चियामा कर वृद्धिको विरोध

इलाम/तयारी चियाका लागि जिल्ला निकासी करमा अत्यधिक वृद्धि गरिएको भन्दै इलामका चिया व्यवसायी विरोधमा उत्रिएका छन् ।
जिल्लाका अधिकांश कारखानाले कर वृद्धिले व्यवसाय सङ्कटमा पर्ने जनाएका छन् । जिल्लाका २९ सानाठूला चिया कारखानाले मङ्गलबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका छन् ।
एकै पटक सय प्रतिशत कर वृद्धि गर्दा चिया उद्योगी, व्यापारी, साना किसान, कर्मचारी, मजदुरलगायत प्रभावित भएको विरोधपत्रमा उल्लेख छ । गएको वर्ष तयारी चियामा प्रतिकिलो एक रूपैयाँ निकासी रहेकामा यो वर्ष प्रतिकिलो दुई रूपैयाँ तोकिएको छ ।
जिल्ला विकास समितिले भने १० वर्षदेखि कर वृद्धि नभएकाले यो पटक वृद्धि गरिएको जनाएको छ । ‘१० वर्षदेखि मूल्य नबढाइएकाले एक रूपैयाँ मात्र वृद्धि गरेका हौँ’– जिविसका लेखाअधिकृत दिनेशकुमार पोखरेलले भने – ‘जिल्ला विकास योजना र परिषद्का समयमा बोलाउँदा नआउने, अहिले निकासी कर बढ्यो भन्नु भएन नि त ।’
चिया व्यवसायीले प्रतिकिलो ४० पैसा मात्र तिर्न सक्ने बताएका छन् । एउटै कारखानाले ठूलो परिणाममा चिया उत्पादन गर्दा
कर तिर्न मुस्किल हुने अन्तु टी प्रोड्युसर्स प्रालिका ओम काफ्लेले बताए । जिल्लामा वार्षिक ३५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । उद्योगीले पनि करको बहानामा हरियो चियापत्तीको मूल्य कम दिने गरेको किसानको गुनासो छ । वृद्धि गरिएको कर पुनः मूल्याङ्कन नगरिए चिया व्यवसायीले कारखाना बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

0 प्रतिकृया:

Post a Comment