कांग्रेस मोरङमा उम्मेद्वारीहरुको दौडधुप

उर्लाबारी । नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिदै गर्दा मोरङमा पनि नेतृत्वको चयनका लागि उम्मेदवारी घोषणाको क्रम चलेको छ । संस्थापन र देउवा पक्षले नेतृत्व हत्याउन छुट्टा–छुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थापन पक्षबाट मोरङ कांग्रेसका पूर्व सचिवहरू गोपालमान सिंह राजभण्डारी, ,सञ्जय भट्टराई र मदन संग्रौलाले सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् भने त्रिलोचन रिजालले पनि संस्थापन पक्षबाटै सभापतिको आकांक्षी बन्ने पक्कापक्की भएको छ । उता संस्थापन पक्ष भन्दा कमजोर संगठन भएको मोरङ कांग्रेसमा देउवा पक्षले पनि सर्वसम्मत उम्मेदवार चयन गर्न नसक्ने अवस्था देखिएको छ । अघिल्लो अधिवेशनमा संस्थापन पक्षबाट सभापति जितेका अमृत अर्याल यो पटक क्याम्प परिवर्तन गरी पुनः सभापति बन्ने दौडमा देखिएका छन् । अर्यालसँग चुनाव हारेपनि अर्याललाई देउवा कित्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डिगबहादुर लिम्बू आफू सर्वसम्मत उम्मेदवार बन्न पाउनु पर्ने दावी गरिरहेका छन् । तर देउवा पक्षमा  अर्याल र लिम्बूसँगै दिलिपकुमार गच्छदार पनि आफूलाई सर्वसम्मत उम्मेदवार बनाउन केन्द्रीय नेतृत्वसँग लविङ गरिरहेको बुझिएको छ ।
संस्थापन पक्षका उम्मेदवारहरूमध्ये गोपालमानसिंह राजभण्डारी सबैभन्दा पुराना र कोइराला परिवारका आज्ञाकारी उम्मेदवार मानिन्छन् । उनलाई नजिकबाट चिन्ने कांग्रेसजनका अनुसार  तत्कालिन कोइराला निवासका विश्वासपात्र मानिएका राजभण्डारीसँग स्वर्गीय नोना कोइराला र गिरिजाप्रसाद कोइरालाको किचन क्याविनेटमा रहेर काम गरेको अनुभव छ । यद्यपि पछिल्लो दशक कांग्रेस राजनीतिमा उनको चर्चा कम हुने गरेको छ । नोना र गिरिजाप्रसाद कोइरालाको निधन पछि छायाँमा परेका राजभण्डारीलाई हाल आएर नोना पुत्र डाक्टर शेखर कोइरालाको भरपर्दाे आशिर्वाद रहेको छ । कोइराला परिवारसँग निकट रहेर लामो समय राजनीति गरेका राजभण्डारी मोरङ कांग्रेसको सभापति बन्न योग्य ब्यक्ति भएपनि उनलाई संस्थापन पक्षकै केन्द्रीय नेताहरू महेश आचार्य, सुजाता कोइराला र मीनेन्द्र रिजालले असहयोग गर्ने बताइन्छ । गिरिजाप्रसाद कोइरालासँग अन्तरंग सम्बन्ध कायम गर्न सफल राजभण्डारीले प्रतिबन्धित कालमा गरेको काम र सुजाता कोइराला सक्रिय राजनीतिमा आउँदै गर्दा राजभण्डारीको राजनीति आझेलमा पर्दै गएकोले स्वंय सुजाताले राजभण्डारीलाई सहयोग गर्नेमा शंका उठ्न थालेको छ । एकातिर कोइराला परिवार भित्रको आन्तरिक राजनीतिमा पनि शेखर र सुजाताबीच सामन्जस्यता नभएकोले बरु महेश आचार्य र  आमोदप्रसाद उपाध्यायको समर्थन राजभण्डारीलाई हुने बताइएको छ । तर उपाध्याय हाल क्यान्सरको उपचार गराइरहेकाले अबको अधिवेशनमा उनको भूमिका लगभग शुन्य हुने निश्चित छ । सभापतिको दावी गरिरहेका मदन संग्रौलालाई कांग्रेस महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालको भरथेक रहेको छ । संग्रौला युवाहरूबीच लोकप्रिय मानिन्छन् । तर मोरङ कांग्रेसलाई हाक्न सक्ने क्षमता संग्रौलाले बटुलि नसकेको बताइन्छ । विगतमा प्रजातान्त्रिक कांग्रेसको मोरङ नेतृत्वमा रहेर विभिन्न भूमिका निर्वाह गरिसकेका संग्रौला पछिल्लो समय मीनेन्द्र रिजालसँगै संस्थापन पक्षमा लागेका छन् ।

0 प्रतिकृया:

Post a Comment