जय अन्त !

शैलेश भट्टराई
हामी नेपालीहरू केही बानीवेहोराहरूमा हाम्रा आफ्नैपनले सम्पन्न छौं । केही उदाहरणहरू हेरौं । चाहे त्यो मलामी होस् वा जन्ती वा गोष्ठी वा उद्घाटन वा सेमिनार सामान्य भेटघाट (डेटिङ्ग चाहिं हैन है! ) जहाँ सुकै होस् नेपाली टाइमको हवाला दिंदै ढिलो पुग्नु । आफू ढिलो पुगेकोमा शर्मिन्दा हुने पर्दैन किनकी त्यहाँ त नेपाली टाइम माथि थप नेपाली टाइम चलिराखेको हुन्छ । यानेकि आफैँ सबै भन्दा छिटो पुगिएको हुन्छ ।
अर्को उदाहरण – जतिसुकै खराब शासक नै किन नहोस् उसलाई शासनबाट हटेपछि पनि हामी सजाय दिन नसक्नु वा दिन नचाहनु । त्यति मात्र कहाँ हो र ? उसका भजन मण्डली र हनुमानहरू जसले जनतालाई गोली ताक्न र उसका क्रूरता ढाक्न अनि बूट बजार्न र रगत झार्न , लौरो ठोक्न र शासकको अगाडी धुपौरो बोक्नमा विद्यावारिधि नै पाका हुन्छन तिनलाई पनि सजाय दिन सक्दैनौं वा दिन चाहँदैनौं । मल्लिक आयोगको प्रतिवेदन मल बन्नु अनि दोषीहरूले उल्टै मान मनितो पाउनु र रायमाझी आयोगको प्रतिवेदनको ‘राम नाम सत्य हो’ गर्नु अनि दोषीहरुलाई राज्यले पुन: पदक विभूषणले सम्मान गर्नु यही बानीको उपज हो । लोकतन्त्र प्राप्तिको आन्दोलनले ह्याट्रिक गर्नुको पछाडी शायद यही उन्नत र चरम लोकतान्त्रिक बानी नै हो कि ! त्यसैले लोकतन्त्र पुनर्प्राप्तिको अर्को आन्दोलन फेरि नगर्नु पर्ला भन्न सकिन्न । बिगत असी बर्ष देखिनै नेपाली जनताको मुख्य काम भनेको लोकतन्त्रको लागि लड्नु अनि सफलता पाउनु फेरि लोकतन्त्रको लागि लड्नु फेरि सफलता पाउनु अनि लोकतन्त्रको लागि लड्दा लड्दै बुढो हुनु वा मर्नु भएको छ ।
यहाँ चर्चा गर्न लागेको नेपालीहरूको अर्को अनुपम बानी अन्तमा काम गर्ने बानीको हो । बेरोजगार मान्छे -जागीर खुल्यो -पैंतीस दिन भित्र फारम भरिसक्नु पर्छ। आआआआआ अझै ३५ दिन बाँकी छ पछि भरौला-शुरुमा यस्तै यस्तै भनिन्छ । आज भरौंला भोलि भरौंला भन्दा भन्दै अन्तिम दिन त आइनै पुग्यो । अन्तिम दिन फारम भर्ने साइत जुर्यो ।फारम भर्न गयो। पाँच किलोमिटर लामो लाममा लागेर, पुरै दिन माया मारेर,भोक प्यास केही नभनी फारम भर्नु प्राय: बेरोजगारहरूको नियति नै भनौं वा बानी नै हुन्छ । जागीरको मात्र होइन म्याद तोकेर सरकार वा निजि क्षेत्रले पब्लिकसंग केही काम गर्दछ भने अन्त्य अन्त्य तिर भीडमभीड हुन्छ भने अरु दिन खुल्लमखुल्ला हुन्छ । यो भीडप्रेमलाई नेपालीको मौलिक बानी भने फरक नपर्ला ।
स्कुल कलेजमा पढ्ने विध्यार्थी -शुरू शुरूमा पढ्न त्यति मन लाग्दैन वा पढिंदैन पढिंदैन। जाँचको फारम भर्ने बेला भो अलि अलि मुटुको चाल बढछ तर त्यो एक दुई दिन मै त्यतिकै हराएर जान्छ ।अब जांचको रुटिन निस्क्यो एकछिन त सातो जान्छ , मुटु ढुक ढुक गर्छ , चिट चिट पसिना आउँछ ,घरमा गएर यसो अलि अलि पढिन्छ पनि तर दिमागले पढेको कुरा पटक्कै टिप्दैन । तर यो उध्यम पनि बादलको छायाँ झैं हराएर जान्छ ।अब थालिन्छ गाइड र गेसपेपरको तलाशमा ।अलि अलि भाको पैसा भेला गरेर बजारतिर लाग्यो सबै बिषयका गेसपेपर अनि अलि गाह्रो बिषयको गाइड ल्यायो ।भित्र भित्रै दङ्ग पर्यो ।अब चाहिं पास कसो नहोइएला भन्यो । फेरि दुइचार दिन यसो पढ्यो ।