उच्च रकममा पशुहाट ठेक्का

दमक । नेपालकै ठूलो पशुहाटका रुपमा गनिने दमकको पशुहाट अघिल्लो वर्षको तुलनामा उच्च रकममा ठेक्का लागेको छ । 
दमक नगरपालिकाले आर्थिक वर्ष ०७२/०७३ को लागि १ करोड २ लाख १० हजार १ सय रुपैयाँमा पशुहाटको ठेक्का लगाएको हो । नगरपालिकाले  पशुहाट कर संकलनका लागि आब्हान गरेको ठेक्का अनुसार ३ जना ठेकेदारहरुमध्ये  सबैभन्दा बढी दमक १२ का युवराज खड्गीले १ करोड  २ लाख १० हजार १ सय रुपैयाँ प्रस्ताव हालेपछि ठेक्का पाएको नगरपालिकाका राजश्व शाखा प्रमुख टिकाराम दाहालले बताए । आगामी साउन १ गतेबाट ३ प्रतिशतले चौपाय बिक्री मूल्यको कर लिने भएपछि पशुहाटको ठेक्का पनि बढेको दाहालले बताए । हालसम्म सयकडा २ प्रतिशतले चौपाया बिक्री कर लिइरहेको नगरपालिकाले जनाएको छ ।
ठेकेदार खड्गीले आगामी साउन १ गते देखि ०७३ असार मसान्तसम्मको ठेक्का उठाउन पाउने छन् । ३४ वर्ष अघि ५ लाख रुपैयाँबाट शुरु भएको ठेक्का नगरपालिकाको आफनो मुख्य आम्दानीको रुपमा रहेको छ । नगरपालिकाले  पशुहाट कर बढेसंगै नगरको विकासलाई सहयोग गर्ने उद्धेश्यले आर्थिक वर्ष ०७२÷०७३ को ठेक्का लिएको ठेकेदार खड्गीले बताए ।
ठेकेदार दमक २ का कमल थापाले १ करोड २ लाख ७ हजार ६ सय ६६ रुपैयाँ र वडानम्वर १२ कै बिजयकुमार नेपालले ८७ लाख रुपैयाँ मात्र ठेक्का रकम प्रस्ताव गरेका थिए । आर्थिक वर्ष ७१÷०७२ को पशुहाट करको ठेक्का  ६८ लाख रुपैयाँमा मात्र लागेको  थियो । २०३२ सालबाट शुरु भएको दमकको पशुहाट नेपालकै सबै भन्दा बढी गाईबस्तु खरिद बिक्री हुने पशुहाट रहेको नगरपालिकाको दावी छ । यो पशुहाट ६ विगाहा क्षेत्रफलमा रहेपनि बिभिन्न किसिमका अतिक्रमणले अहिले साँघुरिदै गएको छ ।

0 प्रतिकृया:

Post a Comment