सम्झौता रद्ध गर्न लिम्बुवानको माग

विर्तामोड । संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले सोमबार चारदलका शीर्ष नेताहरुबीच भएको १६ बुँदे सम्झौताले संविधान बन्न नसक्ने भन्दै सम्झौता रद्ध गर्न माग गरेका छन् ।
मंगलबार झापाको विर्तामोडमा पार्टीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लिङ्देनले सो सम्झौता पहिचान विरोधी भएको भन्दै त्यसको विरोध गरेका छन् । लिङदेनले १६ बुँदे सम्झौता पहिचान पक्षधरहरुमाथिको धोका भएको बताए ।
उनले भने ‘सम्झौता फिर्ता नभए पार्टीले सशक्त आन्दोलन गर्छ  ।’ एकसाता भित्र पार्टीको सचिवालय बैठक बसी आन्दोलनको स्वरुप बारे निर्णय गरिने पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङवाले बताए ।
पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुवान, मगरात, खम्बुवान, थरुहट, नेवा, खसान, मिथिला, र तामांगसालिंगहरुमा भएको संघर्ष, माओवादीले गरेको १० बर्षे सशस्त्र संघर्ष, ०६२÷६३ को जनआन्दोलन र त्यसपछि भएका लिम्बुवान, मधेश र थरुहटमा भएका आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने कोषिस भएको छ ।’
लिम्बुवान राज्य गठनका लागि लिम्बुवान र नेपाल सरकारबीच भएको सम्झौता अनुसार अरुण पूर्वका ९ जिल्लालाई ऐतिहासिक पृष्ठभूमि तथा शासकीय भूगोलको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान राज्य घोषणा गरिनुपर्ने जिकिर गरेको छ ।

सभासदसँग छलफल
सङ्घीयता र संविधान निर्माणका विषयमा जेठ २५ गते मध्ये रातमा संविधानसभाका प्रमुख ४ दल १६ बुँदे सम्झौता सहित ८ प्रदेशमा सहमति भएपछि लिम्बुवानका सभासदहरुसँग मंगलबार अनामनगरमा छलफल सम्पन्न गरेको छ ।
‘राष्ट्रिय सहमतिको सरकार, संविधान  निर्माण र लिम्बुवान सुनिश्चितताको बहस’ विषयक छलफलमा खास गरेर पछिल्लो चार दलबीच भएको सम्झौता र त्यसमा प्रस्तावित लिम्बुवानको अवस्था के हुने ? ८ प्रदेशमा लिम्बुवान कहाँ पर्ने ? यसपछि लिम्बुवान पार्टी र लिम्बुवान लगायत पहिचान चाहने पहिचान पक्षधरहरुको भूमिका के हुने भन्ने विषयमा छलफल भइरहेको छ  ।
कार्यक्रममा संविधानसभाको सभासद श्रीप्रसाद जबेगूले माओवादी पार्टीले एकल पहिचान पक्षमा नरहेकोले लिम्बुवान आएतापनि बहुपहिचान आधारित भएर आउने कुरा बताएका छन् । सभासद टिकाराम चेम्जोङ्ले भने लिम्बुवान लिम्बूको मात्र एकल जातिय राज्य बनाउन खोजिएको हो भने सम्भब नभएको बताए । उनले लिम्बुवान भुगोलभित्र बहुलजातीय अवधारणा हो भने अहिले हतास हुने बेला नरहेको बताए । यस्तै सभासद आइन्द्रसुन्दर नेम्बाङले यदि प्रदेशसभालाई नामाकरण गर्ने अधिकार दिएपछि 
प्रदेशमा जे नाम राख्ने हो त्यसमा भूमिका प्रदेशसभामा खेल्नु पर्ने बताए । पूर्वमन्त्री पुर्णकुमार शेर्माले भने ‘‘पहिचानको आधारमा विश्वका राजधानी, ठूलाठूला शहरहरुको नाम फेरिरहेको छ भने मेची कोशीको स्थानमा लिम्बुवान पनि सम्भव छ । कुनै न कुनै दिन सफल हुन्छ ।’’
कार्यक्रममा सङ्घीय लिम्बुवान पार्टी नेपालको उपाध्यक्ष खगेन्द्र माखिमले सहमतिले एमाओवादीले जनजातिको मुद्दा छोडेको बताउँदै आफ्नो पार्टी प्रचण्ड नेतृत्वको ३० दलिय गठबन्धनबाट बाहिरिएको जानकारी दिए । उनीहरुले लिम्बुवानबासी सभासदहरुलाई आफ्नो पार्टीमा लिम्बुवान सुनिश्चितताको लागि सहकर्ताको भूमिका निर्वाह गर्नु आग्रह गरेका छन् ।
कार्यक्रममा डा.चैतन्य सुब्बा, बालकृष्ण माबोहाङ, कुमार फुदोङ, डा.युवराज लिम्बू, नेत्र तुम्बाहाङफे, मञ्जुल याक्थुम्बा, अर्जुन लिम्बू, शङ्खधोज नेम्बाङ, सभासद रामकुमार सुब्बा, डम्बरबहादुर तुम्बाहाङफे, डीवी आङबुहाङ, खगेन्द्र जबेगू आदिले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment