दिव्य माछा – कथा

विजु सुवेदी “विजय”
असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो ः– यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो–“हे भुराहरू तिमीहरूलाई के थाहा यो माछाको बारेमा ? यसको बारेमा मलाई यही ठाउँमा ल्याएर म बच्चा बेला मेरो हजूरबुबाले भन्नुभएको थियो । त्यस्तै मेरो हजूरबुबालाई पनि बच्चा बेला यही ठाउँमा ल्याएर उहाँको हजुरबुबाले उहाँलाई बच्चाबेला यही माछाको बारेमा भन्नुभएको थियो । त्यत्तिबेलादेखि पुस्तौं पुस्ता हस्तान्तरण हुँदै मसम्म यो माछाको बारे इतिहास जिउँदै छ । त्यसैले तिमीहरू पनि यही ठाउँमा नै यो इतिहासबारे सुन ।”
धेरै पहिले काठमाडाँैं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले ज्योतिषि हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको छोरो जन्म्यो । आफ्नो छोरो जन्मेको मिति, तिथि अनुसार उसले ज्योतिषि हेर्दा आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ । अनि के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरूलाई अह्राएर खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले आफ्नो गाउँमा लगेर हुर्काउँछ ।
राजज्योतिषको ज्योतिषि विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्ष बितिसकेको हुन्छ । एकदिन काठमाडाँैं उपत्यकामा अनिष्ट हुन लाग्यो भनेर हल्ला चल्छ । त्यो अनिष्ट के रहेछ भने एउटा ठूलो दिव्य माछा हुरी बतासले ल्याएको रहेछ त्यो काठमाडाँैं उपत्यकामा खस्न लागेको रहेछ । राजज्योतिषले ज्योतिषि हेरिसकेपछि त्यो माछालाई बचाउन सके पूरै विश्व अनिष्ट हुनबाट जोगिन्छ भन्ने ठहर गर्छ । राजज्योतिषले ग्रह, नक्षत्र सबै हेरेर राजालाई भनेर राजकोषको खर्चबाट हालको रानीपोखरी भएको पूरै क्षेत्र जुन पूरै सुख्खा क्षेत्र थियो त्यो पूरै क्षेत्रमा पोखरी बनाउन लगाउँछ र शनिबारको दिन बिहान उक्त पोखरीमा माछा खस्दछ भन्ने ठहर गर्दछ ।
उता दाउरेले हुर्काएका बीसवर्षे जवान युवक पनि आफ्नो पूर्खाको वंशाणुगत गुणको प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि ज्योतिषिमा रुचि राखी लागिपरेकाले गर्दा २० वर्षे उमेरसम्ममा ज्योतिषिको हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ । त्यत्तिबेला ऊ पनि काठमाडौं उपत्यका घुम्न आएको हुन्छ । राजज्योतिषले अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी पनि हेर्दछ । उसले पनि आफ्नो ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ । उसले भने त्यत्रो ठूलो खर्च गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको क्षेत्र भाग भए हुने भनेर अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब ३०० मीटर परको असन चोकनिर २ हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह लगाउँछ र माछा यहाँ खस्दछ भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा र ४ हात लम्बाइको अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर काठमाडौ उपत्यकाभरि हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो दरवारमा पुग्छ । उक्त २० वर्षे जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी गराइन्छ ।
राज ज्योतिष ः– मैले अहिलेसम्म ज्योतिष हेरिसकँे त्यो कहिल्यै मिथ्या भएको छैन ।
जवान युवक ः– अब मिथ्या हुनेवाला छ ।
राज ज्योतिष ः– यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ, के यो तिमी मञ्जूर गर्छाै ?
जवान युवक ः– गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?
राजज्योतिषलाई आफ्नो ज्योतिषिमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले दरबारमा यही प्रक्रियाको लागि तत्कालै कानूनी प्रक्रिया मिलाउन लगाउँछ ।
जवान युवक ः– हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।
राजज्योतिष ः– म अरु कुरा सुन्न चाहन्न, तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।
शनिबारको दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन चोकमा जवान युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो पोखरीमा खस्छ ।
राजज्योतिषलाई फाँसी दिइन्छ । जवान युवकलाई राजज्योतिष बनाइन्छ । जवान युवकले राजज्योतिषको घमण्ड तोड्छ । जवान राजज्योतिषले पुरानो राजज्योतिषको सम्पूर्ण कागजातहरू अध्ययन गर्न थाल्छ र उसले आफ्नो २० वर्षअगाडिको कुण्डली फेला पार्छ । त्यसबाट ज्योतिषि हेर्दा पुरानो राजज्योतिष जवान राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको योग अनुसार आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।

0 प्रतिकृया:

Post a Comment