वैद्यपक्षद्वारा सरकार ढाल्ने घोषणा

काठमाडौ, चैत्र ५/माओवादी उपाध्यक्ष मोहन वैद्यपक्षले शनिबार पार्टी नेतृत्व तथा सरकार विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । दुई महिनायता मत्थर जस्तो देखिएको माओवादी भित्रको विवाद फेरि चर्किएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन नगरेको भन्दै वैद्यपक्षले संघर्षको कार्यक्रम ल्याएको जनाएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन मार्फत वैद्यपक्षीय नेता तथा पार्टी सचिव सीपी गजुरेलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । उनले सडक, सदन र पार्टी तीन वटै मोर्चाबाट सरकारलाई फिर्ता बोलाउन दवाब दिइने बताए । गजुरेलले वर्तमान सरकार राष्ट्र र जनविरोधी भएकोले सरकार ढाल्नुपर्ने नीति लिइएको जनाए ।
शान्ति प्रक्रिया टुंगिने लागेको बेला र संविधानसभाको म्याद छोटिन लागेको बेला वैद्यपक्षले संघर्षको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री भट्टराईको राजीनामा नआए अविश्वासको प्रस्ताव ल्याएर हटाउनेसम्मको तयारी  गरिने गजुरेलले बताए । ‘सरकार ढाल्ने विषयमा अन्य दलहरुसंग छलफल भइरहेको छ’ गजुरलले भने ।
भारतसँग वर्तमान सरकारले गरेको कतिपय राष्ट्रघाती सम्झौताहरु खारेज गरिनुपर्ने वैद्यपक्षको माग छ । पार्टी फुटको निम्ती तयारी नगरिएको दावी गर्दै पत्रकार सम्मेलनमा गजुरेलले भने–‘हामी पार्टी फुटाउन चाहदैँनौ । क्रान्तिकारी पार्टी फुटाएर नेपालमा क्रान्ति सम्भव हुँदैन हामीलाई थाह छ ।’
संघर्ष घोषणा गरिए पनि संघर्षको कस्तो रुप हुने र कहिलेबाट सुरु हुने बारे प्रष्टायाइएको छैन । गजुरेलले विचार मिल्ने अन्य दलहरुसँग पनि छलफल भइरहेको र ति दलहरुसँगको सहकार्यमा आन्दोलनको कार्यक्रम अघि बढाइने बताए ।

0 प्रतिकृया:

Post a Comment