सुपारीको मूल्य बढ्दा किसान मालामाल

विर्तामोड/झापाको प्रशिद्ध नगदे बाली सुपारीको मूल्यमा चार गुणाले बृद्धि भएपछि जिल्लाका सुपारी कृषक उत्साहित बनेका छन् । अर्थमन्त्री रामशरण महतले बजेट मार्फत तेश्रो मुलुकबाट आयात हुने सुपारीको राजश्वमा वृद्धि गरेपछि नेपाली सुपारीले राम्रो मूल्य पाउँदा कृषक उत्साहित बनेका हुन् ।
सिंगापुरबाट नेपालमा सुपारी आयात हुँदै आएको थियो । भन्सार मूल्यकर वृद्धि भएपछि तेश्रो मुलुकबाट आयात नहुँदा सुपारीको मूल्यवृद्धि भएको हो । पाउँदै आएको मूल्यभन्दा चारगुणा बढी मूल्य पाएपछि लामो समयदेखि उचित मूल्य नपाएका नेपाली कृषकको मुहार नै फेरिएको छ । सोचेभन्दा बढी मूल्य पाएका उनीहरु सुपारी खेतीतर्फ आकर्षित बनेका छन् ।  यसअघि भन्सारले सुपारीमा ३० प्रतिशत कर लगाउँदै आएको थियो । तर, आर्थिक वर्ष २०७१÷०७२ मा नेपाल सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटमा सुपारीको मूल्य प्रतिकिलो ४५ रुपैयाँ र १३ प्रतिशत कर लगाउने व्यवस्था गरेपछि स्वदेशमै उत्पादित सुपारीले चारगुणा बढी मूल्य पाएको हो ।  भन्सारले मूल्य तोकेरै सुपारीको कारोबार गर्ने नयाँ व्यवस्था गरेको पूर्वको काँकरभिट्टास्थित मेची भन्सार कार्यालय प्रमुख मुक्ति पाण्डेले जानकारी दिए । सिंगापुरे सुपारी आयात हुन छोडेपछि झापामा सुपारी कारोबार घटेको व्यापारीको भनाई छ ।
सिंगापुरबाट नेपाल ल्याइएको सुपारीलाई नेपालमा उत्पादन भएको टाँचा लगाउँदै भारतमा निर्यात गर्दा व्यापारीले मनग्यै आम्दानी लिँदै आएका थिए । नेपालमा उत्पादित सुपारीले नेपाली बजार थेग्नै नसक्ने जनाउँदै सिंगापुरबाट आयातीत सुख्खा सुपारी व्यापारीले भन्सारपछि विभिन्न माध्यमबाट सोझै भारतमा निर्यात गर्दै आएका छन् । उनीहरुले सिंगापुरे सुपारीमा नेपाली सुपारी मिसाउँदै चोरीको मार्गबाट भारत पु¥याउने क्रममा झापामा प्रहरी र सुपारी तस्करबीच वेलावेलामा झडप हुँदै आएको थियो । सुपारी तस्करी नियन्त्रण गर्न जिल्ला, अञ्चल तथा सीमा सुरक्षा बल काँकरभिट्टाको शसस्त्र प्रहरीलाई ड्युटीमा खटाउँदै आएको छ । नाका क्षेत्रमा पर्ने तस्करीको मूख्य चोर बाटो नकलबन्दा, बाहुँनडागी रोड लगायतका ठाउँमा हरेक सय मिटरको अन्तरमा एक जना प्रहरीलाई खटाएको छ ।
