गुप्तालाई डेढ वर्ष कैद र ८४ लाख जरिवाना – मुख्य समाचार

काठमाडौ/ सूचना तथा सञ्चारमन्त्री  तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता जयप्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वोच्चले उनलाई डेढ वर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको छ ।

चार वर्षदेखि सर्वोच्चमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले अन्तिम फैसला सुनाएको हो । नेपालमा बहालावाला मन्त्री जेल गएको यो पहिलो घटना हो ।
‘प्रतिवादी जयप्रकाशप्रसाद गुप्तालाई एक वर्ष ६ महिना कैद हुने ठहर भएकाले निजलाई ठहर भएको उक्त कैद सजायमा निज हिरासतमा बसेको दिन कटाई बाँकी कैदको लगत कसी कानुन बमोजिम असुल गर्नु गराउनु,’ सर्वोच्चको फैसलामा भनिएको छ ।
पुस २५ गते हुने भनी एक महिनाअघि नै न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले फैसलाको मिति पुस २६ गते तोके पनि ‘फैसलाको पूर्ण पाठ तयार गर्न नभ्याइएको’ भन्दै फागुनमा सारिएको हो । फैसला नजिक पुग्दा गुप्ता भने विवादित बनिरहेका थिए । २०६४ कात्तिक २२ गते सर्वोच्च आइपुगेको गुप्ताको मुद्दा पहिलो दुई वर्ष तारेखमै राखिएको थिएन । २०६६ असार २८ गतेबाट सुनुवाईका लागि पेसी चढाइए पनि त्यसको साढे दुई वर्षपछि मात्रै सुनुवाई सकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाई दिएको थियो । विशेषको फैसलाविरुद्ध सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
कांग्रेस राजनीति हुँदै मूलधारको राजनीति प्रवेश गरेका गुप्ता पछिल्लो पटक क्षेत्रीय (मधेस) राजनीतिमा सकृय थिए । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार उनी पटक–पटक गरी तीन पटक सञ्चार र एकपटक कृषि मन्त्री भएका थिए । भ्रष्टाचार ठहरे लगत्तै उनले मौखिक रुपमा आफूले राजीनामा दिएको बताएका छन् भने आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment