महिला हत्याको आरोपमा गिरफ्तार

पाँचथर, फागुन २९/सिवा गाविस–३ की ३४ वर्षीया रमादेवी आलेमगरको हत्या भएको रहस्य खुलेको छ । उनलाई १० दिन अघि राति सोही ठाउँका जेठाजु ५० वर्षीय जहरमान आलेमगर, १८ वर्षीय सुभराज नेम्बाङ, इम्बुङ गाविस–९ का ४१ वर्षीय बसन्त तामाङ र बसन्तकै पत्नी ३६ वर्षीया सञ्चमाया तामाङले घाटी निमोठेर हत्या गरी भिरमा लगेर फालेको रहस्य खुलेको छ ।
भीरबाट लडेर मृत्यु भएको भनिएका मगरको लास गत फागुन २० गते बिहान घरबाट दक्षिण तर्फ ५० मिटर टाढा गोरेटो बाटोबाट ९ मिटर तल झरेको अवस्थामा स्थानीयबासीहरुले फेला पारेका थिए ।
छोरीको मृत्यु रहस्यमय र शंकास्पद रहेको भन्दै मृतकको बुवा इलाम जिल्ला फुएतपा गाविस–६ का नरबहादुर रानामगरले २०६८ फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको माग गर्दै निवेदन दिएपछि २०६८ फागुन २४ गते आरोपितहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
अनुसन्धानको क्रममा आरोपितहरुले  कुटपिट गरी घाँटी निमोठेर महिलाको हत्या गरी भीरबाट फालेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय पाँचथर अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । आरोपितहरुविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको समेत पौडेलले बताए ।

0 प्रतिकृया:

Post a Comment