तीनवटा सामुदायिक वन पुरस्कृत

इलाम/जिल्ला वन कार्यालय इलामले जिल्लाका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई सोमबार पुरस्कृत गरेको छ ।
नमुना सामुदायिक वन उपभोक्ता समूह दानाबारी–३ पहिलो, बगैँचासेरो सामुदायिक वन उपभोक्ता समूह चिसापानी–३ र ५ दोस्रो, भेँडीचोक सामुदायिक वन उपभोक्ता समूह माईपोखरी–६ तेस्रो तथा बरबोटे सामुदायिक वन उपभोक्ता इरौँटार–७ र कहरे सामुदायिक वन उपभोक्ता समूह चमैता–६ सान्त्वना भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः पाँच हजार रुपैयाँ, तीन हजार रुपैयाँ र दुई हजार रुपैयाँ, प्रमाणपत्र तथा सान्त्वना हुनेलाई प्रशंसा पत्र वितरण गरिएको छ । क्षेत्रीय वन निर्देशक डा. राजनकुमार पोखरेलले सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । पुरस्कृत हुने वन उपभोक्ता समूहले वन व्यवस्थापन, संरक्षण, डढेलो नियन्त्रणलगायतका गतिविधिको मूल्याङ्कनका आधारमा छनोट गरी पुरस्कृत गरिएको जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले बताए ।
गजुरमुखी इलाका वन कार्यालय सुखानीको दक्षिणी सेक्टरमा आयोजित कार्यक्रममा निर्देशक पोखरेल, जिल्ला वन अधिकृत काफ्लेलगायतले आगामी दिनमा वन समूह अझ सशक्त भई व्यवस्थापनमा जुट्न लाग्नुपर्नेमा जोड दिए ।

0 प्रतिकृया:

Post a Comment