गाईवस्तु पशु नभई मान्छे नै हुँदैछन्

टंक पाठक
पाडाजुङ्गीदेखि विशेष गरी माइधारसम्म पूर्व पश्चिम राजमार्ग अन्तर्गत सवारी साधनबाट बढी दुर्घटना भई राखेको कुरो हामी सर्वसाधारण जोकोहीले सुन्ने गरेकै छौं । दुर्घटना पनि दैनिक जसो भइराखेको छ । दुर्घटनामा केही लापर्बाही सवारी चालकबाट पनि भयो नै होला, तर बढी मात्रामा दुर्घटना हुने कारण पूर्व पश्चिम राजमार्ग दक्षिणपट्टिका गाउँ टोलमा बसोबास गर्ने मानिसका पाल्तु जनावरबाटै भएको कुरो प्रष्ट छ । भर्खरै मात्र मेरो एउटा विशेष कामले चन्द्रगढी जाने काम प¥यो र दमकदेखि कुनै एक बसमा चढी यात्रातिर लागेँ । जब पाडाजुँगीको सशस्त्र क्याम्प अगाडि पूर्वतिर बस लाग्यो राजमार्ग उत्तरतिरको वनमा गाईवस्तु बाख्रा खसी चराउनको लागि खुल्ला रुपले ती चौपायाहरूलाई लखेटेको देख्न थालियो । गोठालाका रुपमा पाँच छ वर्षदेखि वृद्धसम्मका र कोही निकै टाठाबाठासम्म देखिने महिला पुरुष देखिन्थे । ती बालबच्चालाई आफ्ना गाईवस्तु राजमार्ग कटाउन हम्मे हम्मे सम्म परेको देखिन्थ्यो । राजमार्गको आसपासमा अरु सुँगुर पाठाहरू पनि देखिन्थे । यो समय करिब बिहानको ९ बजेको अनुमान गर्न सकिन्थ्यो । गाडीको रफ्तार अगाडि बढ्दै थियो, विपरित दिशाबाट पनि विभिन्न किसिमका सवारी साधन ती चौपायालाई जोगाउँदै हुत्तिँदै आउने क्रम थियो । पूर्व जाने पनि अन्य सवारी साधन प्रशस्तै देखिन्थे । जब डुँडामारी के आउन लागेको मात्र थियो म चढेको गाडी एक्कासी ब्रेक लाग्यो । सबै पछिल्तिरका मान्छे हुत्तिए अगाडि आए, केही उत्तानो परेर पछारिए । केही घाइते भए भने चालक किंकर्तव्य मुढमा देखिन्थे । म चाँहि सीटमा बसेको हुँदा सामान्य दखलमात्र भोग्न पुगेँ । किन यस्तो भयो भन्ने हलचल हुँदा अलि अगाडितिर विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल उत्तानो परी लगेको र त्यसमा सवार गर्ने एक बालक र महिला सडकमा रक्ताम्मे भएर लडेको दृश्य देखियो र चालकको हात फ्याक्चर भएर होला, त्यो मोटरसाइकल अन्य मान्छेले उठाउँदै गरेको र ती घाइतेलाई अस्ताल लग्न अन्य सवारीसाधनलाई त्यहाँ उपस्थित केही मानिसद्वारा हार गुहार गरेको देखिन्थ्यो । त्यो घटना तिनै चौपाया पशुबाट भएको देखिन्थ्यो भने आफू चढेको गाडी पनि झण्डै पल्टेको त्यही कारण थियो । अनि बसमा असर परेका यात्रुबाट के आवाज गुञ्जिरहेको थियो भने, यहाँका पशुपालक मान्छे अपराधी हुन् । गाईवस्तु होइनन्, यहाँका मान्छे पशु हुन् । गाडीहरू आएको देख्दा देख्दै गुडुडु गाईवस्तु लखेट्तै बाटो कटाउने र अवरुद्ध पार्ने । गाई वस्तु सबैले पाल्छन् तर दुनियाँलाई दुःख दिएर किन पाल्नु ? बुद्धि सुद्धि सकिएकाहरू । एकजनाको मात्रै यस्तो भनाई थिएन, प्रायः सबै यात्रीहरूको आवाज एउटै थिथयो । मेरो पनि ती यात्रीहरूको भनाईप्रति मौन सहमति थियो । हाम्रो सवारी सधान प्रत्येक गौडा–गौडामा पशुहरूको अवरोधलाई जोगाउँदै माईधार पुग्यो र त्यसपछि गाडीले अलि रफ्तार लियो । अन्यत्र यस्तो पशुको अवरोध कतै पनि देखिँदैन थियो । घर दमकमा परेकोले चन्द्रगढीबाट तीन बजेको गाडी चढेर घरतर्पm आइयो । अन्यत्र कतै छैन, झिलझिले कटेपछि तिनै गाईवस्तु राँगा घरतिर फर्काउँदै गरेको दृश्य देखिन्थ्यो । अनि आफूलाई केही हिनताबोध हुँदै डर त्रास लाग्थ्यो, घर नपुगी कहीँ कतै दुर्घटना त हुँदैन ? मनमा घटनाका रङ्गीन तरङ्गहरू आउने गर्दथ्यो । 
केर्खा बजार कट्ने बित्तिकै हुँदै दिशातर्पmबाट आएका सवारीसाधन रोकिराखेका देखिन्थे । एउटा नेता जस्तो देखिने व्यक्ति अगाडि हात उठाउँदै अघि बढ्दै थियो । त्यहाँ पाँच सात जना कानमा मुन्द्रा लगाएका लामा लामा कपाल भएका युवा जस्ता देखिने मानिस गाडी रोक्दै थिए । हाम्रो गाडी पनि अलि पछि रोकियो । आवाज आउँदै थियो, चक्काजाम, चक्काजाम । किन के रहेछ भनी अलि अगाडि आएर म लगायत केही हाम्रा बसका यात्रीले हेर्न जाँदा एउटी महिलाले गाडीले मारेको एउटा बाख्राको पाठी लिएर कराइराखेकी थिईन् र यस्तो भनाई पनि आइरहेको थियो “यस पाठीको मोल पन्ध्र हजार तिर्ने भए गाडी खोलिन्छ, नत्र खोलिँदैन” । एक जना यात्रीले भने किन यस्ता मुला पाठीको दाम के को पन्ध्र हजार, पुलिस बोलाउनु पर्छ अब ?” ती महिलाले सबैले सुन्ने गरी भनिन्, मलाई मेरो पाठीको दश हजार ती गाडी रोक्ने भाईहरू नचिने पनि पाँच हजार मागेका छन् । अनि यो पाठीले कति बोका जन्माउँछ र ती बोकाको दाम कति हुन्छ ? म त्यसै छाड्दिनँ ? हामी त्यही हुँदाहुँदै एउटा भ्यानमा पुलिस आएको देखियो । त्यहाँ के भनाई सुनिन्थ्यो भने चक्काजाम गरेको २० मिनेट भयो, बल्ल पुलिस आए । यस्ता पुलिसले अनि के जनताको सुरक्षा दिन्छन् ? ढिलै पुलिस आएपनि मार्ने गाडीका चालकलाई के कति रुपैयाँ जरिवाना गराएर पाठी तिनै महिलालाई जिम्मा लगाएर डाङ्ग डुङ्ग गर्दै गाडी खोलेपछि हाम्रो गाडी पनि पश्चिमतर्पm बढ्यो र म पनि घर आइपुगेँ । स्मरण रहोस्, वास्तवमा यस प्रकारको घटना दिनानुदिन केही न केही, कुनै न कुनै प्रकृतिबाट ती स्थानहरूमा घटिरहेको चर्चा सुन्न पाइन्छ । यो वास्तविक र यथार्थ हो । यो क्षेत्र किन यस्तो छाडा पशुको व्यवहारले विभिन्न दुर्दशा व्यहोर्नुपर्ने ? वन विभागले आफ्नो सरकारी वनलाई गौचरनमा रुपान्तरित गर्दैछन् ? किन गाउँलेसँग कमिसनको खेती वन विभागले गरेको त छैन ? किन त्यहाँका मान्छे आफै पशु बन्दैछन् ? प्रत्येक दिनको घटना तिनीहरूले बुझेको छैन र ? किन सडक विभाग र प्रशासन मौन छ ? जब यस्ता घटना हुँदै गर्दा ? ती पशुपालन गर्ने महासयहरूले अरुलाई दुःख दिएर पशुपालन गर्दा मन सधैं शान्त हुन्छ ? सबैले पशुपालन गरेका छन्, पाल्नु पनि पर्छ तर आफ्नो क्षेत्राधिकार भित्र रहेर पाल्नुपर्छ । के त्यस्ता ठाउँको समाजको विवेक हुँदैन ? के त्यहाँ केही लेखपढ गरेका र यसो नेता हौं भन्ने जस्ताको अभाव छ ? गोठालाहरूको त त्यति बुद्धि नहोला, गोठका धनीको त केही ज्ञान होला नि, कि छैन ? कि एउटा जनावर म¥यो, त्यसलाई ठगी खाने भाँडो बनाइयो, अब पनि त्यस्तै होइन ? पशुले गर्दा कतिको ज्यान जोखिममा परेको छ र सवारी साधन तोडफोड भएको छ, त्यो ज्ञानको बिर्को कसले र कसको खुल्ने ? स्मरण रहोस्, विदेशतिर कुनै छाडा पशुले सवारी साधन र बाटो अवरोध गरे, राज्यले तुरुन्तै त्यस्ता पशुहरूलाई लगेर ढाट या अन्य कुनै व्यवस्थाबाट नियन्त्रण गर्छ । यो देशमा यसका लागि नियम छैन ? किन सरकारी वनमा छाडा मान्छे र पशुको रजाई ? अब हुने जोखिम र दुर्घटनाको जिम्मेवारी को हुने ? यसलाई सम्बन्धित सबैपक्षबाट यसको छिट्टै जिम्मेवार राज्य पक्षका सम्बन्धित निकाय र पशुपालकहरूले लिनुपर्छ । गाईवस्तु नभएर पशुपालक नै पशु भएको भनाईलाई सावित नहोस् । पशु पशु नै हो, मानिस उत्तम र चेतनशील, विवेकी प्राणी हो ।

0 प्रतिकृया:

Post a Comment