एस.एल.सी. समिक्षा र टिप्पणी – पहिलो लेख

टंक पाठक
२०६८ सालको एस.एल.सी. परीक्षा सकियो भने पनि हुन्छ । प्रत्येक वर्ष एस.एल.सी. परीक्षा आउनु केही दिन अगाडि देखि नै ठूला–ठूल होङ्गा मचाइन्छ । विद्यार्थीहरुलाई र अभिभावकहरुलाई त्रासैत्रासले मानसिक पीडा राज्य पक्षले ल्याइदिन्छ । अनि त्यो केशरमहलले पनि विद्यार्थीहरुले जङ्गलबाट गर्जदैँ गरेको बाघ आफ्नै अगाडि आए जस्तो महसुस गर्दछन् । प्रश्न पत्र विदेशमा छाप्ने, केन्द्राध्यक्ष, निरीक्षक र परीक्षार्थीलाई कार्यवाही गरिने, सुरक्षा निकाय कडा पारिने, परीक्षाका लागि मोटो रकम खर्च गर्ने र फलामे ढोका जस्ता होहल्ला राज्य पक्षले मच्चाउनु सम्बन्धित पक्षलाई त्रसित र आतङ्कित बनाउने गरिन्छ । कक्षा १,२ लगायत सबै तहको परीक्षालाई चाही कुन ढोका भन्ने ? उनीहरुको परीक्षाको चाही केही महत्व छैन र ? त्यो के वाँसको ढोका हो ? कक्षा–१० को मात्रै फलामे ढोका ? राज्य वा केशरमहलले हेर्दा र महत्व दिँदा एस.एल.सी. लाई मात्रै हो ? एस.एल.सी. मा त दश वर्ष पार गरेर विद्यार्थी पुगेका हुन्छन् । त्यो कक्षा १ मा एक वर्ष मात्र विद्यालयमा गएका हुन्छन् । झन् फण्डेशनलाई हेर्नु र महत्व दिन पर्ने होइन र ? अनि कतिपय शिक्षक मित्रहरु पनि एस.एल.सी. आउन पन्ध्र बीस दिन छ भन्दा सुपरीटेन्डेन्ट, भिजिटरका लागि शिक्षा कार्यालय, संघ संगठन, एन्टो, परिषद् र पहुँचवालासँग धाउने आफूलाई पायक पर्ने केन्द्रमा केन्द्राध्यक्ष बनाई माग्ने र भागवण्डा मिलाउने कार्य समेत भएको देखिन्छ । पायक पर्ने केन्द्र नभए नजाने पनि केही मित्रहरु छन् । त्यस भित्र पनि केही न केही त हुनै पर्छ । वर्षै पिच्छे विभिन्न जिल्लाहरुमा केन्द्र निर्धारण केन्द्र्राध्यक्ष निरीक्षक राख्ने प्रणाली आफ्नै तालका छन् । यसले गर्दा पनि संवद्ध पक्ष आतुर हुने गरेका छन् । त्यसमा पनि बढी मात्रामा परीक्षार्थीहरु । ठूला–ठूला स्वरले कराइन्छ परीक्षालाई व्यवस्थित र मर्यादित भनेर तर विशेष गरी झापा मोरङ जिल्ला बाहेक काही पनि त्यस्तो मर्यादित तरिकाले सञ्चालन गरेको पाइँदैन । यस पालि त सबैलाई थाहा भएकै होला परीक्षा कस्तो भयो भनेर । सिराहा, सप्तरी, धनुषा, महोत्तरीमा भन्नु हुन्छ भने पैसाको चलखेलमा लागेर केन्द्राध्यक्षहरु नै चिट चोराउने कार्यमा संलग्न भएका पाइन्छ । झापामा विद्यार्थी निष्कासन केन्द्राध्यक्ष र निरीक्षकलाई कार्यवाही गरेको यसपाली त्यति सुन्नमा आएन भने अरु जिल्लाहरुमा विद्यार्थी निष्कासन र केन्द्राध्यक्ष र