गर्दा गर्दै जाँच आइपुग्यो ।सम्बन्धित गाइड गेसपेपर नोट सोट जे जे छ्न सबै बोक्यो हिंड्यो ।बेलैमा परिक्षा केन्द्र पुग्यो । त्यहाँ पनि अलि अलि छलफल अलिअलि अध्ययन गर्यो । ए गाँठे ! त्यो बेलामा अरु बेलामा भन्दा दिमाग निकै सक्रिय हुन्छ कि क्या हो ? पढेको कुरा दिमागले फूर्तिसाथ टिप्छ भन्या ! अब जाँच दिन भित्र पस्यो ।जानेको लेख्यो नजानेको यसो गोजी तिर छाम्यो हिम्मत पुगे त्यो पनि लेख्यो नपुगे आङ तानेर टार्यो । अरू नजानेको कुरा वरपरका साथी भाइलाई सोध्यो । कसैले भन्दिन्छन कसैले वास्ता गर्दैनन ।जसले भन्यो उसको कुरा यति चाँडो टिपिन्छ कि अरू बेला अलंकार भन्दा आँ पनि नबुझ्ने मान्छे त्यतिखेर त आँ गर्दा नै अलंकार बुझियो । अन्तमा यस्तो हुँदो रहेछ ।
२०६५ साल जेष्ठ १५ गते भन्दा अगाडिको धेरै समय दलहरूको संवादहीनता मै बित्यो ! संबिधान सभाको पहिलो बैठक अर्थात् त्यही १५ गते गणतन्त्रको घोषणा गर्नै पर्ने थियो । डल्लै बैशाख एक महिना अनि जेठको आधाउधि यत्तिकै बित्यो । ”आआआआ अझै निकै दिन बाँकी छ पछि गरौला नि ! आज मीत सालाको साइकल दोकानको उद्घाटन भ्याएर एउटा बुटिकको शुभाराम्भमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु छ ।” जेठ महिनाको प्रारम्भतिर लाग्दा एकजना ‘समझदार ‘ नेता यसै भन्दै थिए । ”अझै १५ दिन बाँकी छ किन आजै हतार गर्नु !फेरि सहमति हुने होइन । आफ्नो अडान छाड्ने मन पटक्कै लाग्ने होइन। आफ्नो बाहेक अरूको कुरा लोकतन्त्र विरोधी नै लाग्छ । आफूलाई म नै लोकतन्त्र अनि लोकतन्त्र नै म हुँ जस्तो लाग्छ । उही झगडा उही लफडामा किन पर्नु ? बरू आज क्यासिनोमा निम्ता छ त्यतै तिर मोज गर्नु पर्ला अस्तिकोले धीतै मरेको छैन ।” अर्का ‘इज्जतदार’ नेता चाहिं यसो भन्दै थिए । बिस्तारै बिस्तारै समय घर्कंदै गयो । अब संबिधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणा नगरी नहुने भयो । येन केन प्रकारेण गर्नै पर्ने भयो । भूपी शेरचनले ‘हामी’ कवितामा ”हामी आफू खुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइदिनु पर्ने” भने झैं अन्तमा शायद कसैले मिलाइदिएर होला सहमति भयो गणतन्त्र घोषणा भयो । यसरी अन्तमा नै कुरो मिल्नु हाम्रो मौलिक बानी हुँदै आको छ ।
अब कुरा गरौं हालसालैको । संबिधानका आङ नै जिरिङ्ग हुने त्यत्रा विवादित मुद्दा सबैमा सहमति भयो । चार बर्षमा नभाको काम चार दिन मै चट ! यसो हेर्दा, नेतागणलाई केर्दा, कुरो मिल्ने छाँट देखिएकै थिएन संबिधानको जग लेखिएकै थिएन । अझ राष्ट्रिय सहमतिको सरकार त्यो पनि सबभन्दा ठुलो दल यानेकि माओवादीको नेतृत्वमा -यो त झन् असम्भव नै थियो, नेपाली जनताको महत्वकांक्षाको हद नै थियो ।तर सब कुरो मिल्यो सब सम्भव देखियो । यो सबै चमत्कार कसरी भो ? उत्तर हो -उही भूपी शेरचनको कविता ‘हामी’ र अन्तमा मात्रै काम गर्ने हाम्रो सनातन देखि चलिआएको बानी !! भैरव अर्यालले भूँडीको महिमा गाउँदै जय भूँडी भने जस्तै अन्तिममा काम गर्ने हाम्रो राष्ट्रिय बानीलाई जय अन्त किन नभन्ने ? त्यसैले जयन्त !!(अनलाइनखवर)

0 प्रतिकृया:

Post a Comment