बाढी पहिरोमा परी १० जनाको मृत्यु

पिपुल्स टाइम्स समाचार
झापा/दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार जनधनको ठूलो क्षति भएको छ ।
ललितपुर पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ भने अर्का एकलाई भेलले बगाएको छ । कालेश्वर ५ मा पहिरोमा पुरिरर करिव २०–२१ वर्षका सोनाम घलान र १८ वर्षकी ललिता घलानको मृत्यु भएको छ ।
पानी परेपछि घर छेउको ठाडो खोल्सीमा आएको भेल बारीमा लगाउन खोज्दा उनीहरुलाई पहिरोले पुरेको थियो । प्रहरी टोलीले उद्धार गर्ने क्रममा दुईको शव भेटिएको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी पवन गिरीले जानकारी दिए ।
यस्तै भट्टेडाँड–३ को तनपाने भञ्ज्याङ ग्रिनचुलीमा भेलले बगाएर २५ वर्षका दिपक लोको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर भेलले बगाएका उनको शव प्रहरीले करिव ३ घन्टापछि फेला पारेको छ ।
त्यस्तै जाजरकोट, सिन्धुली, उदयपूर र सिराहामा गरि थप ७ जनाको ज्यान गएको छ । बाढीले बगाएर दुईजना बेपत्ता भएका छन् ।
यसैबीच रौतहटमा बागमती नदीले निरन्तर कटान गर्दा नदी किनाराका बस्तीहरु उच्च जोखिममा छन् । त्यहाँको मध्यधार भन्ने टापुका बासिन्दा जोखिममा परेपछि उनीहरुलाई उद्धार गर्न जान खोजेको हेलिकाप्टर समेत फर्किएको छ । भिजिबिलिटी नपुगेको भन्दै हेलिकाप्टर जान नसकेपछि स्थानीय प्रशासनलाई अन्य उपाय लगाएर बासिन्दाको ज्यान जोगाउन निर्देशन दिइएको छ । सिराहा र जाजरकोटमा पनि हेलिकाप्टर लगेर उद्धार गर्न खोजिएको तर हेलिकाप्टर जान नसकेको गृहमन्त्री बामदेव गौतमका प्रेस संयोजक विश्वमणी सुबेदीले जानकारी दिए । यद्यपी कुनै पनि बेला ठूलो बिपत्ति आउने सम्भावना भएकाले सेना र प्रहरीका हेलिकाप्टरलाई तयारी हालतमा राखिएको गृहमन्त्रालयले स्रोतले जनाएको छ । भारी वर्षातका कारण देशका कुनै पनि ठाउँमा हेलिकाप्टर उड्न नसकेकाले उद्धारको कार्य प्रभावित भएको छ ।
तराइका धेरै जिल्लाका बस्तीमा बाढी पसेर बस्ती डुबाउनुको साथै सयौँ हेक्टर खेती समेत डुबाएको छ । कमल, रतुवा, रातु लगायतका नदीले महोत्तरी, धनुषा, सिराहामा क्षति पु¥याएको छ ।
पहिरोको कारण क्षतिग्रस्त कोशी राजमार्ग

