दुग्धजन्य पदार्थबाट करिब चार अर्ब आर्जन

इलाम/दूध उत्पादनमा अग्रणी जिल्ला मानिएको इलामका किसानले यस वर्ष दूध तथा दुग्धजन्य पदार्थ बिक्रीबाट करिब चार अर्ब रुपैयाँ आर्जन गरेका छन् ।
गाईंभैँसीपालनमा अग्रसर बनेका किसानले चालु आवमा तीन अर्ब ८१ करोड २२ लाख २२ हजार रुपैयाँ आम्दानी गरेका छन् । अघिल्लो वर्षको भन्दा जिल्लामा यस वर्ष दूध उत्पादनमा समेत वृद्धि भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । अघिल्लो वर्ष एक लाख १० हजार ८ सय १७ मेट्रिक टनमात्रै दूध उत्पादन भएकामा यस वर्ष जिल्लामा एक लाख १३ हजार ९३२ मेट्रिक टन दूध उत्पादन भएको कार्यालयले जनाएको छ । किसानले प्रतिकिलो सरदर रु ३० देखि ४० को बीचमा मूल्य पाउँछन् । जिल्लाका अधिकांश किसानले व्यावसायिक पशुपालन गरेका छन् ।
दुग्धजन्य पदार्थ बिक्रीबाट ३९ करोड ४२ लाख ६२ हजार रुपैयाँ जिल्ला भित्रिएको छ । दुग्धजन्य पदार्थअन्तर्गत जिल्लामा विभिन्न क्षेत्रमा खुलेका साना ठूला गरी दुई दर्जन चिज उद्योगबाट वार्षिक तीन लाख ८६ हजार २ सय ३५ किलोग्राम चिज उत्पादन भएको छ । चिज बिक्रीबाट रु २३ करोड १७ लाख ४१ हजार आम्दानी भएको छ । प्रतिकिलो ६०० देखि ७०० सम्म बिक्री हुने चिजको बजार काठमाडौँ र पोखराका ठूला होटल हुन् ।
यो वर्ष ९० हजार छ सय २९ किलोग्राम घ्यू उत्पादन भएको छ । घ्यू बिक्रीबाट  चार करोड ९८ लाख ४५ हजार रुपैयाँ प्राप्त भएको छ । छुर्पी बिक्री गरेर १० करोड ६१ लाख १५ हजार रुपैयाँ रकम किसानको हातमा परेको छ । विशेष गरेर इलामको छुर्पी कुकुरको आहाराको रूपमा अमेरिका निर्यात हुन थालेको छ । यो वर्ष दुई लाख १२ हजार २ सय ३० किलोग्राम छुर्पी उत्पादन भएको पशु सेवा कार्यालयले जानकारी दिएको छ । प्रतिकिलो ५०० रुपैयाँमा छुर्पी बिक्री हुँदै आएको छ । दुग्धजन्य पदार्थमध्ये ललीपप बिक्रीबाट ४७ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको छ । चालु आवमा १९ हजार ४ सय १७ किलोग्राम ललीपप उत्पादन भएको जनाइएको छ । यसका अलवा यो वर्ष १० लाख ९९ हजार रुपैयाँ बराबरको पुष्टकारी र छ लाख ८२ हजार बराबर रुपैयाँको आइसक्रिम उत्पादन भई बिक्री भएको छ ।
कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार भई दूध तथा दुग्धजन्य पदार्थमा वृद्धि भएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले बताए । दूध उत्पादन वृद्धिसँगै किसान गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति आकर्षित भएका छन् ।
चालु आवमा दुई हजार ९ सय २० गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको छ । जिल्लामा स्थानीय र वर्णशङ्कर एक लाख तीन हजार ७ सय ९४ र भैँसी १० हजार १ सय ३८ वटा भैँसी रहेका छन् । जिल्लामा होलिस्टिन, जर्सी गाई तथा मुर्रा जातका भैँसीपालनप्रति किसान आकर्षित हुन थालेका छन् । होलिस्टिन तथा जर्सी गाईले एक साँझमा १५ देखि २० लिटरसम्म र मुर्रा जातको भैँसीले नौदेखि १२ लिटरसम्म दूध दिने गरेको समेत ढुङ्गानाले बताए । जिल्लाका पशुपतिनगर, फिक्कल, कन्याम, श्रीअन्तु, साँखेजुङ, इलाम नगरपालिका, बरबोटे, गोदक, मङ्गलबारे, माईपोखरी, साँखेजुङ, सुलुबुङ, सुम्वेक, शान्तिडाँडामा गाईपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ ।

0 प्रतिकृया:

Post a Comment