयभन्दा बढी नयाँ र वैज्ञानिक विधिहरू खोजेर र संसारका सबै धर्म ग्रन्थहरूको वैज्ञानिक विश्लेषण गरेर ओशोले मनुष्यतालाई ठूलो गुण लगाएका छन् । तर आश्चर्यको कुरा के भने यी सबै तथ्यप्रति सामान्य जन र संचारजगत्को कुनै उत्सुकता देखिंदैन । उनको पूरा परिचय एक पुस्तकको आधी शीर्षकसँग मात्रै जोडेर हेरिन्छ ।

विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्रहरूले प्रायः आफूले बोकेर ल्याएकै पूर्वाग्रह र अहंकारलाई झन् चाम्रो बनाइदिन्छ । मनको पुर्वाग्रहप्रति सचेत भई कुनै नवीन कुरालाई सम्यक् रूपले बुझ्ने र तर्कको कसौटीमा मूल्यांकन गर्ने क्षमता नै वास्तविक शिक्षा हो । धर्म र साधनाको आयामलाई बुझन ध्यान र आत्मअनुशासन आवश्यक हुन्छ, त्यसमा पनि ओशो जस्तो रहस्यदर्शी र बहुआयामिक व्यक्तित्वबाट भएको आध्यात्मको समसामयिक व्याख्या बुझने अपेक्षा म बहुसंख्यक मनुष्यबाट राख्दिन । तर उनका सामाजिक, आर्थिक, शैक्षिक र मनोवैज्ञानिक विश्लेष्णहरू मात्रै कसैले खुल्ला मनले पढ्यो भने उनको प्रज्ञा र मौलिक प्रतिभाको विलक्षण गहिराइबाट ऊ पक्कै पनि विस्मित र अनुगृहित हुनेछ । 

हाम्रा नैसर्गिक वृत्तिहरू प्रकृति प्रदत्त हुन् । तर यस्ता वृत्तिहरूलाई कुण्ठित गर्ने र स्वस्थ रूपले व्यक्त गर्ने कुरामा व्यवधान भयो भने मानिस दुःखी, क्रोधी र विक्षिप्त हुन्छ । युद्धमा लड्ने सिपाहीको यौनलाई दमित गरेर क्रोधमा परिवर्तित गर्नुपर्छ नत्र आफ्नो परिवार र वालबच्चासँग सुखी बसिरहेको मानिसले अर्काको परिवार उजाड्न सक्दैन । त्यसकारण युद्ध पिपासुहरूले सैनिकलाई घरमा बस्न दिंदैनन्, ब्यारेकमा राख्छन्, जहाँ उसको नैसर्गिक कामवासना कुण्ठित गरी हत्या र हिंसा गर्न बाध्य पारिन्छ । तथाकथित धार्मिक नेताहरूले के देखे भने दुःखी व्यक्तिहरूलाई मन्दिर मठमा धाउने बनाउन सकिन्छ, जो आफैमा तृप्त छ उसको त घरै मन्दिर हो । त्यसकारण प्रत्यक्ष या परोक्षरुपले सबै संगठित धर्म काम विरोधी भए । मनोवैज्ञानिक रूपले हेर्ने हो भने काम दमित र दुखी व्यक्तिहरूलाई मात्र धर्मयुद्ध, जेहाद र क्रान्तिको नाममा निर्दोष व्यक्तिहरूको हत्या तथा हिंसा र शारीरिक प्रताडनाका लागि तयार गराउन सकिन्छ ।

मानिस स्वभावैले परिवर्तन हुन चाहँदैन र आफ्नो पीडा र कुण्ठाबाट दुखी भए पनि त्यसमा अभ्यस्त भइसकेको हुनाले उसको अचेतन परिवर्तनको भयका कारण त्यसबाट स्वतन्त्र हुन चाहँदैन । त्यसकारण जति पैगम्बर र बुद्धपुरुष आए पनि समसामयिक मानिस उनीहरूबाट बच्न उनीमाथि कुनै विशेषण थोपरी उनीलाई बुझेजस्तो गर्छ । बुद्धजस्ता इश्वरीय व्यक्तिलाई वेद विरोधी, नास्तिक र इश्वर विरोधी भनियो । त्यस्तै शरमद र मन्सुर जस्ता सच्चा मुसलमानलाई काफिर र इश्लाम विराधी भनी मारियो । जीसस र सुकरातलाई युवाहरूलाई भड्काएको आरोप लगाई निर्ममतापूर्वक मारियो । यही पुरानै परम्परालाई कामय राख्दै ओशोजस्तो कामकुण्ठाबाट मुक्त गर्न भगीरथ प्रयासमा लागेका व्यक्तिमाथि सेक्स गुरुको लेवल लगाई मनुष्य आफ्नै आत्मप्रवञ्चनालाई दोहर्‍याइरहेको छ ।

0 प्रतिकृया:

Post a Comment