भारतीय कुटनीतिज्ञ विवादमा – मुख्य समाचार

नेताहरुले भने–‘मेहताले मर्यादा नाघे’

काठमाडौं, ६ जेठ/प्रमुख तीन दलले कुटनीतिक मर्यादा विपरीत काम गरेका बिरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहतालाई फिर्ता पठाउन पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले मेहताको गतिविधिप्रति कडा आपत्ति जनाएको छ । बैठकपछि माओवादी उपाध्यक्ष तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक नियोगका कर्मचारीको आपत्तिजनक अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराइने बताए । मेहताले बुधबार राति बारा र पर्साका केही स्थानीय नेताहरुसँग अनौपचारिक रात्री भोज गरेर ‘मधेसका लागि लड्न’ आग्रह गरेका थिए । उनले स्थानीय राजनीतिक नेतृत्वलाई आन्दोलनका लागि उक्साएको समाचार शुक्रबार सार्वजनिक भएपछि तीनदलले त्यसप्रति कडा शब्दमा आपत्ति जनाएका हुन् ।
यसैबीच काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता अपूर्वा श्रीवास्तवले एक प्रेस विज्ञप्ति मार्फत उक्त समाचारको खण्डन गरेकी छन् । उनले समाचार गलत र तथ्यहीन भएको दावी गरेकी छन् । उनले यस्तो समाचारले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर बनाउने उल्लेख गरेकी छन् ।
यस्तै एमालेले कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने भारतीय महाबाणिज्यदूतावासका कर्मचारी एसडी मेहतालाई फिर्ता पठाउने पहल गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष झलनाथ खनालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले मेहताका अभिव्यक्ति उत्तेजक र नेपाललाई द्वन्द्वतिर धकेल्ने खालको भएको निष्कर्ष निकालेको जनाएका छन् ।
अध्यक्ष खनालले विज्ञप्ति जारी गर्दै कतिपय भारतीय कुटनीतिज्ञहरुले नेपालको  आन्तरिक र राजनीतिक मामिलामा अनावश्यक र हस्तक्षेपकारी रुची देखाएको उल्लेख गरेका छन् । यस्ता गतिविधिप्रति भारत सरकार समक्ष आपत्ति जनाउन खनालले सरकारसँग माग गरेका छन् । कर्मचारी मेहताले स्थानीय राजनीतिक व्यक्तिहरुलाई भेला गरी मधेसी आन्दोलनको आँधीबेहरी सिर्जना गर्न उक्साएका थिए । उनले भने –‘मधेसलाई टुक्रा पार्दा आफ्नो कलेजोलाई नै टुक्रा पारे जस्तो भएको’ अभिव्यक्ति दिएका थिए ।
यसैबीच एमाले भातृसंगठन युवा संघ र अनेरास्ववियुले शुक्रबार भारतीय राजदूतावासमा विरोधपत्र बुझाएका छन् । अनेरास्ववियुकी उपाध्यक्ष नविना लामाका अनुसार मेहताका अभिव्यक्ति विरुद्ध भातृसंगठनले राजदूतावास अघि केही बेर नारबाजीसहित प्रदर्शन गरेका थिए ।
विरोधपत्र बुझाएपछि होटल एम्बेसडर अगाडि भातृसंगठनले कोणसभा गरेका थिए । कोणसभालाई युवासंघ अध्यक्ष महेश बस्नेत र अनेरास्ववियूका अध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गर्दै कुटनीतिक मर्यादा विपरीत काम गर्ने कर्मचारीलाई नेपालमा नराख्न चेतावनी दिए ।
यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालले बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एस डी मेहताले दिएको अभिव्यक्त बारे स्पष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलाई आग्रह गरेका छन् ।
दाहालले शुक्रबार राजदूत जयन्तप्रसादलाई आफ्नै निवास लाजिम्पाटमा बोलाएर भारतीय कर्मचारी मेहताले नेपालको आन्तरिक मामलामा किन चासो राखेका हुन् त्यसबारे स्पष्ट पार्न अनुरोध गरेका अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
राजदूत जयन्तले महावाणिज्य दूतावासका कर्मचारीले  के भनेका हुन् सो बारेमा बुझेर जानकारी गराउने बताए ।
यसैबीच युथ फोर्स झापाले समेत बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक कन्सुलर एसडी मेहताको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । युथ फोर्सका जिल्ला संयोजक प्रत्युस आजाद रानाले शुक्रबार विज्ञप्ति जारी गरी मेहतालाई तुरुन्त फिर्ता पठाउन समेत माग गरेका छन् ।

भारतले स्वीकारेन

नयां दिल्ली/नेपालस्थित आफ्ना एक जना कूटनीतिज्ञले मधेशमा आन्दोलनका लागि राजनीतिक दलहरुलाई उक्साएको भनी आएका खबरहरु भारतले अस्वीकार गरेको छ ।
‘सञ्चारमाध्यममा आएका खबरहरु भ्रामक एवम् गलत छन् । त्यस्ता खबरले नेपाल र भारतबीचको मैत्री सम्बन्धबाट ध्यान मोड्न खोजिएको छ’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अक्रबुद्धिनले केहि सञ्चारकर्मीसंग भने ।
अक्रबुद्धिनले स्थायी, प्रजातान्त्रिक र समृद्ध नेपाल स्थापनाका लागि संविधान निर्माण प्रकृयालाई साथ दिन भारत प्रतिवद्ध रहेको पनि प्रष्ट्याए ।  तीन ठूला दल माओवादी, कांग्रेस र एमालेले  विवादास्पद कूटनीतिज्ञको फिर्तीका लागि माग गरेको प्रसंगमा भारतले के गर्छ भनी सोधिएको प्रश्नमा उनले प्रतिकृया जनाउन चाहेनन् ।
यसैबीच भारत सरकारका सुत्रहरुले विवादमा परेका कूटनीतिज्ञ मेहताको कार्यावधि सकिएको र उनी दिल्ली फर्किन लागेको जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment