पिपुल्स टाइम्स समाचार
ईटहरी/ विश्वमै दुर्लभ जंगली भैसी अर्नाको संरक्षण क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष घरपालुवा जनावरहरुको चरीचरण क्षेत्र बनेपछि अर्नाहरु संकटमा परेका छन् । अर्ना संरक्षणको लागि वि.स. २०३२ सालमा स्थापना भएको आरक्षको सुरक्षा तथा संरक्षणमा स्थानीयबासी र सरकारी निकायले वेवास्ता गर्दा घरपालुवा जनावरहरु आरक्ष क्षेत्रमा खुला रुपमा प्रवेश गराइने गरेकाले अर्ना संकटमा पर्दै गएको हो ।
सुनसरी, सप्तरी र उदयपुर जिल्लाको कुल १ सय ७५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको आरक्षमा पछिल्लो गणना अनुसार अर्नाको संख्या २ सय १९ रहेका छन् । नेपालमा वि.स. २०२० साल अगाडीसम्म चितवनमा पनि पाइने अर्ना वासस्थान विनाश र अर्नासँगै मिसिएर चर्ने घरपालुवा भैसीबाट खोरेत रोग सरेर मरेपछि सो स्थानमा अर्ना लोप भइसकेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा समेत घरपालुवा भैसीसँग क्रस गराउने उद्देश्यले आरक्षमा भैसीहरु पसाइने गरेको कारण अर्नाको जीन कमजोर बन्दै गएको बताइन्छ ।
चितवनबाट अर्नाको वशं विनाश भएपछि कोशी किनार क्षेत्रमा रहेका अर्नाहरुको संरक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षको स्थापना गरिएको भएपनि घरपालुवा जनावरका कारण कोशी टप्पुका अर्नाहरु समेत संकटमा पर्दै गइरहेका छन् । तर आरक्ष प्रशासनले घरपालुवा जनावरहरु आरक्षबाट हटाउन समय समयमा विभिन्न योजनाहरु अघि सार्दै आएपनि घरपालुवा जनावरहरु बाहिर निकाल्न अहिलेसम्म सकेको छैन ।
आरक्ष प्रशासनले आरक्षबाट घरपालुवा जनावरहरु हटाउन कहिले नुन अभियान त कहिले घरपालुवा जनावर मार्नेदेखि लिएर सुइप अप्रेशनसम्मका अभियान नै संचालन गर्दै आएपनि आरक्ष क्षेत्रमा गोठ राखेर घरपालुवा जनावरहरु खास गरी भैसी राखिने क्रम रोकिएको छैन । विशेष गरी अर्नासँग क्रस गराएर पाडापाडी निकाल्ने र तिनीहरुको बिक्री गर्ने उद्देश्यले आरक्ष क्षेत्रमा भैसी गोठहरु राख्ने गरिएको छ ।।
0 प्रतिकृया:
Post a Comment