राप्रपा नेपालका नेता लावतीको निधन

पद्मसुन्दर लावती
दमक । पूर्व मन्त्री तथा राप्रपा नेपालका राप्रपा नेपालको सह अध्यक्ष पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधबार विहान निधन भएको छ ।
मृगौला सम्बन्धी समस्याका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा लावतीको निधन भएको उनकी  बुहारी एवम् सभासद् बबिना लावती मोक्तानले जानकारी दिइन् । उनी गत जेठ २३ मा नर्भिक अस्पतालमा भर्ना गरिएका थिए । उनको स्वास्थ जटिल वन्दै गएपछि वुधवार विहानैबाट परिवारको अनुरोधमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । लावती मृगौलाका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट पनि ग्रसित थिए ।
पञ्चायतदेखि प्रजातन्त्र पुनस्र्थापना पश्चात समेत पटक पटक गृह, प्रशासन र कृषिसहित विभिन्न मन्त्रालय सम्हालेका लावतीको जन्म ७ साउन १९९६ सालमा भएको थियोे ।
२०१४ सालमा विद्यार्थी अवस्थावाटै राजनीतिमा सक्रिय लावती २०१९ सालमा युवक संगठन अञ्चल सभापति, २०२१ सालमा यासोक गाँउ पञ्चायतको प्रधानपञ्च, २०२४ सालमा जिल्ला पञ्चायतको सदस्य, २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री हुँदै, स्वास्थ, खाद्य र गृह मन्त्रीका समेत भएका थिए । गृहजिल्ला पाँचथरको विकासमा योगदान दिएका लावतीकै पहलमा मेची अञ्चलका जिल्लाहरु जोड्ने मेची राजमार्ग निर्माण, पाँचथर सदरमुकाम फिदिमदेखि यासोकसम्म विद्युतीकरण लगायतका काम भएको थियो ।
उनी स्वास्थ मन्त्री हुँदा झापाको भद्रपुरमा २५ वेडको अस्पताल स्थापनासँगै अस्पतालका लागि ५ विगाहा जमिन खरिद, पाँचथर सदरमुकाम फिदिममा १५ वेडको अस्पताल स्थापना र ५० रोपनी जग्गा खरिद, तेह«थुममा १५ वेडको अस्पताल स्थापना, ताप्लेजुङ, गुल्मी, भैरहवा, अर्घाखाँची, मनाङ, मुस्ताङ र चैनपुरमा अस्पताल स्थापनासँगै वीर अस्पतालको समेत स्तरवृद्धी गरिएको उनको जीवनीमा आधारित ‘मेरो देश मेरो परिवेश’ नामक पुस्तकमा उल्लेख छ ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई सघाएका पूर्वपञ्च लावतीको प्रधानमन्त्री बन्ने चाहनालाई भने तत्कालीन दरबारले पुरा गरेन । त्यसमा असन्तुष्ट लावती बेलाबेलामा ‘राजाले मलाई पत्याएनन्’ भन्दै गुनासो गर्थे । २०४६ सालको परिवर्तनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका लावती पछिल्लो पटक राप्रपा नेपालको सह अध्यक्ष भएका थिए । तर, केही समयअघि मात्रै कमल थापासँग केन्द्रीय अध्यक्षमा पराजित भएपछि लावतीले पार्टी विभाजन गर्दै आफ्नै संयोजकत्वमा राप्रपा नेपाल सुदृढीकरण अभियान शुरु गरेका थिए । लावतीका एक श्रीमती, दुई छोरी र तीन छोरा छन् ।

0 प्रतिकृया:

Post a Comment