गाउँलेमाथि हात्ती आक्रमण, २ महिलासहित ३ को मृत्यु

दमक । एउटा जंगली हात्तीको आक्रमणबाट दक्षिणी इलामको चुलाचुलीमा बुधबार विहान दुईजना महिलाको ज्यान गएको छ । बिहान चुलाचुली ६ पेल्टीमारीकी ४२ वर्षीया प्रीति लिम्बु र चुलाचुली ४ तिनकुनेकी ३२ वर्षीया अशक्त महिला धनमाया लावतीको हात्तीको आक्रमणमा ज्यान गएको प्रहरी चौकी चुलाचुलीले जनाएको छ । विहान ५ बजेको समयमा घर बाहिर निस्किएकी धनमायालाई हात्तीले आक्रमण गरेको थियो । दाजुको घरमा वास बसेकी धनमाया उठेर आफ्नो घर फर्कदै गर्दा हात्तीको आक्रमणमा परेकी थिइन् ।
 त्यसपछि सो हात्तीले केही पश्चिममा पुगेर घर पछाडी काम गर्दै गरेको अवस्थामा प्रीतिलाई आक्रमण गरेको चुलाचुली प्रहरी चौकी प्रमुख दिवाकर कटुवालले जनाए । हात्तीले आक्रमण गरी २५ मिटर टाढा घिसारेर सख्त घाइते प्रितीको उपचारका लागि लैजान तयारी गर्र्दा गर्दै घरमै ज्यान गएको थियो । सो हात्तीले बाटोमा हिँड्ने अरुलाई पनि आक्रमण प्रयास गरेको र स्थानीय भागेर ज्यान जोगाएका थिए । हात्तीले गाउँमा आतंक फैलाएपछि चुलाचुलीमा रहेको नेपाली सेनाको २२ नम्बर वाहिनीको टोलीले हात्तीलाई लखेटेर कमलखोला पारी उत्तरतर्फ जंगलतिर धपाएको थियो । हात्तीको आक्रमणमा दुई जना महिलाको ज्यान गएपछि आतंकित भएका चुलाचुलीबासीलाई सुरक्षा दिन बुधबार राती प्रहरी, इलाका बन र स्थानियबासिन्दाले संयूक्त गस्ती गर्ने भएका छन् । हातीले आएर आतंक मच्चाएमा हवाइ फायर समेत गर्ने अनुमती जिल्ला प्रहरी कार्यलय इलामले दिएकोले गाउलेहरुलाई ढुक्कले बस्न प्रहरीले आग्रह गरेको छ । 
त्यस्तै करेन्ट लागेर मोरङको पथरी शनिश्चरे नगरपालिकामा बुधबार दिउँसो एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ । दिउँसो साढे १२ बजे आँप टिप्ने क्रममा बिजुलीको चुडिएको तारबाट करेन्ट लाग्दा पथरी शनिश्चरे ७ कि ७० वर्षिया बृद्धा लिलामाया पाख्रिनको मृत्यु भएको हो । बृद्धाको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारी मंगलबारेमा राखिएको छ ।

विभिन्न घटनामा ७ घाइते

पथरी । मोरङको पथरी शनिश्चरेमा बुधबार दिउँसो दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चार जना गम्भिर घाईते भएका छन् । दिउँसो २ ः ४० बजेतिर  पथरी शनिश्चरे ६ स्थित भित्रि सडक खण्डमा मे ४ प ८६७७ र मे ४ प ३६२५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खान पुग्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी ८६७७ नम्बरको मोटरसाईकलका चालक हसन्दह ४ का ४५ वर्षिय इश्वर थापा र पछाडी सबार सोही ठाउँकी १७ वर्षिया लक्ष्मी थापा तथा ३६२५ नम्बरको मोटरसाईकल चालक जाँते ४ का २३ वर्षिय मिलन तामाङ र सोही ठाउँकी १९ वर्षिया दुर्गा श्रेष्ठ गम्भिर घाईते भएका हुन् । घाईतेहरुको बिराटनगरको न्युरो र नोबेल हस्पिटलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यसैबीच विद्युत वायरिङमा त्रुटि भएका कारण झापाको दमक १५ मा करेन्ट लागेर एउटा गाई मरेको छ । स्थानीय डिल्लीप्रसाद ओलीको ४५ हजारमा किनेको गाई बुधबार विहान विद्युत वायरिङमा त्रुटि भएका कारण करेन्ट घरभरी सर्टेज भएको थियो । सो क्रममा आँगनमा रहेको गाईलाई पनि करेन्ट लागेर मरेको ओलीका नातेदार युवराज पौडेलले बताए ।
त्यस्तै बुधबार विहान पानीसंगै परेको चट्याङले लागेर मोरङमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार मोरङ बुधनगर ८ का अमित शर्मा, सोही ठाउ“की मिरा सरबरिया र उमानन्द शर्मा घाइते भएका छन् । उनीहरुको विराटनगर तथा भारतको  अस्पतालमा उपचार भइरहेको छ ।

0 प्रतिकृया:

Post a Comment