क्याम्पस र टेलिकममा तोडफोड

धरान, ८ जेठ/जातीय पहिचानसहितको संघीय राज्यको माग गर्दै आन्दोलनमा उत्रेका आदिवासी जनजातिका कार्यकर्ताले आह्वान गरेको तीन दिने बन्दको अवज्ञा गरेको भन्दै धरानमा आइतबार तोडफोड भएको छ ।
बन्दकर्ताहरुले पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, नेपाल टेलिकम धरान शाखा कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले धरानमा दुइ टेम्पो र चार मारुती भ्यान रोकेर क्षतिग्रस्त बनाए ।
बन्द आह्वान गरे पनि क्याम्पस सुचारु गरेको भन्दै ४० जनाभन्दा बढीको हुलले तीनकुने स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र प्रवेश गरेर प्रशासनिक भवनमा क्षति पु¥याएका थिए ।
बन्दकर्ताले नेपाल टेलिकम कार्यालयभित्रको बिल काउन्टर र मनिटरिङ कक्षमा पनि व्यापक तोडफोड गरेका थिए । मनिटरिङ कक्षको एउटा कम्प्युटर पूर्णरुपमा क्षति पु¥याएको टेलिकमका हेल्पर भरत राईले बताए । बिल काउन्टरमा रहेको सिसाका सबै सामान तोडफोड गरेका थिए ।
बन्दको कुनै जानकारी नदिई आदिवासी जनजाति कार्यकर्ताले नेपाल टेलिकम कार्यालयमा प्रवेश गरेर तोडफोड गरेको बताए । टेलिकममा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । सुनसरीको पाँचकन्यामा सञ्चालन भइरहेको एक विद्यालयमा पनि पुगेका बन्दकर्ता र विद्यालयका शिक्षक बीच वार्ता भएपछि तोडफोड हुनबाट बचेको थियो ।

0 प्रतिकृया:

Post a Comment