पहिरोले कोशी राजमार्ग अवरुद्ध

अचानक मनसुन सक्रिय हुँदा आएको बाढी पहिरोका कारण पूर्वी पहाडी जिल्लाहरुका सडक अवरुद्ध भएका छन् ।
 धरान–धनकुटाको कोशी राजमार्ग अन्तर्गत मुलघाटमा गतवर्षको बाढीले क्षति पु¥याएको स्थानमा पुनः क्षति पुग्दा सडक अवरुद्ध भएको हो। त्यस्तै धनकुटाको डाँडाबजार जाने सडक खण्डमा पनि पहिरो जाँदा धनकुटाको राजारानीबाट आउने गाडीहरु धरान आउन सकेका छैनन् भने यताबाट छुटेका गाडीहरु पनि बीच बाटो मै अलपत्र बनेको यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अञ्चल संयोजक सरोज श्रेष्ठले बताए ।
उनका अनुसार धनकुटाको मुलघाटमा पनि बाटो अवरोध हुँदा गाडीहरु बीचमै अलपत्र परेका छन् । भेडेटार भन्दा १६ किलोमिटर उत्तरको लेउतीसँगै जोडिएको खराने खोलाका कारण पहिरो जाँदा केही समय गाडी अवरोध भएको थियो। त्यो बाटो खुलाउनका लागि धनकुटाका प्रमुख जिल्ला अधिकारी भरत इङ्नामको सक्रियतामा एक्सकाभेटर प्रयोग गरेर बाटो खुलाइएको अस्थायी प्रहरी चौकी भेडेटारका प्रहरी नायव निरीक्षक तेजबहादुर श्रेष्ठले जानकारी दिए ।
 तर, मुलघाटको बाटो हाल पनि अवरुद्ध भएको उनले बताए । बुधबार राति ८ बजे अचानक बाढी आउँदा एउटा कृषिजन्य सामग्री बोकेको गाडीसमेत डुबाएको थियो । सो गाडी बिहीबार मात्रै निकालिएको प्रनानी श्रेष्ठले जानकारी दिए । बाढीले बाटो अवरोध गरेपछि यातायात व्यवसायीहरु पनि निरीक्षणका लागि सो क्षेत्रमा पुगेका थिए ।
निरीक्षणमा रहेका सप्तकोशी बस व्यवसायी संघ धरानका सदस्य माधव घिमिरेका अनुसार भेडेटारबाट ५ किलोमिटर पूर्व नाम्जे र ओख्रेको बीचमा दुई तिन स्थानमा पहिरो गएको छ । सो स्थानमा मान्छेसमेत हिँड्न नसक्ने अवस्था भएको छ भने डाँडाबजार भन्दा पूर्व साम्मेवा र बुधबारेको बीचमा पनि सामान्य पहिरो गएको छ ।
 त्यस्तै मध्य पहाडी राजगमार्गको भोजपुर हिले सडक खण्डको श्यामसिला हिले भञ्ज्याग बीचमा पनि पहिरो गएर बाटो अवरोध भएको नागेश्वर बसका स्टाफको भनाई उदृत गर्दै उनले जानकारी दिए ।

खतरामा बेलबारी बजार

उर्लाबारी ÷ बिगत २४ घण्टादेखि परेको अबरिल बर्षाका कारण मोरंगको बेलबारीस्थित लोहन्द्रा खोलामा आएको बाढीले बजार क्षेत्रमा कटान थालेको छ ।
निरन्तर बर्षाका कारण खोलामा आएको बाढीका कारण खोरियाबस्ती र बेलबारीका वार्ड नम्बर २, ३, ४ लगायतका वार्डहरु कटानको खतरामा परेका छन् । उता मोरङ्गकै गछिया खोलामा आएको बाढीका कारण गछिया बजार समेत तिब्र कटानमा परेको छ ।

सप्तकोशीमा पुनः पानीको बहावमा वृद्धि

इटहरी/सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । विहीबार दिउँसो २ बजेको मापन अनुसार २ लाख ९२ हजार ३०३ क्युसेक पुगेको छ । पानी प्रतिघण्टा १० हजार क्युसेकले बढीरहेको छ ।
निरन्तरको वर्षाको कारण बिहिबार आज विहानदेखि नै पानी वहाव उच्च छ । बिहिबार दिउँसो १ बजेको मापनअनुसार दुई लाख ८४ हजार ५३० क्युसेक पानी बगेको कोशी ब्यारेजमा पानीको वहाव १२ बजे १० हजार क्युसेकले कम थियो ।
लगातार परेको पानीका कारण विहीबार दिउँसो पानीको बहाव तीन लाख क्युसेकको हाराहारी पुगेको हो । निरन्तर वर्षा भइरहेकोले पानीको बहाव अझै बढ्न सक्ने आशंका गरिएको छ । बहाव उच्च भएर
बाँधमा पानीको चाप बढेपछि ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएका छन् ।
पानीको बहाव विहीवार विहान २ लाख ३४ हजार थियो । कोशीमा एक लाख पचास हजार क्युसेक नाघ्ने बित्तिकै सोमबार बिहानैदेखि ब्यारेजमा खतराको चिन्ह स्वरुप दिउँसो रातो झण्डा फहराइएको छ ।
 पानीको बहाव कोशीको क्षमता भन्दा कम भएपनि ब्यारेज पचास वर्षभन्दा पुरानो भएकाले कोशी तटबन्धभित्र वालुवा थुप्रिएका कारण तटबन्धको क्षमतामा समेत ह्रास आएको छ । त्यसैले पानीको बहाव थोरै बढ्दा पनि सतर्कता अपनाइने गरिन्छ । यो पटक पनि सुरक्षा निकायलाई उच्च सतर्कताका साथ राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
 गत २०६५ भदौ २ गते ब्यारेजका पर्याप्त ढोका नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किएर तीस हजार बढी घर परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरुको लामो समयसम्म पुनर्वास र राहत वितरण हुन सकेको थिएन । उक्त समयमा तटबन्ध भत्किँदा ब्यारेजमा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो भने बाँध भत्केको दुई वर्ष पछि पानीको बहाव तीन लाख ३६ हजार क्युसेकसम्म पुगेको थियो ।


0 प्रतिकृया:

Post a Comment