‘राजनीतिक पछि आर्थिक क्रान्ति’

दमक, वैशाख १५/अर्थराज्यमन्त्री हरिराज खेवाले नेपालको राजनीतिक क्रान्ति अन्तिम चरणमा पुगेको बताएका छन् । उनले राजनीतिक क्रान्ति सफल भएपछि अबको दशक आर्थिक क्रान्तिको हुने बताए ।
नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्ति सफल हुने र आर्थिक क्रान्ति शुरु हुने बताए । दमकमा करदाता सेवा कार्यालयको बिहीबार उद्घाटन गर्दै उनले आर्थिक क्रान्तिका लागि सबै करदातालाई सहयोग गर्न आग्रह गरे । करमैत्री वातावरणको सृजनाका लागि सरकार क्रियाशील रहेको बताउँदै कर प्रशासन बलियो पार्न उद्योगी, व्यवसायीको पनि महत्वपूर्ण भुमिका रहने बताए ।
कार्यालय उद्घान गर्दै राज्यमन्त्री खेवा (बायाँबाट दोस्रो) साथमा अतिथिहरु ।

कार्यक्रममा आन्तरिक राजश्व बिभागका महानिर्देशक टंकमणि शर्माले कर प्रणालीलाई सहज र सेवाग्राहीमुखी बनाउन देशका १५ स्थानमा सेवा कार्यालय बिस्तार गरिएको बताए । करदाताको सहजताका लागि स्थापना गरेको कार्यालय संरक्षण र सहयोगका लागि स्थानीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरे । कार्यालयले कन्काई पश्चिमी क्षेत्रको कर संकलन तथा परामर्शको कार्य गर्ने आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख डा.नारायण ढकालले जानकारी दिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले कर छल्ने र ढाँट्नेका बिरुद्ध कर प्रशासन कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।
बिभागका उप–महानिर्देशक बिष्णुप्रसाद नेपालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले सेवा कार्यालय स्थापनाले स्थानीय उद्योगी–व्यवसायीहरु उत्साहित भएको बताए । कार्यक्रममा मेची अञ्चल प्रहरी प्रमुख हेमन्त पाल, झापाका प्रहरी प्रमुख तारिणीप्रसाद लम्साल, दमक नगरपालिकाका कार्यकारी अधिकृत  राजेश पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment