नयाँ संविधान निर्माणका लागि जनखबरदारीको खाँचो – पहिलो लेख

ओमप्रकाश गौतम
अन्ततः जनताको वाकस्वतन्त्रता, मानव अधिकार, सुशासन, पूर्ण गणतन्त्र प्राप्तिको संघीय आन्दोलन सदन र सडकमा आएर उलट–पुलट भइरहेकै बेला गत मंगलबार संघीय संरचना लगायत नयाँ संविधानका मूलभूत विषयका खाका सेलाउन नपाउँदै माओवादी, एमाले, मधेशवादी पार्टी र साना दलका ३२० जना सभासदले तीन दलबीच ११ प्रदेश बनाउने सहमति खारेज गर्न माग गर्दै सविधानको विवाद समाधान उपसमिति संयोजक पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । तत्पश्चात, अहिले पनि यही प्रदेशलाई रुपान्तरण गरेर १४ प्रदेश बनाउने या ११ प्रदेशमा नै सहमति जुटाउने पटक–पटक सहमति जुटाएपनि अधिकारको मागलाई लिएर चलिरहेको आन्दोलन अझै पनि रोकिएको छैन । आज विभिन्न बन्द, हड्ताल र प्रदर्शनका प्रहसनहरू सडकमा शृङ्खलाबद्ध रुपमा चलिरहेका छन् । आधा आकाश हेरेर दैनिक दैनिक जीवनयापन चलाउने मजदुरहरूको परिश्रम बेखबर भएको छ । घरमा आज खाएर भालि के खाने भन्ने किसानहरू छिँड परिसकेका कुञ्जहरूमा थाप्लोमा हात राखेर बस्न बाध्य भएका छन् । ती हिजो गरेका नेताहरूको झुट्टा आश्वासनका खेतीहरू असरल्ल रुपमा मुक्तिका स्वरहरू सदन देखि सडकमा आएर छरपष्ट रुपमा छरिएका छन् । विगतमा हामै्र देशका नागरिक दाजु–भाइबीचको आपसी रगतको नाता र भातृत्वको सम्बन्ध हिंसात्मक रुपमा बदलिएको छ । के यसको प्रमुख दोष तपाई हामी दाइ–भाइको हो कि ! हाम्रा मष्तिष्कमा धोकेबाजको पगरी गुथ्ने सभासदहरूको हो ? प्रश्नको यक्ष जवाफ अब हामीले अल्पज्ञान भएका सभासद्हरूलाई सोध्नै पर्दछ कि आत्मनिर्णयको अधिकार, संघीयता र संघीय संरचनाको स्वरुपको मोडल भनेको के हो ? एक पटक प्रश्न गर्नैैपर्ने बेला आएको छ, अहिले । किनकि हामी जनतालाई संघीयता निर्माणको बारेमा राजनीतिक बहस, छलफल, परामर्श, विचारको प्रशिक्षण यो ४ वर्षको समयावधिमा प्रत्येक जनताको घर–घरमा गएर प्रशिक्षित नेताहरूले गरिदिएका भए यो विकराल अवस्था आउने नै थिएन ।
तर जे होस् ढिलै भए पनि नेताको बाहिरी र भित्री आँखामा अहिले भने अर्जुनदृष्टि पलाएको छ । आज आगामी बन्ने नयाँ संविधानमा राज्यको अगुवाइ गरिरहेका राजनीतिक दलहरूले त्यसलाई सुन्ने,छलफल र व्यवस्थापन गर्ने तत्परता आगामीदिनमा स्पष्ट रुपमा देखाउन सक्नुपर्दछ अब । अहिले मधेशवादी दलहरूले कोसी पारिका जिल्लालाई मध्यतराईसँग नजोडेर छुट्टै प्रदेश बनाउन लागिएको भन्दै सडक र सदनमा अवरोध पु¥याइरहेका छन् । के यही दंगा फसादले गर्दा तराई क्षेत्रमा संविधान समय सीमा भित्रमा बन्न देलान् मधेशवादी दलहरूले नयाँ संविधान ? हेरौँ आगामी दिनमा जनताको रगतको बलिदानले ल्याएको गणतन्त्र तुहिएला या नतुहिएला त्यो भने हेर्न बाँकी नै छ ।
हाम्रा शीर्षस्थ नेताहरूले बुझ्नै पर्ने गाँठी कुरा यो छ कि–आगामी नयाँ संविधान बनाएर जेठ १४ पश्चात संविधान सभा विघटन भए पनि त्यही राजनीतिक संसद्को रुपमा रहने हो या होइन । त्यसको निकास र समाधानको दिशातर्पm दलहरू जागरुक रहेर १४ गतेको मध्यरातमा के कस्तो निर्णय गर्लान् भनेर जनता वुद्धका दुई आँखा उघारेर हेर्ने समय अब धेरै दिन छैन ।
