एम्बुलेन्स चालक आन्दोलित

दमक, १२ जेठ/सुरक्षाको माग गर्दै झापा माईपश्चिम क्षेत्रका एम्बुलेन्स चालकहरुले सेवा ठप्प पारेपछि बिरामीहरुको उपचारमा समस्या भएको छ । कतिपय ग्रामीण बस्तीहरुमा सुत्केरी ब्यथा लागेका महिलाहरुलाई अस्पताल सम्म पु¥याउन कठिन भएको छ ।
बन्द र हड्तालका आयोजकहरुले एम्बुलेन्समाथि आक्रमण जारी राखेपछि चालकहरुले एम्बुलेन्स सेवा ठप्प पारेका हुन् । बुधबार राति मेचीनगरको इटाभट्टामा बन्दकर्ताहरुले दमकस्थित मानबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित मे १ च ८९६ नम्बरको एम्बुलेन्सका चालक अमित ताजपुरियालाई हातपात गरेको विरोधमा रातिदेखि नै सेवा बन्द गरेका हुन् । दमकस्थित पाथीभरा देवी परोपकार समाजद्वारा सञ्चालित एम्बुलेन्सका चालक शिव रेग्मीले बुधवार रातिदेखि नै जिल्लाका ग्रामीण बस्तीहरूबाट बिरामी ल्याउन खबर आएपनि असुरक्षा कै कारण जान नसकिएको बताए ।
दमकको आम्दा अस्पतालमा श्रीमतीलाई सुत्केरी गराउन जन्ती बसमा लिएर आएका महाभारा–४ का तेजप्रसाद कोचले एम्बुलेन्स नचल्दा आफूले सास्ती व्यहोर्नु परेको बताए । उनले घर फर्किन समेत एम्बुलेन्स सेवा नपाउँदा अस्पतालमा नै बसिरहनु परेको बताए । माहाभारा गाविसका पूर्व उपाध्यक्ष देवेन्द्रनारायण राजवंशीले समयमा एम्बुलेन्स सेवा नपाउँदा बिरामीको ज्यानै जाने जोखिम रहेको बताए । उनले गाउँमा रहेका क्लिनिकहरूमा स्लाईनपानी लगायतका अतिआवश्यकीय औषधि सामग्रीको समेत अभावका कारण उपचार पाउन मुस्किल रहेको बताए ।
माहाभारा ४ का सन्थाल बस्तीका रस्को मुर्मुले झाडापखाला र ज्वरोबाट प्रभावित आमाको उपचार सेवा पाउन समस्या भएको बताए । गत जेष्ठ ९ गते समेत चालकहरूले असुरक्षा भएको भन्दै इलाका प्रहरी कार्यालय दमक घेराउ गरेका थिए । सो समयमा जिल्लास्थित प्रहरी प्रमुख, ईलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि लगायतले सुरक्षा ग्यारेन्टीको मौखिक प्रतिवद्धता जनाएपछि सेवा सुचारु गरेका चालकहरूले पुनः आक्रमण दोहोरिएको भन्दै सेवा बन्द गराएका हुन् । बिहीबार नै काँकडभिटामा
लिम्बुवान कार्यकर्ताहरूले देवनारायण आधिकारी स्मृति प्रतिस्ठान द्वारा संचालित एम्बुलेन्समा तोडफोड गरेका बताइएको छ ।
यसैबीच माईपश्चिम झापाका एम्बुलेन्स संचालक तथा चालकहरूले पुनः सेवा सुरु गर्ने लगायतका विषयमा सर्वपक्षीय सहमति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक हरि खतिवडाले सहमति अनुसार तत्काल सेवा शुरु हुने जानकारी दिएपनि एम्बुलेन्स चालक तथा सञ्चालकहरूले भने इटाभट्टामा एम्बुलेन्समाथि आक्रमण गर्नेहरूलाई पक्राउ नगरेसम्म सेवा सुचारु नगर्ने चेतावनी दिएका छन् । बिहीबार दमकमा भएको सर्वपक्षीय छलफलमा नेतृत्व गरेका एम्बुलेन्स सेवा प्रदायक जगतबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानका सञ्चालक राजेश श्रेष्ठले सो छलफलमा भएको निर्णयका विषयमा आज (शुक्रबार) दलका प्रतिनिधिहरूले लिखित सहमति जनाउने भनिए पनि चालकहरूबाट दोषीलाई पक्राउ नगरेसम्म सेवा सुचारु नगर्ने चेतावनी आएको बताए । उनले प्रशासनले आज शुक्रबार बेलुकी ५ बजेसम्ममा इटाभट्टामा भएको एम्बुलेन्स चालकमाथिको आक्रमणका घटनामा संलग्नहरू सञ्जुहाङ पालुङ्वा नेतृत्वको लिम्बुवान कार्यकर्ताहरूलाई पक्राउ गर्ने प्रशासनले प्रतिबद्धता जनाएको बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment