छैनन् महिला मन्त्री

काठमाडौ, ८ जेठ/प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा बनेको सहमतीय सरकारमा आइतबारसम्म २३ मन्त्रीले शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । तीमध्ये एक मात्र महिला छिन् ।
पार्टीभित्रै ५० प्रतिशत महिला सहभागिताको सिद्धान्त बोकेको माओवादी र जनसंख्याको अनुपातमा समानुपातिक, समावेशी सहभागिता भन्दै आएको मधेसवादी दललेसमेत आधा आकाश ढाक्ने महिलालाई प्रतिनिधित्व गराउन सकेको छैन ।
कांग्रेसले पनि महिलालाई अघि बढाएको छैन भने एमालेबाट सभासद् राधा ज्ञवालीले ऊर्जामन्त्री पाएकी छन् । पहिलो मन्त्रिमण्डल बिस्तारमा ११ मन्त्रीमध्ये एक महिलाले समेत नियुक्ति पाएका थिएनन् । दोस्रो चरणको बिस्तारमा राधा ज्ञवालीले नियुक्ति पाएकी हुन् । पटक–पटक मन्त्रिमण्डल बिस्तार गर्दै बुधबार तीन जनाले शपथ ग्र्रहण गरेका छन् । त्यसमा पनि महिला परेनन् ।
माओवादी, काग्रेस, एमाले, मधेसी मोर्चा र पाँच साना दलका २३ मन्त्री नियुक्त हुँदासम्म महिलालाई सिफारिस नगरेको भन्दै महिला सभासदले गुनासो गरेका हुन् ।
माओवादी सभासद पम्फा भुसालले जनताको हितको सरकार नभएकाले महिलालाई उपेक्षा गरेको बताइन् । ‘पुरुष मन्त्रीहरुको सिट तोकेको सरकार भएकाले महिलालाई नियुक्ति नगराएको हो,’ उनले आक्रोशित हुँदै भनिन्, ‘यो सरकारमा प्रधानमन्त्रीले मन्त्री बनाउनेसम्म हैसियत राख्दैनन् ।’
संविधानले राज्यका हरेक निकायमा समानुपातिक समावेशी सहभागिताको व्यवस्था गरे पनि सामन्ती र पितृसत्ता हाबी भएकाले महिलाले अवसर नपाएको उनले बताइन् । ‘माओवादीले आफ्नो पार्टीको नीति ५० प्रतिशत महिला सहभागिता भन्दै आएपनि मन्त्रिमण्डल बिस्तारका क्रममा एक महिलालाई पनि सहभागी नगराएकामा आश्चार्य लागेको छ,’ उनले भनिन् ।

0 प्रतिकृया:

Post a Comment