अनि संघीयतासँग जोडिएका सीमाङ्कन लगायतका विवाद सुल्झाउने राजनीतिक–प्राविधिक विशेषज्ञ सहित केन्द्रीय संघीय आयोग पनि अस्तित्वमा आउने हो या होइन जनता अकमक्क हुनु नपरोस् । यसतर्पm सम्पूर्ण सरोकारवालाहरूले विद्रोह र क्रान्ति पछिको प्रतिक्रान्तिको ज्वारभाटा जनताहरूलाई सल्काउने होइन । सबै दलका नौलो विचार र नयाँ सोच अनि स्पष्ट कार्यदिशाका खाका तयार पारेर अघि बढ्नु युगको अपेक्षा पनि हो ।
आज हाम्रो मुलुकमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरूले नेपाली–नेपालीबीचको जातीय सद्भावको दौत्य सम्बन्धलाई भड्काउन शान्तिपूर्ण आन्दोलनलाई घुस पैठ गरेर मानवीय मान्यतालाई हामीबीच नै भड्काइरहेका हुनाले ती कुतत्वहरूलाई निर्मुल बनाउन सक्नुपर्दछ । हाम्रो अस्थिरपञ्जरले जाती तथा जनजातीको मर्म र भावना अनि अधिकारलाई सुनिश्चितता प्रदान गर्न चाहेको छ । हत्या, हिंसा, लुटपाट, वैमनस्यता भने चाहेकै छैन ।
संघीयता, नेपाली चेतना, नेपालको राजनीतिक, आर्थिक, सामाजिक बनोटसँग संघीयता रुपान्तरण हुनु जरुरी छ । यद्यपि, संघीयताका विषयहरूमा विवादित भएका राजनीतिक मुद्दाहरूलाई संघीय आयोगमा सम्बन्धित विषयका विज्ञ, विवादमा नपरेका वौद्धिक व्यक्तित्वहरूलाई तुरुन्त नियुक्त गरेर कार्यदल गठन गरिसकेको छ या छैन । यतिका दिन सम्म हाम्रा जम्बो दलहरूले सिन्को भाँच्ने काम गरेका छन् कि छैनन् । जेठ १५ गते हामी सम्पूर्ण नेपालीलाई ज्ञात हुनेछ ।
हिजो प्रमुख तीन दलले गरेको सहमति, अझ खासगरी संघीयता सम्बन्धी व्यवस्थाप्रति समाजका कतिपय पक्ष यतिका दिनसम्म पनि सहमतिमा आएका छैनन् । सामाजिक सद्भाव बिथोल्ने र अस्थिरता बढाउने नियत राखेर आज दिनानुदिन मधेशवादी दलहरूका कार्यकर्ताहरू सरकारका मन्त्रीपदमा आसिन भएका नेताहरूलाई नै प्रत्याक्रमण गर्न उद्यत छन् ।
यदि नेताहरू तथा मन्त्रीहरूले जनताको मागप्रति सकारात्मक सोच, विचार राखेर विभिन्न राजनैतिक मुद्दाहरूप्रति अति नै संवेदनशील भएर त्यो जम्बो सभासद् भवनमा झै–झगडा नगरिदिएको भए यसरी आफ्नै नेताहरूप्रति आक्रोश व्यक्त गरेर तोडफोडमा उत्रने भने थिएनन् होला । अब विगतमा जे भयो त्यो विषयलाई आगामी दिनमा फेरि पनि दोहो¥याउनु कसैले पनि हुँदैन ।
शान्तिका अग्रदुत गौतमवुद्धको जन्मस्थलको रुपमा विश्वभरी नै चिनिएको देश नेपाल, सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक छटाले भरिपूर्ण देश, हिमाल, पहाड र तराईको अनुपम मिश्रण भएको देश, स्वाधिनता, सार्वभौमसत्ता सम्पन्न, वीर गोर्खालीको महान् पदवी पाएको देश नेपाल खण्ड–खण्ड बनाएर विभाजित गर्ने छद्मभेषी अनुहारहरूलाई निगरानीमा राखी आगामी जेठ १४ गतेको मध्यरातमा एउटा अपाङ्गो र अधकल्चो संघीयता बिनाको संविधान जारी गर्ने तयारीमा कतै हाम्रो नेताहरू पो फस्लान् कि ! जनखबरदारी निरन्तर रुपमा जारी राख्दै अबकोे ६ दिनको समयमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र देखि सिंहदरबार अनि बालुवाटार सम्मका चक्रपथहरू सबै जात–जाति र भाषा–भाषी बोल्ने दाइ, भाइ तथा दिदीबहिनी एक आपसमा फुटेर होइन जुटेर हाम्रा नेतालाई एक इञ्च पनि कतै बसाई सर्न नदिऔँ । जय लोकतान्त्रिक गणतन्त्रात्मक संघीय संविधान !!!

0 प्रतिकृया:

Post a Comment