“अनुशासन, शिक्षा र सामाजिक संरचना”

रुद्र निरौला
मानिस समाज र राष्ट्रको प्रथम ईकाई हो । उसले गर्ने व्यवहार र प्राप्त गर्ने उपलब्धीहरू सबै उसले गरेको कर्ममा आधारित हुन्छन् । त्यसै हुनाले चित्त बुझाउन मान्छे आफ्नो कर्मको फल भन्ने वाक्यांश उद्घोष गर्ने गर्दछ । असल कर्म गर्न उचित शिक्षा र अनुशीलन जनजीवन आवश्यक पर्दछ । जसलाई विधि, पद्धति, कार्यतालिका, मार्ग निर्देशन, पथप्रदर्शन, तौरतरिका आदि अनेक शब्दावलीहरू प्रयोग हुने गरेका छन् ।
“अनु” उपसर्ग “शासन” शब्दमा जोडिएर “अनुशासन” शब्दको व्युत्पन्न भएको हो । “शिक्ष” धातुमा “आ” प्रत्यय जोडिएर “शिक्षा” शब्द बनेको छ भने “समाज” शब्दमा “इक” प्रत्यय जोडिए पछि “सामाजिक” शब्दको व्युत्पत्ति भएको हुन्छ । रचना शब्दमा सं उपसर्ग जोडिएसँगै संरचना शब्द बनेको हुनाले शीर्षकमा प्रयुक्त सबै शब्दहरू व्याकरणीय सूत्रअनुसार बनेको प्रष्टै छ ।
हामी गफका सिलसिलामा एक्काइसौँ शताब्दीका अनेकौँ प्रसङ्ग जोड्छौँ । हाम्रो विगतबाट हामीले सिक्ने थुप्रै कुराहरू छन् । भोगेको वर्तमान त्यस्तो भरपर्दो बन्न सकेन । आजको गतिविधिले हाम्रो कस्तो भविष्य होला, कल्पना गर्न अप्ठ्यारो छ । हाम्रो सामाजिक संरचना अनुकरण र उपभोक्तावादमा आधारित छ । हाम्रो बाँच्ने पद्धति, आङ्ग्वरी, ढोंगी र खोक्रो बन्दै गइरहेको छ । राज्यको नीति उचित किसिमले विकसित हुन र सञ्चालन हुन सकेन । अधिकार खोज्न सबै अग्रसर बन्दै गए तर कर्तव्य बिर्सिए । बिर्सँदा सम्म त सम्झिएर उपयागमा आउला भन्ने आशा गर्न सकिन्छ तर यहाँ त कर्तव्यलाई लत्याएर बुझ पचाएर अधिकार खोज्नेहरूको बिगबिगी बढ्यो । त्यसैले समाज कल्प नै गर्न नसकिने गन्तव्य पट्टी पो भासियो । हामी सबैमा थोर धेर मिचाहा प्रवृत्ति बढ्दै गयो । हिजो सुसंस्कार हुनेहरू आर्यन समुदायमा प्रस्तुत भए जो बेदलाई जीवन यापनको मूल मार्ग दर्शन सिद्धान्त मानियो । आत्म अनुशासन तोडिन थालेपछि त्यही वैदिक समाजमा पनि विकृतिका धब्बाहरू लाग्न थाले । उत्तर वैदिक कालसम्म आइपुग्दा नपुग्दै नैतिक आचरणमा विकृतिहरू एक पछि अर्को गर्दै खाँदिए । असल मार्गदर्शन बनेको वैदिक पद्धति क्रमशः दिग्भ्रमित पथ हुँदै ओरालियो । क्षुद्र व्यवहारले बाँच्नेहरूको बढ्दो बिगबिगीसँगै समान रुपले विकसित हुँदै गएको मावन समुदाय पंक्ति–पंक्तिमा विभाजित भयो । त्यहीबाट मान्छेले आफ्नो कर्म गराईमा आफ्नो छुट्टै समूह सिर्जियो । आज मान्छेले आफ्ना–आफ्ना महत्वकांक्षाहरू तेस्र्याएर आपसमा