‘एउटा कहानी’ ल्याउने तयारीमा रत्न

नेपाली मूलका भूटानी  (शरणार्थी) गायक रत्न सुब्बा आफ्नो पहिलो सोलो एल्बम सहित सांगीतिक क्षेत्रमा छलाङ मार्ने अन्तिम तयारीमा छन् । बिगत ५ वर्षदेखि निरन्तर संगीत साधनामा जुटेका यी २५ वर्षे गायकले ‘एउटा कहानी’ नामक गीति एल्बम बजारमा ल्याउन लागेका छन् । शरणार्थी शिविर र आसपासका अन्य स्थानहरुमा थुप्रै सांगीतिक कार्यक्रमहरुमा जमेर प्रस्तुति दिइसकेका रत्नले संगीतप्रतिको मोह र स्रोताहरुको साथ र मायाले एल्बम तयारीका लागि प्रेरणा मिलेको प्रतिक्रिया दिए ।
झापाको दमकस्थित बेलडाँगी–१ मा बसोवास गर्ने रत्नले ‘एउटा कहानी’ मा पप, लोक पप, आधुनिक र गजल गरी जम्मा ८ वटा गीत समेटिएको जानकारी दिए । उनले भने –‘सबै फ्लेवर रुचाउने स्रोतालाई लक्षित गरेर एल्बम तयार भएको छ ।’
चर्चित गायकहरु बाबु बोगटी, डम्बर नेपाली, स्वरुपराज आचार्य, सत्यराज आचार्य, संगीत प्रशिक्षक अनिल फागो र रत्न स्वयमले संगीत भरेका यस एल्बमका गीतहरुमा साहित्यकार प्रकाश आङ्देम्बे, नवराज लम्साल, अमृत खतिवडा, सूर्य लिम्बू र रत्न स्वयम्का रचना समावेश गरिएका छन् ।
तुलसी इन्टरटेनमेन्टले बजारमा ल्याउन लागेको एल्बमका सबै गीत रेकर्डिङ भइसकेको तथा सम्पादन कार्य जारी रहेको भन्दै रत्नले थपे –‘पहिलो एल्बम भए पनि अत्यन्तै मेहनत गरेर स्रोता सामु ल्याउन लागेको छु । आशा छ, सुनेर प्रतिक्रिया प्राप्त दिनुहुने छ ।’ हालसालै काठमाडौंको अनामनगरमा भेटिएका यी नवोदित गायक भन्दै थिए –‘एल्बममा जति गहकिला शव्दहरु छन्, संगीत पनि त्यति नै दमदार छन् । मैले पनि यी दुवैलाई न्याय गरेर स्वर दिएको छु भन्ने लाग्छ ।’ उनको स्वरको जादूले स्रोतालाई कतिको लठ्याउला ! त्यो हेर्न भने केही समय प्रतिक्षा गर्नु पर्ने भएको छ ।    

0 प्रतिकृया:

Post a Comment