एसएलसी परीक्षा सुरु

२ परीक्षार्थी सुत्केरी
दमक, चैत ८/मंगलबारदेखि मुलुक भर सुरु २०६८ सालको प्रेविशिका (एसएलसी) परीक्षा झापामा शान्तिपूर्ण तवरले सुरु भएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
जिल्लाका ४८ केन्द्रहरुमा परीक्षाको पहिलो दिन सोमबार कुनै अप्रिय घटना नभएको जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव लक्ष्मी तिम्सिनाले जानकारी दिए । उप–सचिव तिम्सिनाले दिएको जानकारी अनुसार परीक्षाको पहिलो दिन जिल्ला भरका सबै परीक्षा केन्द्रहरुमा जिशिकाले अनुगमन गर्ने भनी तय गरिएको कार्यक्रम अनुसार सोमबार झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्रोत व्यक्तिहरु र विद्यालय निरीक्षकहरुको अगुवाईमा जिल्लाभरका सबै केन्द्रहरुमा निरीक्षण गरिएको छ ।
झापाका प्रजिअ नरेन्द्रराज शर्मा नेतृत्वको टोलीले परीक्षा सञ्चालन भइरहेको चन्द्रगढी र भद्रपुर केन्द्रको अनुगमन गरे । त्यस्तै झापाका स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौला नेतृत्वको टोलीले शनिश्चरे र बुधबारे केन्द्र, जिशिअ लक्ष्मी भट्टराई नेतृत्वको टोलीले गौरादह, गौरीगञ्ज,  जुरोपानी, कोहबरा र लखनपुर केन्द्रको अनुगमन गरेका हुन् भने दमक क्षेत्रका केन्द्रहरुमा भने जिशिकाका विद्यालय निरीक्षकहरुले अनुगमन गरेका बताइएको छ ।
त्यस्तै एसएलसी परीक्षाको पहिलो दिन मंगलबार रुकुममा दुई परीक्षार्थीले परीक्षा हलमै बच्चा जन्माएका छन् । रुकुमको तकसेरा परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षा दिइरहेकी रेखा घर्ती र रुकुमकै प्वाङस्थित नायगाड परीक्षा केन्द्रमा कविता बिकले परीक्षा हलमै छोरा जन्माएका हुन् । परीक्षा सुरु भएको एक घण्टामै रेखाले छोरा र विकले छोरी जन्माएका हुन् । परीक्षा हलमा जन्मिएको रेखाको छोराको नाम प्रवेश राखिएको छ भने सविताकी छोरीको नाम प्रवेशिका राखिएको छ । उनीहरु दुवैलाई परीक्षा पूरा गर्न एक घण्टा थप समय दिइएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment