चेतनाको साधारणसभा स्थगित

दुधे/  झापा शिवगञ्ज–९ ब्याङ्डाँडास्थित चेतना माध्यमिक विद्यालयको ११ औँ साधारणसभा स्थगित भएको छ । विद्यालयको भौतिक सम्पत्ति मूल्यांकन गर्नुपर्ने भएकाले सभा स्थगित गरिएको बताइएको छ ।
मंगलबार आयोजित साधारणसभामा विद्यालयको करिब १५ कठ्ठा जमिन, भवन लगायतका भौतिक सम्पत्तिको मूल्यांकन गर्नुपर्ने माग शेयर सदस्यहरु बीच उठेपछि सोका लागि राधाकृष्ण सोडारीको संयोजकत्वमा ५ सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा गोविन्द बस्नेत, ढुङ्गानाथ चापागाई, अम्बिका अधिकारी र तुलसीप्रसाद बाँस्कोटा रहेका छन् । सो समितिले आगमी चैत्र २५ गते सम्ममा मूल्यांकन कार्य पूरा गरी पुनः साधारणसभा बोलाउने जिम्मा पाएको छ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खोदनाथ चापागाईको अध्यक्षतामा आयोजित साधारणसभामा प्रिन्सिपल टंक अधिकारीले आर्थिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गरेकामा सो समेत आगामी साधारणसभाले मात्रै पारित गर्ने जनाइएको छ । ६४ जना शेयर सदस्यमध्ये जेष्ठ सदस्य त्रिलोचन दुलालले कार्यक्रम उद्घाटन गरेका थिए भने स्वागत गंगाराम भट्टराई र सञ्चालन चन्द्रकला लक्समले गरेकी थिइन् ।

0 प्रतिकृया:

Post a Comment