सक्छौ गर सक्दैनौ छाड – पहिलो लेख

राम प्रधान
आज नेपाल अन्यौलको भूमरीभित्र मडारीरहेको छ । नेपालको भावी दिनहरुमा कसरी नेपाली जनताहरुको नैसर्गिक अधिकारहरुको रक्षा गर्ने, देशलाई सार्वभौम बनाउने, नेपाल आमाका सन्तानहरुलाई सुखी बनाउने, दीर्घकालीन रुपमा शान्ति स्थापना अहिलेको चुनौति हो । एउटा निर्णयले क्षणिक आवेश र भावनाले देश र नेपाली जनताहरुको भाग्य र भविष्यमाथि जे पनि हुन सक्दछ । नेपाल र नेपालीहरुको भाग्य उदय हुन सक्छ भने गलत हुँदा इतिहासका पानामा मात्र नेपाल र नेपाली कैदी मात्र पनि हुन सक्छ । हो देशलाई सुन्दर, स्रोत, शक्ति सम्पन्न बनाउने काम नेताहरुको कर्मले गर्छ । नेताहरु इतिहासको पानामा अनन्तकालसम्म आदरणीय र पुजनीय पनि हुन्छन् । जसले देश र जनताहरुको भाग्य र भविष्य निर्माणको लागि योगदान पु¥याउनेहरु इतिहासमा जीवित रहन्छन् । वर्तमान अवस्थामा नेपाल र नेपालीहरु अत्यन्तै संकटपूर्ण अवस्थामा गुज्रनु परेको छ । दैनिक रुपले नेताहरु र तिनका राजनीतिक पार्टीहरु प्रतिको जनविश्वास घट्दो क्रममा छ । नेताहरुको कर्म, धर्म, नैतिकता र व्यवहार यस्तै रहेमा नेपालीहरुको टाउकोमा ठूलो बज्रपात बज्रिने अवस्था आएको छ ।
नेपालका राजनीतिक परिवर्तनहरु विभिन्न पार्टीका नेताहरुले अगुवाई गरेर परिवर्तनको लागि महत्वपूर्ण भूमिकाहरु निर्वाह गरेपनि परिवर्तनका उपलब्धीहरुलाई व्यवस्थापना गरी संस्थागत गर्ने कार्य क्षमताको अभाव खड्किएको छ । केवल परिवर्तनहरु गर्दै जाने र उपलब्धीहरुलाई उचित रुपले व्यवस्थापन नगर्ने हो भने त्यो जनघातीमात्र हुन्छ । आज दोस्रो जनआन्दोलनको उपलब्धीहरुलाई उचित रुपमा व्यवस्थापन नभएको कारण सर्वत्र अस्तव्यस्त स्थिति छ । नेपालको राष्ट्रिय हितको लागि जनताहरुले गरेको अपेक्षाहरु, जनताको त्याग र बलिदानहरु अवमूल्यन गरिएको छ । जसको बलिदानबाट यो अवस्था आयो । जसले जीवन, धनसम्पत्ति, परिवार, सन्तान, समय गुमाए । उनीहरुको निम्ति बास, गास, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा केही छैन । गुमेका र बेपत्ता परिवारका सदस्यहरुको कुनै मतलब छैन । अवसरवादी, लुटाहा, फटाहा, हत्याराहरुको बोलवाला छ । जो सर्वत्र अपराधमा संलग्न छन् । उनीहरुलाई पुरस्कृत गरिएको छ । क्रान्ति वा आन्दोलनमा घाइते भएर जीवन मरणको दोसाधमा परेकाहरुलाई वास्ता छैन । राजनीतिक पार्टीहरु र नेताहरुलाई आजको वातावरणमा पु¥याउने जीवन मरणको संघारमा रहेका घाइतेहरुलाई अस्पतालसम्म पु¥याउने विचार पु¥याउन इच्छा व्यक्त गर्न नसक्ने सरकार एउटा व्यक्तिलाई करोडौँ करोड रुपैयाँ दिएर राष्ट्रिय ढिकुटी ब्रह्मलुट मच्चाउने कार्यमा अग्रसर छ । के नेपाली जनताहरुले गरेको त्याग, बलिदान, योगदान, मेहनत, क्रान्ति, हत्या, हिंसा, ध्वंस लगायतका कार्यहरु केवल प्रचण्ड कमरेडको छोरालाई मात्र दिएका हुन् । राष्ट्रिय सम्पत्ति नष्ट गरेर सगरमाथा चढ्दा शान्ति स्थापना हुने भए २१ औँ पटक सम्म सगरमाथा पुग्ने व्यक्तिहरु पुग्दा किन संविधान बनेन ? सगरमाथा चढ्दा संविधान बनेर स्थायी शान्ति हुने भए छोरा होइन बुबा आफै सबै विरोधी लिएर १४ जेठसम्म उतै बसे संविधान बन्थ्यो होला नि ? नेपालको इतिहासमा सबैभन्दा विद्वान, सबैभन्दा योग्य, कला कौशल र प्रतिभा भएको महान् क्रान्तिकारी नेता प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री सबैभन्दा विद्वान भएको कारणले होला वहाँको कार्यकालमा मन्त्री भएर छाडा, अश्लील गाली बेइजति जे गरे पनि छुट हुन्छ । हत्यारालाई चोख्याउने काम भइरहेको छ ।
तर जनताहरुको त्याग, बलिदान, योगदानको कुनै अर्थ रहेन । जो जसको कारणले रमाई–रमाई खाँदै राष्ट्रिय अर्थतन्त्र तहसनहस बनाउने काम हुँदै छ । जनआन्दोलनको र कुथित जनयुद्धको घाइतेहरुको औषधी उपचारमा, भरण पोषणमा, हत्या हिंसाबाट पीडित परिवारजनहरुको विल्लीवाठ भएको स्थितिमा हजारौँ परिवारका बेपत्ता सदस्यहरुको भ्रष्टाचारीको, तस्करहरुको एकमुष्ट भन्दा आर्थिक र नेतिक अपराधीहरुको मात्र देश हो । सर्वसाधारण, गरीब, निमुखा, इमान्दार, मेहनती र स्वाभिमानीहरुको होइन जस्तो देखिएको छ । त्याग र बलिदान गर्नेहरुको मूल्य र मान्यता रहेन । संविधान बनाउने नाममा संविधासभा निर्वाचनपछि केवल राष्ट्रिय अस्मिता, लुट्ने भन्दा बाँकी केही भएन । क्रान्तिको नाममा, युद्धको नाममा, आर्थिक, भौतिक, प्राविधिक, शैक्षिक र जनधनको मानसिक क्षति भएको छ । त्यसको पूर्ति गर्ने नेपालका नेताहरुको कार्य क्षमता र व्यवस्थापन रहेनछ भन्ने उनीहरुको व्यवहारले देखाईरहेको छ । नेपाली राजनीतिमा नेतृत्व गर्ने नेताहरुको चरित्र निर्माण होइन । नष्ट, ध्वंश गर्न नदिने, गरेको देखि नसक्ने छ । हत्या, हिंसा, विध्वंश, नष्ट गर्दा प्राप्त हुने स्वाद आनन्द निर्माणले दिँदैन । निर्माण प्रक्रिया, प्रविधि मान्यताहरु समय चाहिन्छ भने विनासको लागि केही चाहिँदैन । किनभने नेपाली जनता र राष्ट्रियता प्रतिको दायित्व र जिम्मेवारी कसैबाट महसुस भएन । विवाद निरन्तर रुपमा चलिरहन्छ । विकासको लागि विवाद आवश्यकता पनि छ । कुनै व्यक्ति, कुनै गुट, कुनै झुण्ड, कुनै पार्टीको देश बन्धक बनाउन पाइँदैन । देश कुनै व्यक्ति, पार्टी, गुट वा झुण्डको सम्पत्ति होइन ।
२०६९ साल जेठ १४ गते सम्ममा नेपालको संविधान बनाएर घोषणा नगर्ने हो भने संविधासभाको, संविधान सभामा प्रतिनिधित्व गर्ने पार्टीहरुको, तिनका नेताहरुको अब कुनै अर्थ छैन । १४ जेठ २०६९ भन्दा उता संविधान सभाको सदस्य भएर बस्ने नैतिक अधिकार छैन । नेपालको धर्तीमा देश र जनताको लागि काम गर्न गठन गरिएको राजनीतिक पार्टीहरु हुन् देश र जनताहरुप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नु पर्दछ । नेपाली धर्तीको अनन्तकालसम्म यस्ता राजनीतिक पार्टीहरु गठन, पुनर्गठन, विलय, विघटन भइरहन्छ । वर्तमान नेपाली धर्तीमा संगठित, स्थापित जिम्मेवार पार्टीहरुले संविधान सभालाई निष्कर्षमा पु¥याउनु नसक्ने हो भने यी पार्टीहरु नेताहरु ऐतिहासिक कलंक मात्र हुन् । यदि इतिहासमा कलंकको टीका नलगाउने हो भने सबै कुरा स्थगित राखेर संविधान निर्माण होस् । संविधान बनाउन नेताहरु, तिनका पार्टीहरुले नसक्ने हो भने ठाउ छाडे हुन्छ । सक्छौ संविधान बनाउने काम गर सक्दैनौ ठाउँ छाड । पार्टीहरुले नसक्ने हो भने ठाउँ छाडे हुन्छ । नेपाली जनताहरु नेताले गोठमा बाँधेको पशु होइन ।

0 प्रतिकृया:

Post a Comment