सामुदायिक प्रहरी सेवा केन्द्र कानुन विधि र निसाफका लागि - सम्पादकीय

दमकमा सामुदायिक प्रहरी सेवा केन्द्रलाई पुनः साचालनमा ल्याउने विषयमा सोमबार देखि एउटा गतिशील कार्य थालनी भएको छ । तथापि यस अघिका दिनहरुमा पनि यस्तै गरी सुरुवात गरिएका कार्यहरु बीचैमा अलपत्र परेका यथार्थहरु हाम्रै अनुभूतिका सिङ्गो पाटाहरु हुन् भन्दा फरक नपर्ला । दमकमा कि्रयाशील रहेको केन्द्र २०५७ सालदेखि भने पूर्ण रुपमा निस्कृय बनेको थियो सोमबार त्यही निस्कृय संस्थालाई चलायमान गर्ने बाहेक उस्तो कायापलट भने केही गरिएन । मात्र यति कि निस्कृय रहेको केन्द्रलाई कसरी गति दिने भन्ने विषयमा छलफल गर्दै त्यसैलाई तदर्थ समितिका माध्यमबाट पुनस्राचालनमा ल्याउने कार्य सम्म भएको छ ।
नेपाली समाजमा अधिकांश उपलब्धि र प्रयोग पश्चिमा मुलुकहरुमा सुरु गरिएका प्रचलनहरुको जस र विशेषताका आधारमा पछ्याउने चलन रहँदै आएको छ । सामुदायिक प्रहरी सेवाको प्रयोग पनि स्वदेशी उत्पादन भने होइन । बेलायती पृष्ठभूमि रहेको सामुदायिक प्रहरी सेवाको निरन्तरताको इतिहासलाई आधार मान्दा यसको उद्देश्य भन्नु नागरिक र प्रहरीबीच त्रास र शंकाको वातावरण हटाउनु र समाजमा घट्न सक्ने जस्तासुकै अपराध नियन्त्रण निराकरण र अपराधीहरुलाई कानुनतः दण्डित गर्ने कार्यमा सहयोग र सहकार्य गरेर अघि बढेनु भन्ने हो । बेलायतको इतिहासमा १९६० को दशकमा नागरिक र प्रहरी बीच द्वन्द्वको स्थिति सुरुवात भयो र यसले सर्वत्र शंका त्रास र अविश्वासको वातावरण सृजना गर् यो । यस्ताबाट उत्पन्न समस्याहरुलाई निराकरण गर्न तथा सहज वातावरण निर्माण गर्न सामुदायिक प्रहरी सेवको थालनी भयो ।
अपराध समाज भित्रबाटै जन्मने एउटा स्वाभाविक रोग हो र त्यसको कानुनी उपचारका लागि राज्यले प्रहरी निकायको स्थापना गरेको सामान्य यथार्थ बारे थप उल्लेख गर्नु प्रचारका लागि मात्र हुनेछ । त्यसैले समाजमा हुर्कने अपराधलाई प्रचलित कानुन अनुसार नियन्त्रण न्यूनीकरण गर्नु तथा सम्भावित अपराधका घटना हुन नदिन प्रहरी सकृयताले सकारात्मक भूमिका खेल्नु पर्दछ । यति हुँदाहुँदै पनि यदाकदा विविध कारणहरुले प्रहरी सकि्रयता र गतिविधिले मात्र समाजका सबै खाले अपराध नियन्त्रण गर्न सम्भव नहुन सक्छ । अपराध भनेको फौजदारी र देवानी मुद्दाका आधारमा मात्र हुने कृयाकलाप होइनन् । मुलुकको कानुन नीति र नियमलाई तोड्ने जुनसुकै जस्तोसुकै र जोकसैले गर्ने कार्य अपराध हो भन्ने आधारभूत मान्यतालाई अङ्गिकार गर्दा हामी यही समाजका नागरिकहरु पनि त्यस्ता कार्यमा लागेका हुन सक्छौं । कसैले जानजान वा कतिले अाजानमा पनि कानुन विपरित काम गरे त्यो अपराध हो । कतिपय अवस्थामा भने गलत आरोप लगाएर समेत सोझा निहत्था निर्दोष र स्वच्छ मानसिकता बोकेका मानिसहरुलाई समेत फसाउने कार्यहरु भएका छन् । यो अझ डरलाग्दो अपराधको चंगुल हो । त्यस्तै राजनीतिक आर्थिक सामाजिक पहुँचका आधारमा कतिपय अपराध लुकाइन्छन् समाजमा यसले फेरि पनि समृद्ध र स्वच्छ समाज निर्माणमा अवरोध पुगिरहेको छ । तसर्थ यस्ता संवेदनशील विषयवस्तुहरुमा नागरिक र प्रहरीको प्रत्यक्ष सहकार्य भए मात्र अपराधमुक्त समाजको परिकल्पना अनुसार कार्य गर्न सजिलो हुन्छ । हामीले बुझेसम्म सामुदायिक प्रहरी सेवा केन्द्र स्थापनाको सार अर्थ यतैकता लुकेको छ । आमसर्वसाधारणका तहबाट पनि यही बुझाई प्रधान हुन आउँछ ।
दमकमा एक दशकसम्म कुना पसेको सामुदायिक प्रहरी सेवा केन्द्र पुनः दृश्य र आकारमा आएको छ । यसबाट जनताले धेरै अपेक्षा राखेका हुनसक्छन् जो स्वाधाविक हुनेछ । तर आशा गरौं जनताका त्यस्ता आशा र आकांक्षा मात्र पूरा होउन् जो कानुन र विधिसममत छन् । पहुँच र पैसा नभएका ठूला स्वर गरेर बोल्न नसकेका वा आवाज दबाइएकाहरुको आवाज भएर निसाफका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको अहम् भूमिका देख्न र सुन्न पाइयोस् हाम्रो शुभेक्षा छ । तर कानुन र विधिको शासन भन्दा माथि छु भन्ने घमण्ड पालेर बसेका समाजका किर्नाहरुको पक्षपोषणमा यो संस्था कदापि नलागोस् । समाज कानुन र मानवता विरोधी कार्यको प्रश्रय दिने संस्था नबनोस् सामुदायिक प्रहरी सेवा केन्द्र हामीले आशा गर्ने र गर्नु पर्ने यतिमात्र हो ।

0 प्रतिकृया:

Post a Comment