निरीक्षकलाई कार्यवाही गरेको सुन्नमा आयो । धेरै स्थानमा गोली नै चले, झडप भयो, लाडी चार्ज भयो । सधैँ किन यसप्रकारको कार्यले प्रमुख स्थान पाउँछ ? यो हुनु पर्छ राज्यकै गलत प्रक्रिया र गलत नीतिकै उपज हो । सुरक्षाका लागि खटाएका प्रहरी द्वारासमेत केही जिल्लाका केन्द्रमा धमाधम चिट चोराइएको खबर समेत प्राप्त भएको पाइयो । झन् यसपाली त टेष्ट परीक्षा काही लिइएन भने परीक्षा लिइएका जिल्लाहरुमा डेक्स बेन्चलाई नै पास गराइयो । अनि एस.एल.सी. परीक्षामा घाटी निमोठ्ने कार्यको मजन गाइयो । यस पालीको यो परीक्षामा निजी विद्यालयहरु पनि अति सक्रिय भएको चर्चामा आयो । निजी विद्यालयहरुले शैक्षिक गुणस्तर कायम गर्न भरमजदुर प्रयासरत भएकै देखिन्छ नै । हुन त उनीहरुले व्यवसायिक सिद्धान्त अवलम्बन गरेका छन् । उनीहरुमा आपसी ठूलो होडबाजीको चलखेत चलिराखेकै छ । त्यो होडबाजी भइ नै राख्छ । त्यो खेल भएन भने भोली विद्यार्थी शुन्यमा झर्ने सम्भावना हुन्छ । त्यसैले यो परीक्षामा टेष्ट परीक्षा भए पनि कसैलाई फेल गर्न नपाइएकोले एस.एल.सी. राम्रो अङ्क नल्याउँदा र फेल हुनेको संख्या बढ्ने डरले होला निजी विद्यालयका जिम्मेवार पक्षको सक्रियता देखिनु । अर्को पक्ष एस.एल.सी. परीक्षा मर्यादित हुन नसक्नु शिक्षकहरुलाई दोष थुपार्नु शिक्षा प्रणाली भित्र सम्बन्धित निकायको छाडापन र लापर्वाहीले पनि हो । बुझ्नै भएको छ नि २०४६ साल पछि मात्र मात्र कति जना र शिक्षामा सुधार गर्ने थोपडा भएका शिक्षा मन्त्री आए । खाली मन्त्री हुन पाए भयो । न त शिक्षा नीति देश सुहाउँदो छ न त अनुगमन र मूल्याङ्कन गर्न सकेका छन् । व्यवसायिक, रोजगारमूलक र वैज्ञानिक पद्धतिको शिक्षा लागू गरेर प्रत्येक कक्षा र एस.एल.सी. परीक्षामा सृजनात्मक र मौलिक ढङ्गका प्रश्न पत्र तयार गर्नु र उत्तर सबै प्रयोगात्मक अनि मौलिक ढङ्गबाट लेख्ने काम भएको खण्डमा काही कतै केही चोर्नै पर्दैन । किताब दिए पनि के हुन्छ र ? नत्र भने एस.एल.सी. मा मात्रै होइन त्यसदेखि उच्च शिक्षामा चोर्ने बानीको विकास कायम रहन्छ । पढ्ने र पढाउने वातावरण पनि त्यति ठीक छैन । पास सबैलाई चाहिएको छ । किन नचोर्ने र नचोराउने ? अब त नियमावली परिवर्तन हुने कुरो छ । एस.एल.सी. सायद नहोला तर १२ कक्षालार्ई फाइनलको रुपमा लिँदा त्यहाँ पनि धाँधली हुँदैन भन्न सकिन्न । पुस्तक पसलेका अनुसार यसपाली गेस पेपर अरु साल भन्दा धेरै बिक्री भए अरे अब भन्नुहोस् परीक्षा कस्तो भयो होला ?

0 प्रतिकृया:

Post a Comment