कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग

धनकुटा/ युवा संघ नेपाल धनकुटाले आफ्ना कार्यकर्ताको स्थिति सार्वजनिक गर्न माग गरेको छ । संघले फागुन १९ गते प्रेस विज्ञप्ति जारी गर्दै धनकुटा नगरपालिका वडा नं. १ हिलेका सन्तोष भनिने २४ वर्षीय मोहन तामाङलाई २ दिन अघि अपरिचित समूहले नियन्त्रणमा लिएको भन्दै स्थिति सार्वजनिक गर्न माग गरेको हो ।
संघ जिल्ला अध्यक्ष डिपलव राईद्वारा जारी विज्ञप्तिमा तामाङलाई मोटरसाईकल दुर्घटना भयो भन्दै ढोका खोल्न लगाएर विना कारण अपहरण शैलीमा लगेको उल्लेख गरिएको छ ।
सो समूहले लगे पश्चात राति केही समय तामाङलाई हिले प्रहरी चौकीमा राखिएको थाहा भएको स्थानीयबासी ओङदा तामाङले बताए । सो बिषयमा हिले प्रहरी चौकीले भने क्षेत्रबाट आएका अनुसन्धान विभागका प्रहरीले लगेको बताएको भएपनि के कारणले लगिएको हो भन्ने खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले भने तामाङ आफ्नो सम्पर्कमा नभएको बताउँदै यथार्थ बुझ्ने प्रयास भइरहेको बताएको छ ।

0 प्रतिकृया:

Post a Comment