आखिर झुप्रा त झुप्रै रहे नि – दोस्रो लेख

रुद्र निरौला
शिशिर ऋतुको पतझड र तुवाँलो लागेको क्षितिज । फुङ्ग उडेको उराठिलो वातावरण र कर्कस पुनरावृत्ति गरिरहने रेडियो टेलिभिजनका कर्ण विदीर्ण गर्ने अलापहरु अब अनाश्यक भइ सके । पत्रपत्रिकाका अनगन्ती सुस्केराहरु र आँखा अगाडि प्रत्यक्ष देखिने परिदृष्य अहिले कहाली लाग्दा बज्रपात बनेका छन् । भन्न सबैलाई छुट भएका कारण शीत युद्ध चल्दो रहेछ । कसैले कसैलाई भन्न बाँकी राखेनन् । बोल्न हुने नहुने केही ध्यान छैन । कसलाई सम्मान गर्नुपर्ने र कसलाई तिरस्कार गर्नुपर्ने ? कसैलाई चासो छैन । सिंगान पुछिएको र नाक काटिनुको टुङ्गो भएन । को ठूलो ?, को सानो ?, को महान् ?, को नीच ? केही प्रवाह रहेन । प्रजातन्त्र भनिए पनि जनता र शासकका बीचको दुरता झन् बढ्यो । झुप्रामा बास बसेका र दुई छाक टार्न धौ–धौ हुनेहरुका टाउका मचमच कुल्चिएर आलिशान शिशमहलपतिहरु सर्वहारा वर्गका नेता भएका कारण नवधनाढ्यहरुको उन्मादपूर्ण चहनपहल अब नेपाली झुप्रा र बुकुराले आँक्न सक्ने विषय नै भएनन् । भ्लाभिमिर पुटिनले पुनः राष्ट्रपति पद जित्नु र हिजो बाराक ओबामाले अमेरिकाको राष्ट्रपति पद प्राप्त गर्नुले सर्वहारा वर्गले दुईदिन तिघ्रा ठटाएर उफ्रनु बाहेक केही पाउने होइनन् । बाघ बुढो भए पनि घाँस खाँदैन भन्ने उखान जस्तै भयो नेपाली राजनीति ।
राणाले मल्ल र लिच्छवीलाई सरापेको पाइँदैन तर राणाया नेपाली सत्तामा रहने र सत्तामा बाहिर रहनेले जहिल्यै दुई वटा दर्जा कायम गर्दै आए छन् । पृथ्वी नारायण सवल हुँदा भुरेटाकुरे पीडित भए । राज्य एकीकरण भयो । नेपाली दिग्जिय बन्दै पश्चिममा किल्ला काङ्गडा, पूर्वमा टिष्टा, उत्तरमा केरुङ्ग र दक्षिणमा गङ्गातट सम्म पुगेको एकताको उदाहरणसँगै शाहवंशीय राजकूल कमजोर बनेको र दरबारीय षड्यन्त्र भएका कारण हालको नेपाली सीमा भित्र सङ्कुचित बन्नु परेको दुःखद् परिणती पनि हाम्रा सामु छ । नेपाली राजनीतिमा शक्ति दुराग्रही प्रवृत्ति अनेक पटक उदय हुने गरेको छ । हाम्रो भूगोल र सामाजिक संरचना त्यति सहज छैन जति नेपाली नेताले नेपाल पढेका छन् । नेपालको राजनीति गर्न दिल्ली र वासिङ्ग्टनको पाठ पर्याप्त हुँदैन । नेपाल पढ्न सक्नुपर्छ । नेपालको कुनै एउटा थात थलोमा हरिया विदेशी डलर भएको देखेर छुट्टै राज्य माग गर्ने र राज्य उद्घोष गर्दै हिँड्ने नेता भस्माशुरले हत्तोहैरान पारेको धतुरे शिवको हालत खेप्न विवश हुनेछन् ।