कलह र जडसुत्रहरू कायम गरेको छ । एकातिर समानता र समन्वयका कुरा उठाइन्छ भने अर्काेतिर विभाजनका गहिरा खाडल खनेर असमन्वय हुने दरार कायम गर्दै गइरहेको छ । यो विषम परिस्थिति सृजना गर्ने आखिर मान्छेहरूको पापी मन र त्यसै अनुरुप गर्ने व्यवहार हो । यसैले सहमति समझदारी, समन्वय आदि जुन–जुन शब्द ओकले पनि र माला जपेपनि हाम्रो आपसी मन मिल्न सक्ने ठाउँ नै रहँदैन । दाउपेच गर्ने प्रतिस्पर्धा आज खुब मौलाएको छ । अठार पुराण लगाइन्छ र सन्सार थर्किने गरी ध्वनी यन्त्र जडान गरिन्छ । परोपकार गर्ने आडम्बरमा कैयौँ पक्षहरूले बलिदानी हुनुपरेको छ । आफू अनुकूल भै दिए सबै ठीक आफू प्रतिकूल भैदिए आपदै आपद । आज यही विकृत र पथभ्रष्ट पद्धतिले हाम्रा हरेक क्षेत्रबाट आत्म अनुशासन सकिए ।
छाडा तन्त्र र टापल टोपल शिक्षा नीतिले समाज सिद्धियो । आत्मीयता, मित्रता, परोपकारिता, शिष्टता र दूरदर्शितालाई पर सारेर कृतध्नता, शत्रुता, स्वार्थान्धता, विकृत एवम् क्षणभङ्गुरतामा समाज रमाउन थाल्यो । जब हाम्रो समाज बिभ्रम्स हुँदै थप भ्रष्ट भयो । अब हामी कुन पानी माथि रहेर ओभानो बन्न सक्छौँ र ? सबै विकलाङ्ग भए पछि साङ्ग र अपाङ्ग छुट्टिने प्रसङ्ग नै रहेन । हाम्रो वर्तमान शिक्षा, राजनीति, उद्योग नीति, व्यापार नीति, समाज सञ्चालन प्रक्रिया सबै विकलाङ्ग बन्न पुग्यो । हुँदा–हुँदा अब त हामीमा स्वाभिमान, स्वतन्त्रता, राष्ट्र प्रेम, मातृप्रेम, आज्ञा पालन, सेवा सुरक्षा सबै कर्म सिद्धिए । कोही कसैलाई कसैले गन्दै नगन्ने । सबै सर्वा भएपछि विशिष्टाद्वैतको अहम् ब्रम्हास्मि खुब व्यापक भयो । राष्ट्रको कारिन्दा राष्ट्रले मानेको व्यक्तिलाई नटेर्ने । मुलुकले सर्वोच्च मानेको कानुनको व्याख्या गर्ने न्यायलय र त्यसमा काम गर्ने र होची अर्गेली पर्गेल्नेहरू स्वयम् आफ्ना–आफ्ना अनुकूलका व्याख्या गर्न थाले पछि अब शासन कसले कसलाई गर्ने ? जताततै व्यभिचारलाई प्रश्रय दिनेहरू नै राज्यका ठूला पदमा बस्ने र पद्धतिलाई भञ्जन गरेर कसैलाई आफ्नो आदेश मान्नुपर्ने दर्जामा कसैले राख्ने संयन्त्र आज मुलुक बिथोलिने विक्रान्त रुप भएर देखा परेको छ । यसले हाम्रो समाजबाट असल चरित्र नायकहरूको उदय होला भन्ने ठाउँ रहेको देखिँदैन । यसैले अब साँच्चै हामीलाई सुशासन चाहिएकै हो भने अब हामी प्रत्येकमा आत्म अनुशासनको उदय हुनुप¥यो । त्यसका लागि असल शिक्षा र संरचनावादी सोचमा सबै ऐक्यवद्ध हुनुपर्दछ । सबैमा चेतना भया ।

0 प्रतिकृया:

Post a Comment