नेपाल आमा इमान्दार सपुत जन्माइदेऊ – दोस्रो लेख

राम प्रधान
नेपाल दुई आटा ठूला देशकोबीचमा चेपिएको एउटा भूपरिवेष्ठित मुलुक हो । पूर्व, दक्षिण र पश्चिमतिर भारत छ भने उत्तरतिर विशाल चीन छ । ती देशहरुको औकात र हैसितय एसियाको शक्तिशाली देशमा पर्दछ । नेपाल विश्वमान चित्रमा छुट्टै पहिचना बोकेको देश भए तापनि नेपालले आर्थिक हैसियत समृद्धिको बाटोमा उल्लेखनीय गति चाल्न सकेको छैन । नेपालको आर्थिक उन्नति र प्रगति भन्दा पनि राजनीतिक परिपार्टीको परिक्षण प्रयोग अरुको इसारामा चल्ने र वैदेशिक मालिकहरुलाई रिझाउँदैमा नेपालको नेताहरुको दिनचर्या बित्छ । नेपालमा राजनीतिक पण्डितहरु विदेशी प्रभूहरुलाई खुशी बनाएर मात्र सत्ता लम्ब्याउन सकिन्छ भन्ने मनोवृत्तिबाट ग्रसित छन् । नेपालको राजनीतिक परिवर्तनको बहानामा अनैतिक र अयोग्य राष्ट्रघाति व्यक्तिहरुलाई सत्तामा पु¥याउने र राष्ट्रिय अस्मिता लुट्ने भन्दा राम्रो कामहरु देशले प्राप्त गर्न सकेको छैन । वि.सं. १९९७ सालदेखि इतिहास पढ्दा र सुन्दा प्रत्येक जसो दशकहरुमा केही न केही रुपका राजनीतिक उथलपुथल  र सत्ता परिवर्तनका खेलहरु खेलिएका छन् । हरेक दशकका राजनीतिक खेलहरु छद्मभेषी ब्वाँसाहरु नयाँ रुपले गरीब जनताहरुको पक्षमा नारा लगाउनेहरुलाई गरीब दुःखी र सर्वहारा वर्गीय चरित्र बोकेका धुरन्धर क्रान्तिकारीहरुलाई जनताहरुको नेताको रुपमा स्थापित गरिएका छन् ।
तर नेपालको राजनीति इतिहासको पृष्ठभूमिहरुमा कही कतै कोही नेताले पनि इमान्दार भएर देश र जनताको लागि त्याग गरेको भेटिएन, देखिएन । जुनसुकै परिवर्तन पछि उदाएको नेताहरु अन्तत राष्ट्रघाट, जनघात र विश्वासघातमा टुङ्गिएको पाइन्छ । हरेक परिवर्तनसँगै जनताहरुको अपेक्षाहरु हुन्छ नै जनअपेक्षा, इच्छा, आवश्यकताहरु परिपूर्ति नभएको कारणले परिवर्तहरु आवश्यक ठानिन्छ । अपेक्षा के हुन्छ भने हरेकको आवश्यकता सहज र सरल होस् भन्ने आशा राखिएको हुन्छ । तथापि हरेक आवश्यकताको पूर्तिहरु असहज, जटिल, कठिन बनाउँदै लगिन्छ । आज देशभरी नै ग्यासको आपूर्तिलाई हेर्ने हो भने वर्तमन सरकारले जनताहरुलाई सास्ती दिने काममा डिस्टिङ्ग्सन नै प्राप्त गरेको छ । नेपाली जनताहरु जहिले पनि अनैतिक नेताहरुको केवल सत्ता चढ्ने सिडीमात्र बनेका छन् । ग्यास, पेट्रोलियम पदार्थहरुको आकाश छुने गरी मूल्य वृद्धि गरे पछि त वस्तु सहज ढङ्गले प्राप्त गर्न सकिनु पथ्र्यो । विगतका राजनीतिक प्रणाली र त्यसको प्रतिनिधित्व गर्ने राजनेताहरुको कुकर्म, कसंस्कार, कुधर्मको कारणले यो अवस्था आएको हो । नयाँ नेपाल, सुन्दर नेपाल, सक्षम नेपाल, समृद्ध नेपाल र विकसित नेपाल बन्छ भन्ने आशा, अपेक्षा र विश्वासहरु हावाजस्तै उडेर गयो । जुन नेताहरुले नेपाल निर्माणको लागि अथक त्याग गर्लान भन्ने विश्वास गरिएको व्यक्ति नै क्रमशः सबभन्दा नालायक बन्दैछन् । सत्ता बाहिर बस्दा जनपक्षीय र क्रान्तिकारी बन्ने सत्तामा पुगेपछि भ्रष्ट, कमिसन खोर, अनैतिक बनेर राष्ट्र र जनताप्रतिको काम कर्तव्य र जिम्मेवारीहरुबाट पन्छिदै जनताहरु राष्ट्रलाई धोका दिने नेपाली राजनेताहरुको राजनीतिक संस्कार र परम्परा नै हो । वर्तमानले विगतलाई बिर्साउँछ । सत्तामा पुगेपछि प्रधानमन्त्रीले मात्र होइन । असाध्यै पिडीत एउटा व्यक्ति “पिए” को मात्र झोला बोक्न पाए भने मात्र पनि हिजोको पीडा बिर्सन्छ । वर्तमान र सरकारले ग्यास जस्तो अत्यावश्यक वस्तु समेत बढेको मूल्यमा पनि उपलब्ध गर्न, गराउन नसक्ने व्यक्तिहरुको अगुवाईमा अरु राम्रो काम के गर्न सक्छ ? नयाँ नेपाल बनाउने नारा घन्काउने नेताहरुको क्रियाकलाप र नैतिकताहरु यस्तै हुन्छ ?
