तिब्बत नाका ठप्प

ताप्लेजुङ/ नेपाली पक्षलाई जानकारी नै नगराई तिब्बत प्रशासनले उत्तरी नेपाल आवत् जावत् गर्ने नाका ठप्प पारेको छ । तिब्बतले केही महिनाका लागि भन्दै नाका बन्द गरेको सीमावर्ती क्षेत्रका बासिन्दाले जानकारी दिएका छन् ।
ओलाङचुङ्गोलाका टासी शेर्पाका अनुसार चार महिनाका लागि तिब्बत नआउनु भन्ने खबर त्यहाँको प्रहरीले पठाएको छ । त्यतिञ्जेलसम्म नेपाल नजान तिब्बतका बासिन्दालाई पनि उर्दी गरिएको छ । नाका बन्दबारे गोलाको प्रहरी चौकीले भने कुनै जानकारी नभएको बताएको छ । नाका बन्दका विषयमा ब्यापारीबाट सुनेको तर आफूहरुलाई आधिकारिक जानकारी नभएको स्थानीय प्रहरी चौकीले पुष्टी गरेको छ ।
आउँदो मार्च १० तारेखमा दलाइ लामाले तिब्बत छाडेको दिन भएकाले सीमा क्षेत्रमा तिब्बत विरोधी गतिविधि हुन्छ भन्ने शङ्काले बन्द गरेको हुनसक्ने स्थानीय ब्यापारीको अनुमान छ । तिब्बत मामिलामा विशेष चासो राख्ने गोलाका बासिन्दा टासीले उक्त दिन तिब्बतमा भब्य कार्यक्रम आयोजना गरिने र त्यसलाई मध्यनजर गर्दै नाकाबन्दीको निर्णय तिब्बत प्रशासनले लिएको हुन सक्ने उनको अनुमान छ ।
अर्का ब्यापारी दावा एन नाकाबन्दी ४ महिनाका लागि बन्द भएको हल्ला आए पनि १० तारेखपछि खुल्ने बताउँछन् । उनले भने–‘यो क्षेत्रमा त्यस्तो कुनै गतिविधि हुँदैन त्यसैले पनि चाँडै खुल्छ भन्ने लाग्छ ।’ ताप्लेजुङको ओलाङचुङगोला, घुन्सा र याङमाबाट टिपताला तथा पापुङको तोक्पेगोला र सङ्खुवासभा जिल्लाबाट किमाथाङका नाका भएर तिब्बतसँग ब्यापारिक कारोबार हुँदै आएको छ । 
खाद्यान्नलगायतका सामान तिब्बतबाटै ल्याउने र तिब्बतसँग ब्यापारिक कारोबार हुँदै आएकाले चार महिना बन्द भए सीमावर्ती क्षेत्रमा नराम्रो प्रभाव पर्ने ब्यापारी बताउँछन् । तिब्बत बिरोधी गतिविधि हुने शङ्कामा यसअघि पनि बेलाबेला नाका बन्द गरिदै आएको थियो ।

0 प्रतिकृया:

Post a Comment