चिया खेतीमा राते रोग

विष्णु सुब्बा
दमक, ६ जेठ/ झापाको चिया बगानमा राते रोग लागेपछि बोटहरु मर्न थालेका छन् । चियाको बोटहरुमा राते रोग र अलैची किरा लागेपछि चियाका बोटहरु मर्न थालेका हुन् ।
चियामा लाग्ने राते रोग नियन्त्रणका लागि समयमा औषधि उपलब्ध हुन नसक्दा चियाको डाँठसहित बोट समेत सखाप हुन थालेको दमकस्थित हिमालय महालक्ष्मी टि गार्डेनका महाप्रबन्धक कमलकुमार भारतीले बताए । समयमै चियाको बोटमा किटनाशक औषधि, सिँचाइको लागि पानीको सुविधा, मलखाद आदि उपलब्ध हुन नसकेमा चियाबगान धरासायी हुने भारतीले जानकारी दिए ।

उनका अनुसार ८ महिनासम्म पानी नपर्नाले जमिन सुख्खा भएको, विद्युत लोडसेडिङ् बढेको, इन्धनको मूल्य बढेको, किरा मार्ने केमिकल समयमा उपलब्ध हुन नसक्दा चिया उत्पादनमा समस्या आएको छ । सो चिया बगानमा ३ सय ६४ जना कामदार कार्यरत छन् भने उनीहरुलाई टि गार्डेनले दैनिक ज्याला वापत पाक्षिक रुपमा ८ लाख रुपैयाँ ज्याला रकम उपलब्ध गराउँदै आएको छ ।
गार्डेन अन्तर्गत चियामा वर्षमा २ पटक मलखादमा मात्र १५ लाख ७४ हजार रुपैयाँ र विषादीमा २० लाख रुपैयाँ खर्च हुँदै आएको छ । उत्पादन खर्चको तुलनामा बिक्री मूल्य कम भएको, कर तिर्नुपर्ने र सरकारी सुविधा हुन नसक्दा चिया बगान चलाउन मुस्किल पर्दै गएको भारतीको भनाई छ ।
९६ हजार हेक्टर चिया खेती रहेको झापामा वर्षेनी करिब १४ हजार ७ सय मेट्रिक टन चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्क छ ।

0 प्रतिकृया:

Post a Comment