प्रस्तुत बजेट र नेपाली अर्थतन्त्र


निधिरत्न अधिकारी
प्रत्येक वर्षको असार मसान्तभन्दा अगाडि बजेट भाषण हुने गर्छ । जुन प्रस्तुतिले समग्र राष्ट्रको आय, व्यय, अनुमानित रुपमा प्रस्तुत गर्दै, आउँदो वर्षभरिको योजना पूर्वाधार विकासमा लगानी गर्नको लागि निश्चित बजेट छुट्याई विनियोजन गरिन्छ । उक्त विनियोजित रकम किन, केका लागि र कसका लागि प्रस्तुत गरिएको हो ? गतिलो रुपमा आज नेपाली राजनीतिको अगाडि यो प्रश्न उभिएको छ । नेपाली आर्थिक वर्षहरु कति आए, गए । तर त्यसको प्रतिफल कहाँ देखिएको छ ? बजेट विनियोजन गरिन्छ, तर समयमा विकास पूर्वाधारका कामहरु हुँदैनन् । समयमा खर्च गरिँदैन अनि कुबेलामा योजनाहरुमा बजेट खर्च गरिन्छ । लतर–पतर गरिएको योजनाको बजेट खर्च ६ महिना पनि टिकाउ हुँदैन, अनि नेपालको विनियोजित बजेट यही पाराले खर्च गर्ने हो भने अमुक ठेकेदार पार्टी नेता, कार्यकर्ता, समाजमा रहेका टाठाबाठाहरुको कमाइ खाने भाँडो भन्दा अरु के हुन सक्छ ?
बजेट प्रस्तुत गर्दाका अर्थमन्त्रीका मिठा शब्दावली सुन्नमा त मिठास लाग्छ, तर विनियोजित बजेट सम्बन्धित क्षेत्र, जिल्लामा खर्च गर्ने प्रक्रियामा त्यतिनै तितो हुन्छ । भनाईको अर्थ उक्त बजेट खर्च गर्ने कुनै नियम छैन । अनुगमन छैन । निश्वार्थता छैन । आर्थिक अनुशासन छैन । सबै लथालिङ्ग छ । अनि कसरी जनताको घर अगाडिको बाटो–घाटो, पुल, ढल, पैनी आदि कुराको विकास हुन्छ ? विज्ञानको नियम साश्वत रुपमा के हो भने कुनै पनि कुराको पुरानोबाट नयाँतिर विकास हुँदै जानैपर्छ । तर नढाँटी भन्नुपर्दा नेपालको लगानी विकास नयाँबाट पुरानोतिर अवतरण गर्दै गरेको देखिन्छ । यो विज्ञानको नियम विपरित हो । यसले कसैलाई पनि राम्रो गर्दैन । बजेट भाषण गर्नुभन्दा अगाडि गरिएको तर्जुमामा विनियोजित रकमको झन्डै ५० प्रतिशत रकम कार्यकर्ता, मन्त्रीको नजिक रहने टाठाबाठा सल्लाहकारहरुको लागि प्रयोजन गरिएको हुन्छ, अनि ५० प्रतिशतमा पनि तिको आँखा परेको । त्यसबाट बचतेको रकम मात्र योजनामा लगानी हुन्छ । कुनै पनि योजनाहरुमा । यस्तो छ नेपालको विकासमा लगानी गर्ने सदियौंदेखिको चलन । यो तितो र ध्रुव सत्य हो । होइन भने तपाईको आँखा अगाडि देखिने सडक, पुल, तटबन्धन, नहर, पार्टी, सदन आदिको नेपालमा निर्माण भएको अहिलेसम्मको गुणस्तरियता, टिकाउपन कति छ, मापन गरी बुझ्न सक्नुहुन्छ ।
