लिम्बुवान नस्वीकारे अस्तित्व स्वीकारिन्न : लिङ्देन

दमक, चैत्र १६/मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले लिम्बूवानको अस्तित्व नस्वीकार्ने र भूमी टुक्र्याउन खोज्नेहरुको अस्तित्व नस्वीकारिने चेतावनी दिएका छन् ।

बुधबार झापाको दमकमा परिषद्को दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेले लिम्बुवानको अस्तित्व नस्वीकारेको र माओवादीले अरुणपूर्व ९ जिल्ला लिम्बुवान भूमी  टुक्राउन खोजेको आरोप लगाए । उनले निकट भविष्यमै ठूला भनिएका पार्टीहरु कागज जस्तै धुजा–धुजा हुने समेत दाबी गरे ।
राज्य पुनर्संरचना आयोग र संविधानसभाको राज्यपुनर्संरचना समितिले समेत लिम्बुवान राज्यको खाका प्रस्तुत गरिसकेको अवस्थामा ठूला भनिएका दलहरुले लिम्बूवान राज्य अस्वीकार गर्नु बेठीक रहेको भन्दै लिम्बुवानवासीले त्यसको मूल्याङ्कन गर्ने बताए । ठूला राजनीतिक दलहरुले सीमित स्वार्थ प्राप्तिको लागि मात्र संघीयताको कुरा सारेको आरोप लगाउँदै लिम्बुवान बाहेक अरु कसैले पनि संघीय राज्य स्थापना गर्न नसक्ने दाबी गरे ।
कार्यक्रममा परिषद्का अर्थसचिव सुरेन्द्र निङ्लेकु, महिला विभाग प्रमुख शान्ता योङहाङ, राम चेम्जोङ, भानु भट्टराई लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले लिम्बुवान एकात्मकवादी सत्ताबाट मुक्त हुन सबै लिम्बुवानवासीका लागि आवश्यक रहेको तर्क राखेका थिए ।
कार्यक्रमकाबीच विभिन्न सांगीतिक मनोरञ्जन, गीत, नृत्य समेत प्रस्तुत गरिएको थियो । परिषद्का दमक नगर इन्चार्ज मोहन बेघाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा परिषद्का केन्द्रीय सदस्य धनराज सुब्बाको सञ्चालन रहेको थियो । यसैबीच नगर भरीका १ सय प्रतिनिधि र २ सय पर्यवेक्षक गरी कूल ३ सय जना सम्मिलित सम्मेलनको बन्दसत्र बुधबार साझबाटै दमकस्थित मारवाडी सेवा समितिको हलमा सुरु भएको इन्चार्ज बेघाले जानकारी दिएका छन् । बन्द सत्रमा आर्थिक र सांगठानिक प्रतिवेदन पारित गर्ने तथा नयाँ नेतृत्व चयन हुने उनले बताए ।

0 प्रतिकृया:

Post a Comment