आगलागीमा ५५ घर जले

लाहान, फागुन २९/सिराहाको दक्षिणपूर्वी नहरा रिगौल गाविस–३ नरहा टोलमा शनिबारराति आगलागी हुँदा ५५ घर गोठ जलेका छन् । आगलागीमा करिब रु ६० लाख बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
राति करिब ८ बजेको समयमा स्थानीय रामकृपाल यादवको घरको भान्साबाट निस्किएको आगोको झिल्कोले आगलागी भएको स्थानीय केदार यादवले बताए ।
आगलागीमा भिखन यादव, कुसुमलाल यादव, श्यामसुन्दर यादव, चन्देश्वर यादव, बिल्टु यादव, शत्रुघन यादव, महेन्द्र यादव, रामदयाल यादव र केशर यादवलगायतको घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बेस क्याम्प इनरुवा ठाडीका प्रहरी निरीक्षक रामजङ्ग पाण्डेले जानकारी दिए । आगो स्थानीय गाउँलेसहित ठाडीस्थित सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय महेशपुर र गमहरियाका प्रहरीसहित लाहान र
राजविराजबाट पुगेका वारुणयन्त्रले करिब २ घन्टापछि निभाएका थिए ।
राति आगलागी भएकाले घरमा भएका अन्नपात, लत्ताकपडासहितका सामग्री जलेर नष्ट भएको छ । घटनास्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक पाण्डेले थप घरमा आगलागी हुन नदिन वरपरका करिब २० घर भत्काइएको जानकारी दिए । आगलागीपीडितहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । घरमा भएका सबै सामग्री जलेपछि अग्नि पीडितको बिचल्ली भएको छ ।

0 प्रतिकृया:

Post a Comment