आन्दोलनमा बहिर्गमित लडाकुहरु

केर्खा/ आईतबार पक्राउ परेका सहकर्मी रिहाईको माग गर्दै बहिर्गमनमा परेका पूर्व जनमुक्ति सेनाले सोमबार जनसेना प्रथम डिभिजन नजिकै पूर्व-पश्चिम राजमार्गको केर्खामा एक घण्टा चक्काजाम गरेका छन् ।
विशेष समिति अन्तर्गत स्वेच्छिक अवकास लिने लडाकुलाई चेक हस्तान्तरण गर्ने क्रममा घाइते अपाङ्ग अशक्त बालबच्चाका आमा र शहिद परिवारलाई राहतको कार्यक्रम माग गर्दै आईतबार जनमुक्ति सेनाको सुर्खेत दशरथपुरस्थित छैठौ डिभिजनमा पुगेका ७० जना बहिर्गमित लडाकुहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सहकर्मी रिहाईको माग गर्दै गरिएको चक्काजामको कारण दिउँसो २ बजेदेखि ३ बजे सम्म पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध बन्यो । लडाकुको चक्काजामका कारण अन्तर्राष्ट्रिय दातृ निकायका सवारी साधनहरु समेत केही समय रोकिएका थिए ।
बन्दपछि आयोजित कोणसभामा बहिर्गमित जनमुक्ति सेना नेपाल संघर्ष समिति पूर्वी कमाण्डका इन्चार्ज युगल राई र सदस्य कसम लिम्बूले सम्बोधन गरेका थिए । आफूहरुलाई भिराइएको अयोग्य लडाकुको बिल्ला खारेज गर्नुपर्ने २०६६ सालमा अनमिनले अयोग्य प्रमाणित गरेका ४ हजार ८ लडाकुहरुलाई रोजगार निवृत्तिभरण सीपमूलक र आयमूलक कार्यक्रममा सामेल गराइनुपर्ने लगायतका माग समेत उनीहरुले राखेका छन् ।
बहिर्गमित जनमुक्ति सेना केन्द्रीय कमाण्डका इन्चार्ज सागर लिम्बूले छैंठौ  डिभिजनबाट प्रहरीले पक्राउ गरेका आफ्ना सहकर्मीहरुलाई रिहाई नगरेको विरोधमा दबाबका लागि उपत्यका बाहिरका विभिन्न स्थानहरुमा एक घण्टे विरोध कार्यक्रम गरेको जानकारी दिए । सरकारले एकतर्फी रुपमा घोषणा गर्ने जुनसुकै राहतका कार्यक्रम आफूहरुलाई मान्य नहुने भन्दै लिम्बूले आफ्ना जायज माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिए ।

0 प्रतिकृया:

Post a Comment