रुट बाहिर जाँदा विमान दुर्घटना

ललितपुर/प्रचलित रुटको परिधिभन्दा बाहिर गई चालक दलले अवतरणको प्रयास गरेकाले ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छानबिन समितिले ठहर गरेको छ ।
शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरलाई प्रतिवेदन दिदै समितिका अध्यक्ष एवं सदस्यहरुले त्रुटिपूर्ण अवतरण विधिलाई नै दुर्घटनाको प्रमुख कारण मानेका छन् ।
‘विचक्राफ्ट विमान सामान्यता ६ हजार फिटको उचाईमा उपत्यकाभित्र छिर्नुपर्नेमा मात्रै ५५ सय फिट उचाईमा फरक ठाउँबाट भ्यालीमा छिरेको देखिन्छ’ छानविन समितिका संयोजक राजेशराज दलीले भने, ‘विमान जमिन पुगेको जनाउ दिने आर्लाम बज्दा समेत सुरक्षा सतर्कता अपनाएको भेटिएन ।’
गत असोज ८ गते माउन्टेन फ्लाईटबाट फर्केको बुद्ध एयरको विचक्रफ्ट दुर्घटना हुँदा चालक दलका तीन सदस्य सहित १९ जनाको मृत्यु भएको थियो । घटनापछि मन्त्रालयले छानबिनका लागि दलीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो ।
दुर्घटनाको चार सेकेण्डअघि यस्तो आर्लाम बजेको छानबिनले देखाएको छ । आर्लामको संकेत अनुसार तत्काल बिमानको उचाई बढाएको भए दुर्घटना टर्नसक्ने सम्भावना देखिएको समितिका सदस्य क्याप्टेन श्रवण रिजालले बताए । समितिले चालक दलका सदस्यहरुको थकान र ककपिटमा व्यक्तिगत जीवनसँग सम्बन्धित टिकाटिप्पणी र गैर व्यवसायिक कुराकानीलाई पनि दुर्घटनाको कारण मानेको छ ।
समितिले विमानहरुको नियमित सुरक्षा परिक्षण गर्न र बायुयान जमिन नजिक भएको जनाउ दिने विकसित प्रविधिलाई विमानहरु जडान गर्नपनि मन्त्रालयलाई सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री विष्टले समितिको सुझाव कार्यान्वयन गरिने बताए ।

0 प्रतिकृया:

Post a Comment