२ वर्ष भित्र संविधान निर्माण गर्छौँ भनेर जनताहरु र राष्ट्रसँग कवोल गरेका नेताहरुले ४ वर्ष बितिसक्दा पनि संविधान बनेन । यदि संविधान बनाउनेछन् राजनीतिक पार्टी र तिनका नेताहरुले भन्ने विश्वास छैन । यदि संविधान बनाई हाले पनि जनअपेक्षा अनुसारको संविधान बनाउँदैन । यति मात्र होइन संविधान नबनीकन नै नेताहरुको क्रियाकलाप, कर्म, धर्म, संस्कार, संस्कृति र नैतिकताहरु देखि सकियो ती नेताहरुको नेतृत्वमा देश कति बन्छ भन्ने कार्यक्षमता र उनीहरुको इच्छाशक्ति कति रहेछ भन्ने सबै नेपाली जनताहरुलाई अवगत भइसकेको छ । संविधान नबनिकन नै नेपालका राजनेताहरुको मूल्य मान्यता, चरित्र, नैतिकता र विश्वास खरानी भइसकेको छ भने संविधान निर्माण पछिका दिनहरुमा पवित्र, इमान्दार छवि बनाएका नेता खोइ ? अहिले सम्मका प्राय सबै नेताहरुको कार्य क्षमता, छवि, चरित्र, नैतिकता व्यवहार र इच्छाशक्ति देखिसकियो, भोगि सकियो । नेपालको राजनीतिक पृष्ठभूमिमा भ्रष्ट र नैतिकहीनहरुको हालीमुहाली भएको कारणले देशले आशातीत प्राप्ति हासिल गर्न सकेन । देशले आशातीत प्रगतिहरु हासिल गर्न नसकेको कारणले बारम्बार परिवर्तनहरु आवश्यकता परिरहने छ । देशको आर्थिक, सामाजिक, भौतिक विकास हुन नसकेको हो । जबसम्म देशले एउटा इमान्दार व्यक्ति देशले प्राप्त गर्न सक्दैन । तबसम्म नेपाल र नेपालीहरुको दूर्गति यस्तै रहने छ । राज्य सत्तामा लुछाचुँडी चलिरहने छ । भ्रष्टहरुको संख्या, कमिसनखोरहरुको संख्या, आर्थिक अपराधीहरुको संख्या, चरित्रहीनहरुको संख्या, नैतिकवानहरुको संख्या बढीरहने छ । देशको आर्थिक उन्नति, प्रगति लगायत चौतर्फी विकासमा आशातीत रुपले वृद्धि हुन सक्दैन । यीनै चरित्र बोकेका नेताहरुबाट केवल परिवर्तनको नाममा नेपाली जनताहरुको रगत पसिना र राष्ट्रिय अस्मिता मात्र चुस्ने काम भइरहेको छ ।
सायद नेपाल आमाले एउटा इमान्दार सपुत जन्माएको थियो भने आज नेपाली आमाको सन्तानको रुपमा बजार बिक्रीको लागि राखिएको वस्तुहरु जस्तो आफै बिक्री हुने मेनपावरको दलालहरुलाई गुहार्नु पर्ने थिएन । उर्जाशील युवाशक्तिहरुको रगत र पसिना अरुको देशमा बगाएर दीर्घकालीन सम्म प्राप्त हुने उपलब्धीहरु गुमाउनुपर्ने थिएन । नेपालको युवाहरु र प्रविधिको जनशक्तिहरुले रगत पसिना र स्वदेशमा नै बगाउने वातावरण भएको भए त्यसको प्रतिफल हाम्रा सन्तानहरुले प्राप्त गर्न सक्दथे । नेपालको राजनीतिक संस्कारको परिपाटी गलत भएको कारणले इमान्दार, नैतिकवान, स्वच्छ छवी भएको जनताहरुको नेता–राजनेता बन्नु भन्दा पनि भ्रष्ट, अनैतिक, आर्थिक अपराध गर्न सकिन्छ । त्यति नै धेरै राजनीतिक क्षेत्रमा पनि अपराधीकरण गरेर राजनीतिक सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताहरु विकसित भएको छ । अहिले सम्मका व्यवहार, कर्म, चरित्र, नैतिकता र परिवर्तनहरुले प्रमाणित गरेको छ । नेपाल र नेपाली जनताहरुले इमान्दार राजनीतिज्ञ प्राप्त गर्न सकेको छैन । अझै नेपाली जनताहरुले रगत पसिना र धेरै सन्तानहरुले त्याग र बलिदान गर्न बाँकी छैन भन्ने कुरा आजको राजनीतिक व्यवहारले देखाएको छ । हो नेपाल आमा अब देश हाँक्ने एउटा इमान्दार सपुत जन्माइदेऊ । जसको नेतृत्वमा देश बनोस् । हाम्रा भावी सन्तानहरु हाम्रो जस्तो दूगर्ति र अभावहरु भोग्नु नपरोस् ।

0 प्रतिकृया:

Post a Comment