नेपालमा पटक–पटक ठूला–ठूला राजनीतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनको मूल उद्देश्य देश र जनताको आमूल समृद्धि हो र हुनुपर्दछ । आर्थिक रुपमा मानिसको जीवनस्तर माथि नउठेसम्म र भौतिक रुपमा राष्ट्रको विकास नभएसम्म त्यसलाई व्यवहारमा नै नउतारेसम्म, राजनीतिक नारा मात्र र सिद्धान्तको, दर्शनका नारा मात्रले जनता र देशमा कुनै परिवर्तन हुनै सक्दैन । अहिलेसम्म नेपालमा मिठा, गुलिया नारा बाँड्नुभन्दा अगाडि केही हुन सकेको छैन । नेपालको समग्र बजेट प्रस्तुत गर्दा त्यत्रो प्राप्त स्रोत के हो ? नेपाली राजश्व संकलन र रेमिट्यान्स अनि विदेशी सहयोग, अनुदान यिनै हुन् मूल मुहान्हरु । आजसम्म यिनै उत्पादित मुहान नै पर्याप्त थिए यदि इच्छाशक्तिका साथ नेपालमा लगानी गरिदिएको भए । नेपाल र नेपालीको समग्र उन्नतिको खातिर । बाहिर नेपालको बजेट प्रस्तुतिमा पुष्ट देखिन्छ तर भित्रभित्रै छिया–छिया परेको छ ।
नेपालको अर्थतन्त्र मूल रुपमा भन्नुपर्दा आन्तरिक राजनीतिक झगडाको दलालीभित्र रुमल्लिएको, साम्राज्यवादी पूँजीभित्रको निर्देशनमा विस्तारवादीहरुलाई घोडा बनाइ सञ्चालन भएको, विदेशी दलाल पुँजीपतिको हातमा रहेको छ । जति नै सिँगारे पनि कसि लगाएपनि यस्तो अर्थतन्त्रले नेपाल र नेपालीको समृद्धि कुनै मानेमा पनि हुन सक्दैन ।
नेपाली जनताको बलिदान, त्याग लामो समयसम्मको यो अमूल्य लगानी छ । अहिले मुलुक राजनीतिक संस्करण कालको गम्भीर मोडमा उभिएको छ । १० वर्षको जनयुद्धदेखि ०६२÷०६३ सम्मको आइपुग्ने बाटो तयार गर्नु यो कुनै खेलाँची कुरा थिएन । इतिहासको पाठ, नेपाली जनताको बलिदानी संघर्षको म्याण्डेड र नेपाल र नेपाली समग्र विकासको खाका थियो । तर, यसलाई इमान्दारिताका साथ समयमा संस्थागत गर्नुपर्दथ्यो । त्यो हुन सकेन । यस्तो गम्भीर संस्करणको मोडमा प्रस्तुत बजेट र नेपाली अर्थतन्त्रको मोडल परिवर्तन गरी राष्ट्र, राष्ट्रियता, देश र जनताप्रति समर्पित भएको इच्छाशक्ति र नेपालीपन भएको अर्थनीति र बजेट खुलेर लागेको छैन । आवरणमा बजेटको सारले केही दिन दुःखीको मन त छुन खाजेको छ । सिद्धान्तमा तर व्यवहारमा विश्वासयोग्य छैन ।
यहाँ बजेट प्रस्तुत हुन्छ अनि क्रिया–प्रतिक्रिया बजारमा आउन थाल्छन् । विज्ञहरुबाट पनि भनिन्छ – यो बजेट एमाले, राप्रपा आदि पार्टीहरुको चित्त बुझाएको, समग्रमा राम्रो छ । यहाँ नेपाली जनता, किसान, मजदुर, गाउँ, टोल, वस्तीको प्रतिक्रिया खोई सोधेको ? कुरै छैन । त्यसैले नेपाली राजनीतिभित्र नेपालको बजेट टाठाबाठा, पहुँचवालाका लागि मात्र हो । गरीब, दुःखी जनताको उन्नति र राष्ट्रको प्रगतितिर उन्मुख नै छैन ।
nidhiratna@hotmail.com

0 प्रतिकृया:

Post a Comment