गिटीसँगै कुटिदैँछ बालबालिकाको भविष्य

नरेन्द्र बस्नेत
बेलबारी (मोरङ), चैत्र ५/मोरङको बयरबन–९ का १३ वर्षीय बालक दिपेश लिम्बूको सपना पढेर डाक्टर बन्ने अनि गरीब र दुःखीको निशुल्क उपचार गर्ने रहेछ । उनको सपना भनेको नै त्यही हो । उनले आफू ५ वर्षको हुँदा गरीबिका कारण उपचार नपाउँदा आफ्नी आमा गुमाउनु पर्दाको पिडा आफू बुझ्ने भएपछि उनले यसरी सम्हालेका रहेछन् । उनका बाबुले आमाको मृत्यु भएको ६ महिना पनि बित्न नपाँउदै कान्छी आमा भित्र्याएका रहेछन । कान्छी आमाले देखाएको सौतेनी व्यवहार र मानसिक तनावका कारण बाबु आमा छोडेर उनी अन्य साथीभाइसँगै नजिकैको चिसाङ बगरमा गिट्टी कुट्न थालेका रहेछन् ।
 चिसाङ खोलाको बगरमा गिट्टी कुट्दै बालक दिपेश लिम्बू ।

दिपेश कक्षा ३ मा अध्ययन समेत गर्दा रहेछन चिसाङ खोलामै रहेको एउटा प्राथमिक विद्यालयमा उनलाई आफ्नो विद्यालयको नाम समेत थाहा रहेनछ अनि आफ्ना विद्यालयका शिक्षक÷शिक्षिकाको नाम थाहा हुने त कुरै भएन, होस पनि कसरी विद्यालयमा उनको विद्यालयमा हाजिर भएको रेकर्ड महिनामा मुस्किलले फागुनमा ३ दिन रहेछ त्यो पनि एक दिन बिचमै बिरामी भएर घर गएका रहेछन । आमाको मृत्यु अनि बुबाले अर्की आमा ल्याएपछिको सौतेनी व्यवहारले उनले विद्यालय छोडेर चिसाङको बगरमा गिट्टी कुट्न थालेका रहेछन् ।
चैत महिना मध्यान्ह १२ बजेको घाममा पनि ती बालक चिसाङको बगरमा अन्य सहकर्मीसँगै गिट्टी कुटिरहेका थिए । उनले दिनभरी गिट्टी कुटे बापत ३० देखि ६५ रुपैया सम्म कमाउँदा रहेछन । उनले त्यसबापत पाएको रकम बाट नै खाना, लत्ताकपडा र कापी कलम जुटाँउदा रहेछन । तर पनि उनको रात बिताउने निश्चित घर रहेनछ उनी कहिले साथीकोमा त कहिले चौतारा र सडकमै रात बिताँउदा रहेछन ।
पढ्न मन लाग्दैन भन्ने प्रश्नमा उनले पसिना पुच्दै त्यो अवोध अनुहार ७० वर्षको वृद्धको झै खुम्चाएर हातले घाम छेक्दै भने पढन सारै मन छ अनि पढेर डाक्टर बन्ने पनि छ तर के गर्नु म विद्यालय गएँ भने त त्यसदिन म भोकै पर्छु त्यसैले म स्कूल जानु भन्दा गिट्टी कुट्न आउनुपर्छ । फेरि पैसा बिना चुरोट खान समेत पाईदैन नि उनले आफ्ना काला दाँत देखाउँदै भने ।
उनको चुरोट पिउने समेत अम्मल रहेछ, उनको छेउमै रहेका अर्का बाहुनी २ मोरङका ८ वर्षीय बालक रुपेश चौधरीको कथा अलि फरक रहेछ, उनी चाँही साथीहरुको लहैलहैमा गिट्टी कुट्दा पैसा पाईन्छ भन्ने सुनेर घरबाट भागेर खोलाको बगरमा गिट्टी कुट्न आएका रहेछन् । उनको पनि पढ्ने रहर भएपनि छिमेकका अन्य साथीहरु चाँही बोर्डिङ जाने र आफू चाँहि स्कूल जानुपर्ने राम्रा लुगा लगाउन नपाईने भएपछि घर र स्कूल छोडेर भागेका रहेछन् ।
यता मोरङको सुन्दरपुर ९ का ९ वर्षीया सरु राईको वास्तविकता कम दर्र्दनाक रहेनछ । उनका परिवार तेह्रथुमबाट एक महिना अगाडि मोरङ बसाई सरेर आएका रहेछन् । ७ जनाको परिवार धान्न धौ धौ भएपछि उनीहरु भाग्य खोज्दै यहाँ आएका रहेछन, तर जीवन जीउन त्यति सजिलो कहाँ छ र असाक्षर मानबहादुर र रञ्जनाकी जेठी छोरी सरुको दैनिकी मकै र भटमास भुटेर बुढी खोलामा बालुवा चालेर दैनिक गुजारा गर्ने बाबु आमालाई पु¥याउनु र बाबु आमाको काममा सहयोग गर्नु रहेछ । आफ्नै उमेरका साथीहरु किताब कापी च्यापेर विद्यालय जाँदा उनलाई पनि विद्यालय जान मन लाग्छ र पढ्न पाए हुन्थ्यो जस्तो लाग्छ रे तर के गर्नु स्कूल जान नै पाँईदैन उनले भनिन् ।
उनीहरु त प्रतिनिधि प्रतिनिधि मात्र हुन मोरङको चिसाङ, मावा, सुनसरीको बुढी लगायतका खोलाहरुमा हजारौ बालबालिकाहरु कापी र कलम बोकेर स्कूल जाने बेलामा हातमा हतौडा बोकेर गिट्टी कुट्न बाध्य छन । उनीहरुको सपना सपनामै सीमित रहेका छन । उनीहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत कठिन भईरहेका बेला उनीहरुका सपना त केबल आकाशको फल आँखा तरि मर भनेझै भएका छन । हरेक बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता पूरा गर्नु नैसर्गिक अधिकार भए पनि उनीहरु त्यसबाट वञ्चित बनेका छन् ।
शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले निशुल्क शिक्षा लाग्ू गरेको वर्षौ भईसक्यो तर ती नाराहरु नारामा मात्र सिमित रहेका छन् । ती कलिला हातहरुले गिट्टी कुट्न बाध्य ती हजारौ बालबालिकाहरुको नैसर्गिक अधिकार प्रति राज्य र जिम्मेवार पक्ष संवेदनशील नभएसम्म बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट सदा वञ्चित रहिरहनेमा कुनै दुईमत नहोला ।

0 प्रतिकृया:

Post a Comment