तस्करसँगको मिलेमत्तोमो काँकरभिट्टामा खटेका प्रहरी इञ्चार्जले लाइन खुलाए, अञ्चलबाट खटेको प्रहरीको टोली तथा शसस्त्र प्रहरीले नियन्त्रण गर्ने र अञ्चल प्रहरीले लाइन खुलाउँदा नेपाल प्रहरी र शसस्त्र प्रहरीले नियन्त्रण गर्ने क्रममा कयौं पटक झडप सिर्जना भई प्रहरीले गोली नै चलाउँदै आएको घटना धेरै छन् । सोही विषयलाई लिएर व्यापारीले जिल्लाका उच्च प्रशासन प्रमुखदेखि तत्कालिन गृहमन्त्री विजयकुमार गच्छदारसम्म सुपारीको लाइन खुलाउन आग्रह गरेका थिए । जिल्लामा नयाँ प्रहरी प्रमुख र सिडियो आउने  बित्तिकै शुरुमा सुपारीमै नजर पुग्ने गरेको छ । नयाँ प्रमुख आएपछि सुपारीको सेटिङ नमिलुन्जेल तस्करलाई हैरान नै हुने गन्थ्र्यो । एक सुपारी व्यावसायीले भने –‘जे–जति कमाउनुथ्यो, पहिले नै कमायौँ, अव विगतको जस्तो छैन –‘ व्यावसायीले सिंगापुरबाट कमसल मूल्यमा सुपारी आयात गर्ने र प्रतिकिलो ४० रुपैयाँबढी मूल्यमा बिक्री गर्दै आएका छन् ।
सुपारी उत्पादनमा केन्द्रित हुँदा धेरै आम्दानी लिन सकिने व्यवसायीको सुझाव छ । व्यावसायीले सुपारीको फूल हेर्दै कृषकलाई पेश्की दिन थालेका छन् । अघिल्ला वर्षमा नेपालमा उत्पादित सुपारीले राम्रो मूल्य नपाउँदा कृषक चिन्तित बनेका थिए । केही सुपारी कृषकले त्यसको विकल्प सोच्दै विरुवा र बोट नै मास्न थालेका थिए । तर, यसअघि २०५६ सालमा कृषकले उत्पालन गरेको सुपारीको मूल्य वृद्धि भएपछि धेरैको ध्यान सुपारी खेतीमा परेको थियो । पछि एक्कासी उत्पादित सुपारीको मूल्य घटेर प्रतिकिलो ५ रुपैयाँसम्म भएपछि कृषकले खेतीको विकल्पमा अन्य खेती गर्न शुरु गरेको उनीहरुको भनाई छ  । तर, ३५ सयदेखि ५ हजारसम्म लिँदै आएको सुपारीबाट हाल २० हजार पाएपछि आफू उत्साहित बनेको मेचीनगर –२ का ललीत भट्टराईले बताए ।
झापाका कृषकको घर–आँगनमा सुपारीको बोट हुन्छ । जिल्लामा ३ हजार ६ सय, ३१ हेक्टर क्षेत्रफलमा सुपारी खेती हुँदै आएको छ । वार्षिक ९ हजार ७ सय १३ मेट्रिक टन उत्पादन हुने गरेको  नेपाल सुपारी खेती विकास संस्थानका महासचिव निलकण्ठ तिवारीले बताए । उनका अनुसार संस्थाले सुपारी प्रशोधन केन्द्र स्थापना गरी स्वादेशमै प्रशोधित सुपारी उत्पादन गर्न थालेको छ । हाल सुपारीको मूल्यवृद्धि भएपछि एउटा सुपारीको बोटबाट कृषकले ४ सय रुपैयाँसम्म आम्दानी लिने गरेको तिवारीको भनाई छ । जिल्लामा दर्जनबढी सुपारी प्रशोधन केन्द्र स्थापना भएका छन् । तिवारीले भने–‘प्रशोधन केन्द्र स्थापना हुनुअघि नेपाली सुपारीको बजार राम्रो थिएन । तर, प्रशोधन केन्द्र स्थापनापछि कृषक ठगिएका छैनन् ।’ उनीहरुले प्रशोधन केन्द्रले तोकेको मूल्य पाउँदै आएका छन् । एउटा प्रशोधन केन्द्रमा ५ देखि तीनदर्जन सर्वसाधारणले रोजगारी पाएको तिवारीको भनाई छ ।

0 प्रतिकृया:

Post a Comment