राज्य न्यायिक पद्धतिले सम्भ्रान्त बन्ने हो । राज्यका तीनवटै एकाईमा आपसी सद्भाव र समन्वय हुनुपर्छ । आज विधायिका सभाना जुन भीड तन्त्र पु¥याइएको छ, त्यो दलला, भ्रष्ट अवसरवाद र संकीर्णताको मानसिकताले ग्रस्त छ । मन राख्न सक्ने दल र दलीय चरित्र हराएको छ । एकले अर्कोलाई धारेहात पारेर सरोपेको छ । यो कुन सभ्य राजनेताको गुण हो ? छ सय एकको एउटा जमात छ । केवल छेपारे चरित्रमा । कुनै रङ्ग रोगनको टुङ्गो हुँदैन । भुपेन्द्रमान शेरचनको कविता जस्तै चरित्र छ तिनको । बालुवाटारको घुम्ने कुर्सीबाहेक तिनलाई नेपाल छ भन्ने लाग्दै लाग्दैन । पञ्चले सत्तो सराप गरेका राणाहरुले नेपाली जनताको खुन पसिना लुटेर बनाएका सिंहदरबार, केशरमहल, बबरमहल, सित्तल निवास आदि अनेक संरचनामा आज युग हाँक्छौ भन्नेहरु बाघको छालमा स्यालको रजाई जमाई रहेका छन् । यिनले उपयोग गरेका बालुवाटार, पेरिस दरबार तथा सानेपा दरबार र यस्तै सर्वनामका दरबार पनि कुनै भगवान खुशी भएर यिनलाई बरदान प्राप्ति भएका अवश्य नै होइनन् । त्यहाँ पनि मेची महाकाली भित्रका गरीब युवावर्गहरुका रगत र पसिना सजिएकै होलान् । दुई तिहाई बहुमत ल्याउने कांग्रेस, चौद्ध महिना भन्दा बढी आफ्नो सत्ता टिकाएर एउटै कार्यवधि पूरा गर्न नसकेकै पार्टी भित्र चिनिन्छ । कम्युनिष्टहरु चिरा पर्न सिपालु छन् यिनलाई चोइटिन राम्ररी आउँछ । जो आजका कम्युनिष्ट पार्टीका नाम, सर्वनाम र विशेषण हेरे पुग्छ । पञ्चले छोडेका केही डोबहरु छन् । श्रृंखलागत इतिहास हेर्दा प्रधानमन्त्रीका सूचिमा नेपालका सबै वर्गको प्रतिनिधित्व भएको छ । कांग्रेस कम्युनिष्ट पञ्च सबैका आफ्ना–आफ्ना मन्त्री प्रधानमन्त्रीहरुको लिष्ट छ ।
सबै ब्याज खाएर बस्नेमात्र । सत्ता वरिपरी गणेश परिक्रमा मै दसकौँ बिते तर राज्यमा शान्ति, मैत्री सम्वृद्धि र सुशासन देखापर्ने लक्षण छैन । फूलमालाको भारी बोक्यो टेलिभिजनका पर्दामा देखाप¥यो अरुलाई सक्दो सराप ग¥यो, आफू चोखो । यो खेल अब नेपाललाई आवश्यक परेन । यसले न साग जित्ने भयो न ओलम्पिक नै । देश र जनतालाई बन्धक बनाएर विश्वभरी भिक्षाटन गर्नु र जनताको रगत पसिनामा होली खेल्ने क्रुर तानाशाहहरु अब नेपाली जनताले पाल्ुन आवश्यक छैन ।
तर खोई नेपाली जनतामा चेनता । खारामा राजनीतिक गर्नेहरु बालुवाटारमा छिरेपछि खारा बिर्सन्छन् र दिल्ली एवम् वासिङ्ग्टनसँग साइनो जोडेर नेपाल बनाउने हिङ हाँक्छन् तर एउटा तुइन चुँडिएका ठाउँमा पुल बनाउन सक्दैनन् । त्यहाँका जनताले एउटा पुल मागे, एउटा उपचार गर्ने स्वास्थ्य चौकी मागे, बालबालिका पढाउने स्कूल मागे, दुई छाक खान र एकसरो आङ ढाक्ने कपडाका लागि वातावरण बनाइदेउ भने तर मन्त्री, प्रधानमन्त्री र देश त मागेनन्् नि ! मधेसीहरुलाई समूहगत शैन्य प्रवेश, एक मधेस एक प्रदेश चाहियो, मन्त्री चाहियो, भ्रष्ट तन्त्र निर्वाह चलाउने माग चाहियो आज सरकार टिकाउन पचासको संख्यामा मन्त्रीहरु राखेर मितव्यायिताको उद्घोष गर्ने वर्गको दाइँ छ । यो नपुंसकहरुको दाइँबाट देशले एउटा संविधान भेट्ला त ? होइन भने झुप्रा त..... ।

0 प्रतिकृया:

Post a Comment