प्रवेशिका परीक्षाको तयारी धमाधम – मुख्य समाचार

                                           झापामा ४८ केन्द्राध्यक्ष नियुक्त
विष्णु पौडेल
भद्रपुर, चैत्र ५/ दुईदिनपछि (चैत्र ७ गतेदेखि) सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) को तयारी धमाधम भइरहेको छ । जिल्ला शिक्षा कार्यालय झापाले जिल्लामा यस वर्ष तय भएका ४८ वटै केन्द्रहरुमा आवश्यक पर्ने केन्द्राध्यक्षहरुको नियुक्ति गरिसकेको जनाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको एसएलसी परीक्षा समन्वय समितिको बैठकले केन्द्राध्यक्षहरु नियुक्त गरेको शिक्षा कार्यालयका उपसचिव लक्ष्मीप्रसाद तिम्सिनाले जानकारी दिए । केन्द्राध्यक्षहरुका लागि आज जिल्ला विकास समितिको सभाकक्षमा परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने सम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन हुने बताइएको छ ।
गत वर्ष ४७ वटा परीक्षा केन्द्र रहेकोमा यो वर्ष एउटा केन्द्र बढाइएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । ति केन्द्रहरुमा जिल्लाका एक सय ओटा सामुदायिक, १ सय ३५ ओटा संस्थागत, ८ ओटा भुटानी शरणार्थी शिविर र २ ओटा खुल्ला विद्यालयका गरी १३ हजार ९ सय ६५ नियमित तथा एक्जाम्टेड तर्फ २ हजार २ सय ७५ जना विद्यार्थीले परीक्षा दिने जनाइएको छ ।
झापाका देवी मावि अनारमनी र हिमालय उच्चमावि दमकको खुल्ला विद्यालयका विद्यार्थीहरु पनि प्रवेशिकामा सहभागी हुनेछन् । यसै वर्षबाट ‘प्राईभेट’ परीक्षाको व्यवस्था हटाईएको तिम्सिनाले जानकारी दिए । गत वर्ष एक्जाम्टेड परीक्षा दिएर अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि भने एउटा अलग्गै परीक्षा केन्द्र तोकिएको उनले बताए ।
जिल्ला शिक्षा कार्यालयले परीक्षाको तयारी द्रुत गतिमा भइरहेको जनाएको छ । परीक्षाका लागि आवश्यक सम्पूर्ण उत्तरपुस्तिकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकिएको र प्रश्नपत्र समेत जिल्ला प्रहरी कार्यालय मार्फत् सम्बन्धित परीक्षा केन्द्र अन्तर्गतका सुरक्षा इकाईमा पठाउने कर्य भइरहेको उपसचिव तिम्सिनाले जानकारी दिए ।
यसै बीच परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो चैत ७ देखि सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्लामा पु¥याइसकिएको जनाएको छ । परीक्षाका लागि आवश्यक सबै विषयको प्रश्नपत्र, उत्तरपुस्तिका र परीक्षाका लागि आवश्यक सबै सामग्री पु¥याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । यसवर्ष परीक्षा दिने पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थीका लागि आवश्यक सबै विषयको कूल ९६ लाख एकसय थान प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापेको थियो ।

0 प्रतिकृया:

Post a Comment