घुम्ती शिविरबाट सर्वसाधारण लाभान्वित

शिवगञ्ज, वैशाख १५/ग्रामीण क्षेत्रका सेवाग्राहीहरुलाई सरकारी सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले बिहीबार शिवगञ्जमा घुम्ती शिविर सम्पन्न गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा स्थानीय जनआदर्श उच्चमाविमा भएको शिविरमा जिल्ला प्रशासन, जिल्ला निवार्चन कार्यालय, पशु सेवा कार्यालय, जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, वन कार्यालय, विद्युत प्राधिकरण लगायतका सेवाहरु उपलब्ध गराईएको थियो । स्थानीय अपाङ्ग बालिकालाई किशोरीलाई नागरिकता प्रदान गरेर पूर्वाञ्चल क्षेत्रीय प्रशासक डा. कृष्णचन्द्र पौडेलले थालनी गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालका अनुसार शिविरबाट १ हजार जना भन्दा बढीले सेवा लिएका थिए । शिविरमा शिवगञ्ज, पाँचगाछी, महाभारा, कोरोबारी लगायतका आधा दर्जन भन्दा बढी गाविसका सेवाग्राही सहभागी थिए ।
शिविरमा २ सय ९४ जनाले नागरिकता प्राप्त गरेको इलाका प्रशासन कार्यालय दमकका प्रमुख यज्ञ आचार्यले जानकारी दिए । नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख सन्तोष कुमारका अनुसार शिविरमा ४५ जना ग्राहकलाई विद्युत मिटर प्रदान गरिएको थियो । ति मध्ये ४० र ५ ओटा सिँचाई प्रयोजनका लागि रहेका छन् । शिविरबाट धरौटी राखेर ५ जना भुमिहीनले समेत विद्युत मिटर लिएको उनले जानकारी दिए । यसैगरी जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत गोपाल आचार्यका अनुसार १ सय २९ जना फाटोसहितको मतदाता नामावली संकलनमा दर्ता भएका छन् ।

0 प्रतिकृया:

Post a Comment