राप्रपा नेपालका कार्यकर्तामाथि आक्रमण

पाँचथर, ६ जेठ/धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र, नयाँ संविधानमा राष्ट्रिय अखण्डताको सुनिश्चितता गर्न माग गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले  निकालेको जुलुसमा लिम्बुवान कार्यकर्ताले आक्रमण गरेका छन् ।
राप्रपा नेपाल पार्टी कार्यालय घण्टाघरबाट गणतन्त्र चोक तर्फ गइरहेको जुलुसमाथि दिउँसो हस्पिटलमोड नजिकै मञ्च सम्बद्ध लिम्बुवान र संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले आक्रमण गरेका थिए ।
धन्यवाद ज्ञापनका लागि कोणसभा गर्न गणतन्त्रचोक तर्फ गइरहेको जुलुसमाथि लिम्बुवान कार्यकर्ताहरुले अन्धाधुन्द आक्रमण गरेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकारमाथि धावा बोलेको राप्रपा नेपाल पाँचथरले जनाएको छ ।
संघीयता, लिम्बुवान, धर्म निरपेक्षता र अन्तरिम संविधान २०६३ विरुद्धको क्रियाकलाप गरेका कारण आक्रमण गरिएको मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का सचिव सागर केरुङले बताए ।
आक्रमणबाट प्रजातान्त्रिक युवक संगठन पाँचथरका अध्यक्ष तथा राप्रपाका जिल्ला सदस्य मदन पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले बताए । यसैबीच बन्दको समापनका क्रममा शुक्रबार साँझ दमकमा आयोजित कोणसभामा राप्रपा नेपालका नेताहरुले तीन दलले मुलुकलाई बन्दी बनाएको आरोप लगाए । कोणसभामा पार्टीका केन्द्रीय सदस्य घनेन्द्र सुब्बा, क्षेत्रीय अध्यक्ष बिजय बराल, नगर अध्यक्ष चन्द्र थापा लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment