स्वायत्तता माग्ने पार्टीहरु फुट नजिक

दमक, माघ २५/ संघीय लोकतान्त्रिक राष्ट्रिय माच इन्द्रहाङ खम्बू समूहले लिम्बुवानका नेता कुमार लिङ्देन एकात्मकवादी शक्तिहरुको घरेलु एजेन्ट भएको आरोप लगाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय माच र सम्बद्ध संघीय लिम्बुव्ाान राज्य परिषद्का अध्यक्ष समेत रहेका लिङ्देनले संघीयता र जातीय स्वायत्तताको आन्दोलनलाई धोका दिएको मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गरी खम्बू पक्षलॆ आरोप लगाएको हो ।

आफूलाई माचको आधिकारिक पक्ष दाबी गर्दै इन्द्रहाङ खम्बूले विधानतः ०६७ चैत्र २९ गते कुमार लिङ्देन समेतको उपस्थितिमा माचको २३ औं पूर्ण बैठक बसेर सर्वसम्मत आफू अध्यक्ष भएको दाबी गरेका छन् । कुमार लिङ्देनले ०६७ साउन २७ गते निर्वाचन आयोगमा आफू अध्यक्ष भएको भन्दै निवेदन दिएर माच फुटाउने षड्यन्त्र गरेको खम्बू पक्षको आरोप छ ।
माचको आधिकारिकता बारे ०६८ माघ ११ गते निर्वाचन आयोगले कुमार लिङ्देनलाई आधिकारिकता प्रदान गरेपछि सो विरुद्ध खम्बू पक्ष सर्वोच्च अदालत पुगेको थियो । माघ १४ गते आयोगको निर्णय विरुद्ध रिट दर्ता गराएपछि तत्कालै सर्वोच्च अदालतले आयोगको निर्णयप्रति कारण देखाउको अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश पाए लगत्तै खम्बू पक्षले माचको आधिकारिकता आफ्नो भएको लगायतका अन्य राजनीतिक बहस थालेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय माच र सम्बद्ध लिम्बुवान खम्बुवान तामाङसालिङ थरुहट मगरात नेवा तमुवान खसान लगायत राज्य परिषद्हरुलाई संगठित गर्ने कार्यमा नभई तिनको अस्तित्व समाप्त गर्न लिङ्देन र उनको पक्ष लागेको आरोप पत्रकार सम्मेलनका बीच लगाइएको छ । कुमार लिङ्देन पक्षले निर्वाचन आयोगमा लिम्बुवानका लिम्बूहरुलाई मात्र उपस्थित गराएर माचको अवधारणा विपरीत कार्य गरेको भन्दै उनी सहित माचका कार्यबाहक महासचिव खगेन्द्र माखिमलाई तत्कालका लागि निलम्बन गरिएको खम्बूले जानकारी दिए । आफूलाई सह-अस्तित्ववादी नेता भएको दाबी गर्ने लिङ्देन स्वअस्तित्ववादी मात्रै भएको समेत खम्बूको आरोप थियो ।
खम्बू पक्षधर माचले केही दिनमै आदिवासी अधिकारका लागि वैकल्पिक राष्ट्रिय राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक वहस थाल्ने बताएको छ । हालै राज्य पुनसर्ंरचना आयोगले पेश गरेको संघीय राज्यहरुको खाका सम्बन्धी सुझाव जातीय स्वायत्तता विरोधी भएको भन्दै सो पक्षले अस्वीकार गर्ने पत्रकार सम्मेलनका बीच जानकारी दिइएको थियो । सो कार्यक्रममा माचबाट ०६७ असार १६ गते विधिवत रुपले अलग भएको लक्ष्मण थारु नेतृत्वको संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वुद्धछिरिङ मोक्तान पार्टी सम्बद्ध थरुहटका महासचिव चन्द्रनारायण थारु लिम्बुवान मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष देउकुमार नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच नेता कुमार लिङ्देनले भने माघ ११ गतेको निर्वाचन आयोगको निर्णयले खम्बू पक्ष र आफूहरुको पार्टी नीति सिद्धान्त र संगठन अलग भइसकेको दाबी गरेका छन् । निलम्बन गरेको बारे टिप्पणी गर्दै उनले भने -ुमैले कांग्रेस सभापति सुशील कोइरालालाई वा माओवादी अध्यक्ष प्रचण्डलाई कार्बाही गरेँ भने कति हाँस्यास्पद स्थिति होला । उनीहरुको भनाई यस्तै निरर्थक र हाँस्यास्पद हो ।ु उनले सो कार्य बौद्धिक दरिद्रताको प्रदर्शन मात्र भएको बताए ।
निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता दिएको भन्दै लिङ्देनले सो निर्णय मान्न आफूहरु तयार रहेको बताए । उनले माघ ११ गते नै खम्बू सहित उनको पक्षका प्रवक्ता सूर्य माखिमलाई पुनः कुनै पनि हालतमा सदस्यता प्राप्त गर्न योग्य नरहने गरी माचबाट निलम्बन गरिएको बताएका छन् ।
२०६२ मा स्थापना भई कहिले लिम्बुवानका नाउँमा त कहिले माच र पार्टीका नाउँमा पटक-पटक फुट्दै आएको जातीय स्वायत्तताको वकालत गर्ने यो पार्टी पुनः फुट्न लागेको देखिन्छ । खम्बू पक्षले पार्टी सुदृढीकरणको रटान लगाइरहनु र लिङ्देन पक्षले भने सैद्धान्तिक बाटो नै अलग भएको बताइरहनुले माच चौंथो पटक फुट्न लागेको स्पष्ट छ । यस अघि माचबाट फुटेर साजुहाङ पालुङ्वा नेतृत्वको लिम्बुवान राज्य परिषद् मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बुवान क्रान्तिकारी र लक्ष्मण थारु नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका रुपमा अस्तित्वमा रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment