संसद्को अवरोध हट्यो

काठमाडौ, ६ जेठ  /प्रधानमन्त्री बाबुराम भट्टराईको सम्बोधनपछि व्यवस्थापिका संसद्को अवरोध हटेको छ ।
प्रधानमन्त्रीले ११ प्रदेशको सहमति प्रारम्भिक भएको बताएपछि संसद् अवरोध गर्दै आएको बृहत् मधेसी मोर्चाले अवरोध हटाएको हो । संसद् सुचारु भएपछि संविधान जारी गर्ने प्रकृया छोट्याउन अन्तरिम संविधानको धारा ७० संशोधन गर्न बाटो खुलेको छ ।
संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेश विभाजन प्रारम्भिक भएको भन्दै  संसद् अवरोध नगर्न बृहत् मधेसी मोर्चालाई आग्रह गरेका थिए । उनले संसद् अवरोध हुँदा धारा ७० संशोधन गर्न नसकिने भएकाले गम्भीर हुन आग्रह गरे ।
११ प्रदेशको विरोधमा बृहत् मधेसी मोर्चाले संसद् अवरोध गर्न सुरु गरेपछि प्रधानमन्त्रीले संसद् बैठकमा सम्बोधन गरेका हुन् । ‘संसद् अवरुद्ध भए धारा ७० संशोधन गर्न सकिंदैन,’ उनले भने, ‘त्यसो हुँदा जेठ १४ मा संविधान जारी गर्न सकिंदैन ।’ अन्तिम अवस्थामा आएर संविधान जारी गर्न रोकेर इतिहासमा कलंकित नहुन उनले आग्रह गरे ।
प्रधानमन्त्रीको सम्बोधनपछि मोर्चाका उपेन्द्र यादवले प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहालले ११ प्रदेश बनाउने सहमति प्रारम्भिक भएको वचन दिएकाले अवरोध हटाएको बताए ।

पूर्वमन्त्रीको हात हालाहाल

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का सभासद् एवं पूर्वमन्त्री अकवाल अहमद साह र पूर्वराज्यमन्त्री सुरिताकुमारी साहबीच संसद् भवनमै हात हालाहाल भएको छ ।
११ प्रदेश पुनर्विचार गर्न उपसमितिमा निवेदन दिन अकवालले हस्ताक्षर गरेकोमा आपत्ति जनाउँदै सुरिताले कुट्ने प्रयास गरेकी थिइन् । दुवैबीच हात हालाहालको स्थिति भएपछि अन्य सभासद्ले दुवैलाई छुट्याएका थिए ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा अकवाल कृषि मन्त्री थिए भने सुरिता सूचना तथा सञ्चार राज्यमन्त्री थिइन् ।

0 प्रतिकृया:

Post a Comment