आफ्नै लगानीमा बाटो निर्माण अभियान

विर्तामोड । झापाको गरामनी, चकचकी र गोलधाप गाविसका २ सय घर परिवारले आफ्नै लगानीमा साढे चार किलोमिटर बाटो निर्माण गरेका छन् |
गरामनी सापडिग्री हुँदै चकचकी–७ जनता होलीतरी पुनः गरामनीबाट गोलधाप–४ जनजागृति उमावि अगाडि कालोपत्रेमा जोड्ने बाटो स्थानीयवासीले निर्माण गरेका हुन् । अत्यन्त साँघुरो सो बाटोलाई ३० फिट र पैनी भएको ठाउँमा ३५ फिट चौडा कायम गरी माटो भर्ने काम सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष अम्बरबहादुर कन्दङ्वाले जानकारी दिए ।
तीन चरणमा निर्माण सम्पन्न गरिएको सो बाटोका लागि १ हजार २ सय ३२ जना मजदुर परिचालन गरिएको र ६ लाख बढी खर्च भएको निर्माण समितिका सचिव मोहनकुमार उप्रेतीले बताए । समितिले बाटोको स्तरोन्नति गरी हेभी ग्राभेलका लागि जिल्ला विकास समिति समक्ष बजेट माग गरेको छ । गाविसको सिफारिस र जिल्ला प्राविधिक कार्यालयबाट १ करोड १७ लाख ८७ हजार ९ सय १२ रुपैयाँ ५० पैसाको लागत इस्टमेट सहित हेभी ग्राभेलका लागि बजेट माग गरिएको हो । अध्यक्ष कन्दङ्वा, सचिव उप्रेती सहितको टोलीले प्रतिवेदन र उक्त माग योजनासहितको फायल मंगलवार जिविस झापामा बुझाएको छ ।
यसैबीच, बाटो निर्माण समितिले एक भेलाको आयोजना गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । अध्यक्ष कन्दङ्वाले प्रस्तुत गरेको प्रतिवेदन भेलाले पारित तथा अनुमोदन गरेको छ । जस अनुसार ६ लाख २५ हजार ६१ रुपैयाँ आम्दानी भइ ६ लाख २१ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको र ३ हजार ९८ रुपैयाँ बचत भएको छ  ।
नेपाली कांग्रेसका २ नम्बर क्षेत्रीय सभापति मोहनसिंह कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा एमाओवादीका जिल्ला नेता सीपी कडरिया, कांग्रेसका विर्तामोड सभापति भोजराज सिटौला, एमाओवादी गरामनी अध्यक्ष मोहन सुब्बाले मन्तब्य राखेका थिए ।

झिलझिलेमा ३ किमि सडक ग्राभेल

झिलझिले । झापाको शिवसतासी—७ दुधे—झिलझिले सडकखण्डको उत्तरतर्फ रहेको डाँडागाउँका बासिन्दाहरु आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियानमा जुटेका छन् । विकाश निर्माणमा सधै अरुको भरपर्नु पर्ने त्यस क्षेत्रका मानिसहरु आफ्नै प्रयासमा ३ किलोमिटर सडकमा ग्राभेल गरी नमूना गाउँको रुपमा परिचित गराएका छन् । पूर्वपश्चिम राजमार्गदेखि नजिक भएरपनि विकास निर्माणमा पछिपरेका सो क्षेत्रका वासिन्दाले राजनीतिक पार्टीका अगुवाहरुसंग हारगुहार गरेपनि कुनै चासो नभएको भन्दै आफैं जुटेको स्थानीय नरवीर फागोले बताए  । विद्यालय आवत—जावत गर्ने आफ्ना बालबालिका र बजारसम्म किनमेल लगायत अन्य कामको निम्ति हिलाम्य सडकलाई व्यवस्थित गर्दै सो सडकमा ग्राभेल गरिएको फागोले जनाए ।
हिउँदमा सडकमा आवतजावत गर्न समस्या नभएपनि बर्षादको समयमा आवतजावत गर्न कठिनाई भइरहेको फागो बताउँछन् । ३ किलोमिटर सडकखण्ड अन्र्तगत यसअघि २ किलोमिटर सकडमा ग्राभेल गर्ने कार्य पुरा भइसकेको छ । नगरपालिकाको ५० हजार र स्थानीयले स्काइभेटर सहित श्रमवापत १ लाख ५० हजारको लगानीमा १ किलोमिटर सडकमा माटो भर्ने र ग्राभेल गर्नेकार्य पुरा गरेका हुन् ।

0 प्रतिकृया:

Post a Comment